मध्यविन्दु

मातृभूमि नेपालको अवस्था देखेर रुन मन लाग्छ

अरुतिर देश र जनताको बोझ शासकले लिन्छन्। नेपालमा शासकको बोझ देश र जनताले बोकिरहेका छन्।

देशमा बाई वान् इट वान्– नेपाल, डिल चलिरहेको छ! जनता हाँसिरहेका छन्।

यो संसारका धेरै देशमा ‘बाई वान गेट वान’ डिल हुन्छ। अर्थात एउटा किन्यो भने एउटा सित्तैमा पाइने सौदा। तर नेपालमा बाई ‘वान् इट वान्’ डिल चलेको छ! अर्थात एउटा किन्ने, एउटा खाने! एउटा सिंगै खाने, पुरै खाने– वाइडबडी जहाज जस्तै सबै खाने! सबैतिर!

समृद्धिसँगै अभियान जो चलेको छ, ‘बाई वान् इट वान्– नेपाल!’ जनता हाँसिरहेका छन्!

सिंहदरबारबाट समृद्धिको शङ्ख बजिरहेको छ। शङ्खको धूनसँगै अर्को महाअभियान चलेको छ, ‘डु नन् इट अल– नेपाल!’

खोलै नभएको ठाउँमा पुल बन्छ, नेपालमा। आज बनाएको पिच भोलिको एकझरो पानीले पखाल्छ, त्यही नेपालमा। प्रेरणाको स्रोत– बालुवाटार र सिंहदरबार छँदैछन्। ठेकेदारहरुले पुल र बाटोमात्र हैन, सिंगो सरकार नै ठेक्कामा लिएर चलाइरहेका छन्– जनता हाँसिरहेका छन्!

खड्गप्रसाद ओली उर्फ प्रधानमन्त्री केपी ओली भन्नु हुन्छ– ‘भ्रष्टचारीको अनुहार हेर्दिन।’ सुन्दर हैन, अति सुन्दर छ, प्रधानमन्त्रीको अभिव्यक्ति! प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार नहेर्ने हो भने सबैभन्दा पहिला बालुवाटरका सबै ऐना फुटाउनुपर्छ। तर प्रधानमन्त्री ओलीले अहिलेसम्म बालुवाटरको एउटा ऐना पनि फुटाउनु भएको छैन।

ऐना हेर्दै प्रधानमन्त्री ओली समृद्धिका डिङ हाँकिरहनु भएको छ– जनता हाँसिरहेका छन्!

बिना मगर भन्ने एउटी आलोकाँचो उमेरकी केटी! उनको सिङ्गो योग्यता भनेको बन्दुकमात्र चलाउन जान्नु हो। मन्त्री बनिन्, मेलम्ची गयो– जनता हाँसिरहेका छन्।

मेलम्चीको पानीले तिर्खा मेट्छु भनेर बाँचेको एउटा पुस्ता तिर्खाएरै मर्‍यो। चालिस वर्ष भयो मेलम्चीको कुरा चलेको। साना नानीहरुका लागि मेलम्ची एकादेशको कथा जस्तो भएको छ। एउटा पुस्ता हाँस्दै अहिले त्यही कथा आफ्ना नानीहरुलाई सुनाउँछन्। मेलम्चीको त्यही कथा सुनेर नानीहरु हाँस्छन्।

प्रचण्डजी भन्नुहुन्छ– अदृष्य शक्तिले मेलम्ची खायो। विश्वास गरौं– उहाँको बोलीमा सत्यता छ। बुहारीको असक्षमता भन्दा ठूलो अर्को कुनै अदृष्यशक्ति छैन मेलम्ची खाने। उहाँलाई बोध छ, त्यो ज्ञान! मेलम्चीका बारेमा प्रचण्डजी हैन, प्रचण्डजीको ज्ञान बोलेको हो। जनता सुनिरहेका छन्– हाँसिरहेका छन्।

