मध्यविन्दु

मदन भण्डारी बाँचेका भए कहाँ हुन्थे केपी ओली?

मुर्खसँग दैव डराउँछ!

अहिले देशमा केपी ओलीजीको दिग्विजयको डंका पिटिँदै छ। तर, डा. गोविन्द केसी हारेर भागेका हैनन्, मूर्खसँग दैव डराएजस्तै उहाँभित्रको दैव डराएको हो। पौराणिक कालमा भष्मासुरसँग महादेव डराएका थिए। उनले पनि भाग्नु परेको थियो।

डा.केसीले सत्याग्रह त्यागेका हैनन्, विश्राम लिएका हुन्। ओलीजीले कसलाई जित्नु भो? डा. केसीलाई जित्नु भो कि सत्यलाई? कोसँग लड्नु भो? डा. केसीसँग लड्नु भो कि सत्यसँग?

अहिले शक्तिशाली प्रधानमन्त्री ओलीको सत्ता एउटा सत्याग्रहीलाई हराएको दिवास्वप्नमा सुखद सयर गर्दै छ। तर एउटा सत्याग्रही कहिल्यै कोहीसँग हार्दैन किन भने ऊ कहिल्यै कोहीसँग लड्दैन। त्यो सत्याग्रही कहिल्यै केहीसँग हार्दैन किनभने ऊ कहिल्यै केही प्राप्तिको लागि लड्दैन। त्यसैले एउटा सत्याग्रहीसँग हार्ने वस्तु केही हुँदैन। उसले सबैकुरा जितेको हुन्छ। ऊ वस्तुभन्दा माथि हुन्छ, जहाँ सत्य हुन्छ।

वास्तवमा जो सत्यको बाटोबाट सधैं विमुख छ, त्यसलाई सत्यग्रहको के अर्थ? यो सामान्य ज्ञानको सुलभ बोध दुईतिहाईको प्रधानमन्त्रीलाई भएन।

सत्याग्रही डाक्टर गोविन्द केसी कोहीसँग लडेका थिएनन् तर खड्गप्रसाद ओली र पुष्पकमल दहालका लागि पनि लडेका थिए। ओलीजी, जित्न त जित्नु भो तर कसलाई जित्नु भो?

शक्तिले निर्माण गरेको एक विफल पात्र हो, भष्मासुर। अति शक्तिशाली हुनुका कारणले अतिमूर्ख बनेको एक विषम चरित्र हो पनि हो, भष्मासुर। कथा लामो छ। छोटकरीमा बुझौं, भष्मासुर आफ्नै शक्तिको ज्वालामा भष्म भएको थियो।

शक्तिभित्र अनौठो शक्ति हुन्छ। मानिसभित्र थुप्रेका दूषित इच्छा र कुत्सित आकांक्षालाई शक्तिले नै बाहिर निकाल्ने शक्ति प्रदान गर्छ। शक्तिले नै मानिसलाई भष्मासुरमा अवतरण गराउँछ। शक्तिले नै मानिसलाई कृष्ण बनाउँछ। शक्तिले मानिसलाई कंश बनाउँछ। राम शक्ति कै एउटा सुन्दर स्वरुप हो। रावण शक्तिकै अर्कोकुरुप रुप हो।

शक्तिले बुद्धिको बाटो समायो भने मान्छे भगवान मानिन्छ। कुबुद्धिको बाटो समयो भने त्यही मान्छे भष्मासुर बन्छ। देशमा अहिले खड्गप्रसाद शर्मा ओली उर्फ केपी ओली सबैभन्दा शक्तिशाली बनेका छन्। प्रधानमन्त्री ओलीले कुन बाटो समाए? समयले सबै देखाइरहेको छ। यद्यपि ओलीजीको पूजा गर्ने पनि कम छैनन्।

