मध्यविन्दु

रवि र राज्य – प्रेम र घृणा

बुद्धले भनेका छन्- ‘इगो नेभर एक्सेप्टस् द ट्रूथ !’अर्थात अहम् (अहंकार) ले सत्यलाई कहिल्यै स्वीकार गर्दैन।

तर सत्य के हो ? यो एक जटिल प्रश्न हो। उत्तर अनेक छन्। झन् जटिल छन्। मेरो सामान्य र सरल ज्ञानले भन्छ–‘जे हो त्यही सत्य हो, जे होइन त्यो सत्य होइन।’ बुझाइआ–आफ्ना हुन्छन्।

विज्ञापन

प्रसंग रवि लामिछानेको हो। सिधैं प्रसंगमा जाऔं।आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरिएका रविलाई १२ औं दिनको दिन चितवन जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ। रविको समर्थनमा अभूतपूर्व प्रदर्शनहरु भए। चितवनमा लाखौं जनता जम्मा भए। देशका विभिन्न भागका जनताले रविप्रति आफ्नो विश्वास देखाए। प्रेम देखाए। सरकारी रवैयाको विरोध गरे। घृणा गरे।

तर दुईखाले अहङ्कारले रविलाई स्विकार्न सकेको देखिएन–एउटा सत्ताको उन्मत्त अहङ्कार र अर्को पत्रकारिकताको ‘मै हुँ’भन्ने सोचको अहङ्कार! मानिसलाई शक्तिको आड र उमेरले हैन कर्मले चिनाउँछ। कर्मले बचाउँछ। कर्मले नै जिउनु र बाँच्नुको फरक देखाउँछ। मान्छे जिउने मात्र हो, बाँच्ने कर्म (क्वालिटी) हो।

रवि प्रकरणले केही सवाल उठाएको छ। केही सवालको जवाफ पनि दिएको छ।

रवि लामिछाने पत्रकार हुन् कि हैनन् ?

यद्यपि नेपालका मूलधारका सञ्चार माध्यमले रविलाई पत्रकार, सञ्चारकर्मी र टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा प्रस्तुत गरे। समाचारहरु दिए।

रवि पत्रकार हुन् कि हैनन्? यो एउटा खोचेँ प्रश्न आफ्नो ठाउँमा उचित होला। तर रविले गरेको कर्म र उनीप्रति जनताको विश्वास र प्रेमलाई अस्वीकार गर्न मैले सकिन।

यथार्थत: रवि लामिछानेलाई पत्रकार माने पनि हुन्छ नमाने पनि हुन्छ!

ईश्वरप्रतिको मान्छेको विश्वास र रविको कर्मलाई मैले उस्तैउस्तै देखेँ। तपाइँ ईश्वर छ भन्ने ठान्नु हुन्छ भने त्यो ईश्वर तपाइँका लागि छ। ईश्वर छैन भन्ने ठान्नु हुन्छ भने त्यो ईश्वर तपाइँका लागि छैन। रवि लामिछानेको पत्रकारितामा विश्वास गर्नेले उनलाई पत्रकार माने, स्विकार गरे। नगर्नेले मानेनन्, स्विकार गरेनन्। तर यो संसारमा ईश्वर नमान्ने भन्दा मान्नेको संख्या धेरै ठूलो छ– नेपालमा रविलाई पत्रकार नमान्ने भन्दा मान्नेको संख्याजस्तै।

हामी कुन पत्रकारिताको परिभाषा खोज्दै छौँ? कस्तो पत्रकारिताको अर्थ खोज्दै छौं? के हो पत्रकारिता? एक पटक घोत्लिऔं।

किन रविलाई जनताले साथ दिए, प्रेम गरे?