दुर्गा प्रसाईको लिला–खेला! पैसाको घोडी, ओली–प्रचण्डजीको जोडी! मार्सीको भात खुवाएर देशको स्वास्थ्य विज्ञान विधेयक पास गराउँछन् । आफ्नै घरमा प्रचण्डीजीको बिहे रचाइदिन्छन्, निरजगोविन्द श्रेष्ठ। बदलामा एनसेलको ५० औं अर्बको कर खाइदिन्छन्– जनता हाँसिरहेका छन्।

‘मेरो सरकार’की स्वामी राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानी भिक्टोरिया बनाउन चाहनु हुन्छ, प्रधानमन्त्री। देशमा जनता बाख्राका बड्कुला खाएर बाँच्न बाध्य छन्। महारनीलाई भोकविलासमा डुबाउन चाहनु हुन्छ, उनै प्रधानमन्त्री– जनता हाँसिरहेका छन्।

विद्यादेवीजीलाई बेलाइतकी महारानीको दर्जामा राखेर आफू सर विन्स्टन चर्चिल बनेको ठान्दै हुनुहुन्छ प्रधानमन्त्री के पी ओली– देखेर जनता हाँसिरहेका छन्। तर चर्चिल हैन, चार्ली च्याप्लिनको विकृत संस्करणका रुपमा परिचित हुनु भएको छ, ओलीजी– हेरेर जनता हाँसिरहेका छन्।

जनता सुन्छन्– हाँस्छन्। जनता हेर्छन्– हाँस्छन्।

अतः मेलम्ची गयो– जनता हाँसिरहेका छन्। वाईडवडीमा ‘बाई वान् ईट वान्’ भयो– जनता हाँसिरहेका छन्। निर्मला पन्तका हत्यारालाई सत्ताले ज्वाइँ बनाएर घ्यूभात ज्यूनार गराएर राखेको छ– जनता हाँसिरहेका छन् ।

निर्मला हत्या काण्डमा देशका प्रधानमन्त्री लाचारी देखाउनु हुन्छ। दुईतिहाईका शक्तिशाली प्रधानमन्त्री निर्लज्ज र निम्छरो बोल्नुहुन्छ– ‘स्वतन्त्र छानबिन गर्न सकिएन!’ जनता हाँसिरहेका छन्।

एनसेलले मोबाइल कम्पनी मात्र चलाउँदैन, पूरै सरकार चलाउँछ, आफ्नै निजी कम्पनीकै रुपमा! त्यसैले देशको पचासौं अर्ब कर खान्छ– जनता हाँसिरहेका छन्।

सुन काण्ड– जनता हाँसिरहेका छन्। टेलिकम फोरजी काण्ड– जनता हाँसिरहेका छन्। बालुवाटार जग्गा काण्ड– जनता हाँसिरहेका छन्। नेपाल ट्रष्ट जग्गा काण्ड– जनता हाँसिरहेका छन्। तारागाउँ हायात रिजेन्सी होटल जग्गा काण्ड– जनता हाँसिरहेका छन्। पशुपतिनाथ जग्गा काण्ड– जनता हाँसिरहेका छन्। सुमार्गी काण्ड– जनता हाँसिरहेका छन्।

चम्बलका डाकुले दिनदहाडै गाउँ लुटेका दृष्य हिन्दी सिनेमामा देखिन्थे। उस्तै जिउँदो दृष्य अहिले देशमा देखिएको छ। आफ्नै नेताले देश लुटिरहेका छन्– जनता हाँसिरहेका छन्। जसले धेरै लुट्छन् तिनै ठूला नेता भएका छन्। शासक बनेका छन्– जनता मानिरहेका छन्! जनता हाँसिरहेका छन्!

नेपाल झण्डै ११ खर्ब ऋणमा डुबेको छ। अब जन्मिने एउटा बच्चाले कम्तीमा ४० हजार सरकारी ऋण बोकेर जन्मिन्छ– जनता हाँसिरहेका छन्। प्रधानमन्त्री स्वयंले जनता हँसाइरहेका छन्।

प्रतिपक्षी छैन। नेता छन्। शेरबहादुरजीको अकर्मण्यता, बलियो निस्क्रियता र निस्तेज निरसता– जनता हाँसिरहेका छन्।

हावाबाट बिजुली निकाल्ने हावा कुरा! पानीका फोकाजस्ता पानीजहाजका कुरा! ग्यास भरेका बेलुनजस्ता घरघरमा ग्यासका कुरा! छेपाराका कथा जस्ता देशलाई तुइनमुक्त गर्ने कुरा! चौरस्ताको चटकीका जस्ता गैंडाका कुरा! शुद्धिबिनाका समृद्धिका लाजमर्दा कुरा!