आफ्नो टाउकोलाई अरुको पाइखाना बनाउनेहरुको कमी छैन नेपालमा। जसलाई राजनीतिक शब्दावलीमा कार्यकर्ता भनिन्छ। कार्यकताको काम पूजा गर्ने हो, जसको पनि गर्छन्। सत्यतः यो संसारमा भगवानको मात्र हैन, भष्मासुरको पनि पूजा गरिन्छ।

आज देशमा एउटा खड्गप्रसाद ओलीले एउटा सत्याग्रहीमाथि असत्यको खड्ग उज्यायो। तर, त्यो खड्गप्रसाद ओली एउटा व्यक्ति मात्र हैन, देशको प्रधानमन्त्री हो। प्रधानमन्त्री मात्र हैन, दुई तिहाई बहुमतको शक्तिशाली प्रधानमन्त्री हो। त्यो शक्तिशाली प्रधानमन्त्री आफ्नै वचनबाट पूर्ण विचलित भयो। त्यही शक्तिशाली प्रधानमन्त्रीले विचलनको प्रतिरक्षा गर्न एउटा तपस्वीमाथि चरम क्रुरता अपनायो। अहिले दुई तिहाइको त्यही शक्तिशाली प्रधानमन्त्री ओलीको विजयको ढोल पिटिँदैछ।

आफ्नै चरित्र हत्या गर्नु भनेको आफैंले आफैंमाथि गर्ने सबैभन्दा ठूलो अपराध हो। आज आफ्नै चरित्रको लास बोकेर दौडिरहेका छन् प्रधानमन्त्री ओली र योगेश भट्टराईहरु। सिंगो नेकपा त्यसैको मलामी बनेर पछिपछि हिँडिरहेको छ। मदन भण्डारी जीवित भए यो दूर्गति सायद देख्नु पर्ने थिएन। उनमा विचारसँगै निष्ठा र इमान पनि प्रचुर थियो।

विनाशकाले विपरित बुद्धि! बुद्धिले बाटो फेरेपछि यस्तै हुन्छ। एउटा सत्याग्रहीमाथि देशको प्रधानमन्त्री स्वयं घात र प्रतिघातको खेल खेल्छ। सत्यमाथि झुठैझुठका लाठा बजारिन्छ । मार्सीभातको मातमा देशमा दीपावली गरिन्छ।

मदन भण्डारी नमारिएका भए आज सायद यो दूर्दिन देख्नु पर्ने थिएन। उनमा राजनीतिक मात्र हैन, नैतिक चेत पनि त्यतिकै थियो।

देशको प्रधानमन्त्री, जसले खुनखत् लागेको एउटा अपराधी (जसलाई अदालतले अपराधी करार गरी जेलनेलको सजाय दिएको थियो) लाई सत्याग्रही विरुद्ध सुतायो। त्यो प्रधानमन्त्री, जसले सत्याग्रहका नाउँमा बेइमानीको उत्कृष्ठ नमूना देखायो। त्यो प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु– नेकपाभित्र खुनखत् नलागेको एउटा इमान्दार मान्छे पनि छैन?

जहाँ सत्याग्रह जस्तो सत्यको लडाइँ लड्न पनि भाडामा मान्छे खोज्नुपर्ने अवस्था छ भने त्यहाँभित्र विचार छैन, दुराचार मात्रै छ।

त्यतिमात्र हैन,त्यो प्रधानमन्त्री, जसले सांसद योगेश भट्टराईलाई शिशुपाल बनायो। सत्याग्रही डा. गोविन्द केसी बिरुद्ध सर्वथा झूठा र अन्टशन्ट गाली गर्न लगायो। नेकपाभित्र एउटा उदाउँदो नेताका रुपमा चिनिदै गरेको व्यक्तिको राजनीतिक यात्रा ध्वस्त बनायो। त्यो प्रधानमन्त्री, जसले त्रिविवि तहसनहस पार्ने एक मतियारका रुपमा माथेमा आयोगले कारबाहीको सिफारिस गरेको व्यक्ति रामप्रसाद उप्रेतीलाई अर्को मोहरा बनाएर सत्ताको चरित्र उदाङ्गो बनायो। त्यो प्रधानमन्त्रीलाई सोध्न चाहन्छु–

आफ्नै देशको एउटा नागरिकको मन जित्न नसक्ने शासकले अरु कसलाई जित्न सक्छ? एउटा सत्याग्रहीलाई दिएको वचनप्रति इमान्दार नहुने शासकमा अरु के बाँकी हुन सक्छ? के जित्न सक्छ?