नेपाली पत्रकारितामा रवि शैलीले उठाएको प्रश्न हो, यो। जर्ज वर्नाड शाको एउटा भनाइ छ– ‘मिडियाले एउटा साइकल दुर्घटना र सभ्यताको मृत्युको फरक छुट्याउन सकेनन्।’

रविले पाएको जनताको प्रेम र साथले के देखाउँछ? सिंगो नेपाली मिडिया र जनताको बीचमा एउटा ठूलो ग्याप हरेछ भनेर मान्ने कि नमान्ने? त्यो ग्यापलाई रविले भर्ने प्रयत्न गरे भनेर स्विकार गर्ने कि नगर्ने ? हामीले त्यो ग्याप देखेनौ वा देखेर पनिभर्न चाहेनौ भनेर एकछिन् सोच्ने कि नसोच्ने ?आफू कहाँ छु, कस्तो पत्रकारिता गरिहेको छु भनेर सिंहावलोकन गर्ने कि नगर्ने?

वास्तवमा रविले केही गरेनन्, एउटा नागरिकले गर्नु पर्ने काममात्र गरे। जनताले बुझ्ने सरल भाषा र स्पस्ट शैलीमा समाजमा व्याप्त अत्याचार, भ्रष्टाचार, दुराचार तथा व्यभिचारलाई उठाए। एउटा पत्रकारले उठाउनु पर्ने कुराहरु नै उठाए।

रविको शैली फरक भयो होला! देवी–देउता र भगवानको आराधना गर्ने हाम्रा शैली पनि फरक हुन्छन्। कसैले होमादी गरेर गर्छन्, कसैले बलि दिएर गर्छन्। रविको शैली होमादी नभएर बलि भयो होला तर देशको राजनीतिक, प्रशासनिक र न्यायिक संयन्त्रहरु निकम्मा हुनु परिणतिको उपज हो, रविको यो शैली। यसैलाई जनताले उचित माने। साथ दिए। स्थापित पनि गराए। रविलाई अगाध प्रेम गरे।

पूर्वाग्रह नराखी भन्ने हो भने रविले ज्यानको बाजी लगाएर आवाजविहीनहरुको आवाजलाई आवाज दिए। त्यसैले रविलाई सच्चा पत्रकार माने। त्यो पत्रकारको पछाडि लाखौँ ती जनता उभिए।

रविले पाएको जनताको प्रेम र साथले के देखाउँछ? सिंगो नेपाली मिडिया र जनताको बीचमा एउटा ठूलो ग्याप हरेछ भनेर मान्ने कि नमान्ने? त्यो ग्यापलाई रविले भर्ने प्रयत्न गरे भनेर स्विकार गर्ने कि नगर्ने ? हामीले त्यो ग्याप देखेनौ वा देखेर पनिभर्न चाहेनौ भनेर एकछिन् सोच्ने कि नसोच्ने ?आफू कहाँ छु, कस्तो पत्रकारिता गरिहेको छु भनेर सिंहावलोकन गर्ने कि नगर्ने?

यद्यपि कतिका लागि रवि लामिछाने पत्रकार हैनन् होला तर भ्रष्टाचार र दुराचार विरुद्ध लड्ने एक लडाकु हुन् भन्ने कुरा उनले दृष्यांकन गरे। दृष्यलाई जनताले सत्य माने। स्विकार गरे। श्रद्धा गरे।

के रविले कानुन हातमा लिए?

रविलाई लाग्ने मुख्य आरोप यो पनि हो। यहाँ मेरा प्रश्न छन्– के अपराध गर्नु कानुनको पालना गर्नु हो? के भ्रष्टाचार गर्नु कानुनलाई मान्नु हो? के हत्या–हिंसा–बलात्कार गर्नु कानुनलाई सम्मान गर्नु हो? के चोरी–ठगी गर्नु कानुनको पूजा गर्नु हो? सत्तामा बसेर ब्रम्हलुट मचाउनु र दबाउनु कानुनको आराधना गर्नु हो? रविले के गरे? तिनै भ्रष्ट नेता, प्रशासक, दलाल, विचौलियाका जघन्य अपराधलाई जनतासामू उजागर गरे। जनताको आवाज बोले।

अर्को प्रश्न– अपराध गर्नु र अपराध दबाउनु अपराध हो कि अपराधलाई उजागर गर्नु र जनतासामू ल्याउनु अपराध हो? अपराधी लुकाउनु अपराध हो कि अपराधी चिनाउनु अपराध हो? अपराध गर्नु कानुन हातमा लिनु हो कि अपराध रोक्ने प्रयत्न गर्नु कानुन हातमा लिनु हो? जनताको आवाज दबाउनु अपराध हो कि जनताको आवाज बोल्नु अपराध हो?