अहिले देशमा सबै हाँसिरहेका छन्। मज्जाले, खुब मज्जाले! मानौं चौरस्तामा एउटा चटकीले दिनहुँ चटक देखाइरहेको छ। मानौ देशमा अहिले चटक देखाउने र हेर्ने काम मात्र भइरहेको छ। मानौँ देशमा अहिले हाँस्नुको विकल्प छैन !

एउटा प्रसंग जोड्छु– एकदिनको कुरा। एकाएक हाँसोको एउटा मुस्लो उड्यो! तर टायरको कालो धुँवाजस्तो सडकबाट आएको थिएन, एउटा घरबाट पुत्पुताइरहेको थियो। समय दिउँसोको थियो।

टोल–छिमेक! कसैका घरमा जम्मा हुने, गफ गर्ने, चिया पिउने, हाँस्ने, रमाउने देहाती दिनचर्या! यही क्रम–उपक्रममा देहाती खुसी छन्। यसैमा आदि छन् देहाती।

देहाती नै हुँ म पनि। देहाती उपक्रममा क्रम मिलाउन सामेल भएँ। मानिस टिभी हेरेर हाँसिरहेका थिए। टिभीमा विज्ञापनका झुर दृष्य नाचिरहेका थिए। दृष्यहरु रिस उठ्ने खालका थिए तर मानिस खुसी भइरहेका थिए। मज्जाले हाँसिरहेका थिए।

सोधेँ– ‘किन यति मजाले हाँस्नु भएको?’ टिभीमा छल्किरहेका दृष्य फेरिए। उनै प्रधानमन्त्री केपी शर्मा ओली झुल्किए।

‘किन हाँस्नु नि! यी बुढाको कुरा सुनेर! तक्मे बुढा र माग्ने बुढा नि फेल खान्छन् यिनका साम्ने!’ एउटाले हाँस्दै भने। ‘त्यसैले त सुन्ने हो, हेर्ने हो’– अर्काले झन् ठूलो हाँसो उडाउँदै थपे। सबै हाँसे।

उखानटुक्कासँगै ओलीजीको बोली सुनियो– ‘मेरो नेतृत्वको सरकार आएपछि आलु धेरै फल्यो।’ टिभीतिर हेर्दै सबै गलल्ल हाँसे। हाँसोमा हाँसो थप्दै एकजनाले भने– ‘अब के रुनु त? के केमा मात्रै रुनु?’

टिभीमा देशका प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण आइरहेको छ। देशको प्रधानमन्त्री भाषण सुनेर जनता हाँसिरहेका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिका। एउटा टोलको उपकथा हो, यो। केही दिनअघि मातृभूमि नेपालमा रहँदाको एक अद्भूत दृष्य!

त्यो देशका जनता, त्यो देशको प्रधानमन्त्रीको भाषण हाँस्नका लागि मात्र सुन्छन्। प्रधानमन्त्रीका कुरा उखान–टुुक्का जान्नका लागि मात्र सुन्छन्। ‘मुफ्त–मनोरञ्जन’का लागि मात्र सुन्छन् ! तर यसलाई मनोरञ्जन मान्ने कि मनोविकार?

आँखामा पट्टी बाँधेर खेलिने हाँडी फुटाउने खेल! सोह्रै आना फगत मनोरञ्जनका लागि मात्र खेलिन्छ। अहिले देशमा, देशको प्रधानमन्त्रीको भाषण हाँडी फुटाउने खेलको विकल्प भएको छ– मुफ्त–मनोरञ्जन! फगत मनोरञ्जन! सस्तो मनोरञ्जन! मात्र मनोरञ्जन– मात्र हँसिमजाक!