आफ्नै चरित्र हत्या गर्नु भनेको आफैंले आफैंमाथि गर्ने सबैभन्दा ठूलो अपराध हो। आज आफ्नै चरित्रको लास बोकेर दौडिरहेका छन् प्रधानमन्त्री ओली र योगेश भट्टराईहरु। सिंगो नेकपा त्यसैको मलामी बनेर पछिपछि हिँडिरहेको छ। मदन भण्डारी जीवित भए यो दूर्गति सायद देख्नु पर्ने थिएन। उनमा विचारसँगै निष्ठा र इमान पनि प्रचुर थियो।

आफ्नै वचनको पालन नगर्नु भनेको सामान्य र चल्तीको भाषामा थुकेको थुक चाट्नु हो। प्रधानमन्त्री ओली र दुईतिहाइको सत्ताले एउटा सत्याग्रही विरुद्ध के गरेन? आफ्नै देशको एउटा नागरिकसँग डराएर विजय थापा, योगेश भट्टराई र रामप्रसाद उप्रेतीजस्ता अनेक मोहरा खडा गरेर अब्बल दर्जाको फट्याइँ गर्‍यो। यो फट्याइँलाई कम्युनिष्टको भाषामा जित्नु मानिन्छ भने नेपालीमा कम्युनिष्टको अर्थ काइते हुन्छ। यही काइतेकर्मलाई जित भनिन्छ भने कुबुद्धिलाई मलजल गर्नु बेठीक हैन।ओली सत्ताले जे गरेको छ, ठीक गरेको छ।

बेइमानी कहिल्यै जित हैन, सधैं हार हो। एउटा शक्तिशाली प्रधानमन्त्री बेइमानीले जित्छ भने उसमय त्योभन्दा बलियो निर्बलता अरु केही हुदैन। उसको त्योभन्दा ठूलो अर्को हार हुन सक्दैन।

केपी ओलीले २०७५ माघ ११ लाई कालो दिनका रुपमा मान्नु पर्छ जुन दिन ‘माफिया’ विधेयक पास भएको थियो। त्यो दिन उनी आफ्नै वचनबाट विचलित भए, एक अमुक व्यक्तिका पाउमा संसदको सर्वोच्चता चढाए। त्यो दिन उनले आफ्नै हस्ताक्षरलाई अवैध मानेर आफूलाई दोषी करार गरे। त्यो दिन उनले सबैथोक हारेको दिन हो। सबैसँग हारेको दिन हो। आफू पूर्ण अयोग्य भएको प्रमाणित गरेको दिन हो।

मदन भण्डारी बाँचेका भए आज नेपाली कम्युनिष्टहरुमा यति ठूलो स्खलन देख्नु पर्ने थिएन। दलमा यति डरलाग्दो विचलन हुने थिएन।

सत्याग्रही डा. केसीका बारेमा अनेक भ्रम फैलाइयो। वचनबाट च्यूत प्रधानमन्त्रीले त्यही भ्रमको भरपुर सहायता लिए। दुष्प्रचार गरे। एउटा सत्याग्रहीलाई राजनीतिमा मुछे। एउटा तपस्वीमाथि अपशब्द बोल्न प्रेरित गरेर आफूलाई निचो देखाए।