प्लेटोले त्यसै भनेका हैनन्, ‘उखान–टुक्कामा सुनेर स्वयं भगवानले पनि मनोरञ्जन लिन्छन्।’ अहिले नेपाली जनता भगवान् भन्दा पनि खुसी देखिन्छन्– आलु जो जताततै फलेको छ। तालुमा आलु– शितलनिवास, वालुवाटर, सिंहदरबार, प्रचण्डनिवास (खुमलटार) सबैतिर!

नेपाली हाँसेका छन्। सायद सवर्था पहिलो पटक होला देशको प्रधानमन्त्रीका कुरा सुनेर यति मञ्जाले जनता हाँसेका! हाँस्नुलाई सुखद् अथवा सौभाग्यको अर्थमा पनि बुझिन्छ। रुनुलाई दुःखद् अर्थात दुर्भाग्यको।

एकपटक मज्जाले हाँस्नु भनेको मनका सयौं दुःखपीडालाई झन् मज्जाले निकाल्नु हो। स्वास्थ्य विज्ञानले पनि भन्छ– हाँस्नु स्वास्थ्यका लागि राम्रो हो। तर देशको यथार्थले के भन्छ? देशको प्रधानमन्त्रीको भाषण हाँस्नका लागि मात्र सुन्नु! सुनेर फगत् मनोरञ्जन मात्र लिनु! हाँसेर उडाउनु र उडाउनका लागि मात्र हाँस्नु!

देशको प्रधानमन्त्रीलाई तक्मे र माग्ने बुढासँग दाँज्नु? प्रधानमन्त्रीको योग्यता र पदको मर्यादा?

नेपाली हाँस्नुलाई सौभाग्य भन्ने कि दुर्भाग्य? यो संसारमा अरु कतै कुनै देशमा आफ्ना प्रधानमन्त्रीको भाषण हाँस्नका लागि मात्र सुनिन्छ?

चीनबाट रेल हिँडिसक्यो, दुईचार दिनमै काठमाडौं आइपुग्छ जस्तो कुरा गर्नुहुन्छ अझै प्रधानमन्त्री। तर नेपालमा रेलका कुरा सुनेर चिनियाँ राजदूत नै छक्क पर्छिन्। प्रधानमन्त्रीले क्रोक्रो बुनिसक्नु भएको छ, नानी पाउनेको बिहे गर्ने सुरसार नै छैन। हुन्छ कि हुँदैन थाहा छैन– चिनियाँ रेलको कथा!

हावाबाट बिजुली निकाल्ने हावा कुरा! पानीका फोकाजस्ता पानीजहाजका कुरा! ग्यास भरेका बेलुनजस्ता घरघरमा ग्यासका कुरा! छेपाराका कथा जस्ता देशलाई तुइनमुक्त गर्ने कुरा! चौरस्ताको चटकीका जस्ता गैंडाका कुरा! शुद्धिबिनाका समृद्धिका लाजमर्दा कुरा!

प्रधानमन्त्री भनेको एउटा दलको नेता हैन, राष्ट्रको अभिभावक हो। जनताका आँखाको नानीमा मायाको खानी बनेर बस्नु पर्ने देशको प्रधानमन्त्री! तिनै जनताका आँखमा चौरस्ताको दुईपैसे चटकीका रुपमा बस्छ भने! जनता हाँस्छन्।

तर रिसमा, आवेगमा, दुःखमा, पीडामा, कष्टमा, हैरानीमा, अभावमा, कुदिनमा, दुर्दिनमा सबैमा। लाग्छ, नेपाली सबैमा हाँस्न बाध्य छन्। के नेपाली दुःखमा, पीडामा, कष्टमा, दुर्दिनमा, कुदिनमा पनि रुन नसक्ने भएका हुन्?

नेपाली भएर नेपाली रोएको हेर्न सकिँदैन तर नेपाली भएर नेपाली यसरी हाँसेको पनि हेर्न नसकिने रहेछ।

नेपाली हाँसेको देख्दा मलाई रिस उठ्छ। भित्रभित्रै मन दुख्छ। मातृभूमिको अवस्था देख्दा रुन मन लाग्छ।

twitter @Shivaprakash_NP

जेष्ठ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्