मान्छेले आफूलाई बेचेपछि धर्म पनि बेच्छ। धर्म बेच्नेले सबैकुरा बेच्छ। काँग्रेसका धेरै नेताले आफूलाई बेचे तर धर्म बेचेका थिएनन्। प्रधानमन्त्री केपी ओली लगायत नेकपाका धेरै नेताले त्यसमा पनि सिद्धि प्राप्त गरे।

आज मदन भण्डारी बाँचेका भए एउटी नक्कली पादरीका पाउपूजामा राष्ट्रको स्वाभिमान् चढाउनु पर्ने थिएन। एउटा सत्याग्रहीले यति धेरै कष्ट भोग्नु पर्ने थिएन। डा. गोविन्द केसीले सोह्रौं अनशन पनि बस्नु पर्ने थिएन। मदन भण्डारीमा राजनीति, नैतिकसँगै आध्यात्मिक चेतना पनि प्रचूर थियो। एउटा चेतनशील मान्छे कहिल्यै मानवताविरुद्ध जान सक्दैन। आध्यात्मिक चेतना भएको नेता शासकभन्दा बढी मानव हुन्छ।

नेपालको राजनीतिक इतिहासमा सर्वाधिक आलोचित र चर्चित बनेका नेता हुन् गिरिजाप्रसाद कोइराला। उनै बाँचेका भए पनि मानवतामाथि यस्तो क्रुर प्रहार हुने थिएन, जति ओलीले गरे। आफ्नो वचनको मनितो राख्थे मानेमा उनी पनि निकै बलिया थिए।

मदन भण्डारीको हत्यापछि कम्युनिष्टको मूलधारमा अपराध भित्रियो। कम्युनिष्ट आन्दोलनभित्र धनवाद र डनवाद हावी भयो। जनताको नौलो जनवाद एउटा परिस्कृत भाष्य थियो। भाष्यकार थिए, मदन भण्डारी। अहिले नेकपाभित्रका समाजवादी चिन्तन र विचार अज्ञात शहीदजस्तै भए। धेरैलाई थाह छैन, ती के थिए? जसले मदन भण्डारीलाई त्रिसुलीमा खँदारे तिनैले जनताको नौलो जनवादलाई पनि त्रिसुलीमा बगाइदिए। मार्क्सवादलाई मार्सीवादमा रुपान्तरण गरे। मदन भण्डारीको हत्यासँग धेरै कुराको हत्या भयो।

मदन भण्डारीबाँचेका भए सायद शितल निवासले पनिएउटी ऐश्वर्यकामी ऐयासी थपना हैन, एक योग्य निवासी पाउँथ्यो। राष्ट्रपतिको गरिमा र पद सायद निक्कै उँचो हुन्थ्यो।

प्रखर विचारक नेता मदन नमारिएका भए केपीओली कहाँ हुन्थे भन्ने प्रश्नको उत्तर अनेक हुन सक्छन्। ती मध्ये सायद सबैभन्दा बलियो उत्तर हुने थियो– उखान र तुक्काका भरमा मान्छे देशको प्रधानमन्त्रीको योग्य हुँदैन।

कहाँ मदन भण्डारीका अभिव्यक्ति, शैली र शब्द। ती शब्दमा ओज, तेज र प्रभाव! कहाँ बिचरा केपी ओलीका तुक्का र हावागफ! कहाँ चौरस्तामा चटक देखाएर मान्छे हँसाउदै ‘खुजुलीका दबा’ बेच्ने चटकी शैलीको केपी ओलीको भाषण। कहाँ मदन भण्डारीको विचार र तर्कले भरिएको भाषणको प्रभाव र आयतन! देशको राजनीतिक परिदृष्य पक्कै फरक हुन्थ्यो।

तर विडम्बना, जे नहुनु पर्ने त्यही भयो! सतीले सरापेको देश भन्यो चित्त बुझायो। वास्तवमा देश सतीले सरापेको हैन, हामीले बिगारेको हो।

माघ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्