मान्छेले आफूले आफूलाई गन्न कहिल्यै बिर्सिदैन तर अरुले सम्झिएर पनि गन्दैन। ‘मै हुँ’ भन्नु आफूले आफूलाई गन्न कहिल्यै नबिर्सनु मात्र हो। समयले रविलाई ‘मै हुँ’ हैन ‘तपाइँ नै हो’ भन्ने देखाइ दियो। ‘मै हुँ’ भनेर अस्विकार गर्नु भनेको ‘इगो नेभर एसेप्टस् द ट्रूथ’लाई चरितार्थ गर्नु हो।

के अदालतले न्याय दिन्छ‍?

भ्रष्टाचारमा निर्लिप्त छन् सरकार र सरकारी निकाय। तीप्रति  जनतालाई किञ्चित विश्वास छैन भन्ने कुरा रविप्रति उर्लिएको जनसमर्थनले पनि देखाएको छ। यस्तै अवस्था छ अदातलप्रति। सरकार र सरकारी संयन्त्रले जस्तै अदालतले पनि जनविश्वास गुमाएको अवस्था छ।

भदौ आठ गते यही देशसञ्चारले आफ्नो सम्पादकीयमा लेख्यो– ‘घटनास्थल र अनुसन्धान केन्द्र बनेको चितवन पनि विवादको घेरामा तानिएको छ। खास गरी त्यहाँका एसपीको नेपाल कम्युनिष्टका पार्टीका अध्यक्षसँग निकट सम्बन्ध रहेको तथा रविलाई ठेगान लगाउन त्यो सम्बन्धले काम गर्ने आशंका रवि समर्थकहरुले गरेका छन्।’

सम्पादकीय यहाँ पढ्नुहोस्

यही कारणले न्यायिक प्रकृया प्रभावित हुने आशंका गर्दै घटनास्थल चितवन भएकाले सामान्यतया अदालती प्रक्रिया त्यहीँ नै अगाडि बढ्नु पर्छ भने पनि ‘फेयर ट्रायल’ सुनिश्चित गर्न मुद्दा अन्यत्र सानु पर्ने हो कि भनेर प्रश्न पनि गर्‍यो, देश सञ्चारको त्यो सम्पादकीयले।

यही पृष्ठभूमिमा प्रहरी र सरकारी वकिलले रवि विरुद्ध दायर गरेको मुद्धाको मिसिलमा अदालतले अनेक प्रश्न उठाउँदै उनलाई धरौटीमा रिहा गरेर जनमानसमा उब्जिएको आशंकालाई उल्टाइदिएको छ। यसले चितवन  जिल्ला अदातलप्रति जनताको विश्वासमात्र पलाएको छैन, सम्मान पनि बढेको छ। तर, प्रहरी र सरकारी निकायप्रति जनताको अविश्वास, वितृष्णा र घृणा झन् बढेको छ।

अदालतले मृतक शालिकराम पुडासैनीले आत्महत्या गरेको हुन् वा उनको हत्या भएको हो भन्ने प्रश्न उठाएको छ।

यो प्रश्नले मृतक शालिकराम पुडासैनी चितवन  नै किन गएका थिए भन्ने प्रश्नमाथि प्रश्न गरेको छ। चितवनमै यो सबै घटना किन भयो भन्ने प्रश्नमा झन् डरलाग्दो प्रश्न पनि थपेको छ। सरकार र प्रशासनले यो प्रश्नको उत्तर नखोजीकिन रविविरुद्ध मुद्धा किन दायर गरे भन्ने झन् बलियो प्रश्न पनि उब्जाएको छ।

रवि किन यति लोकप्रिय भए?

रविको लोकप्रियताको कारण उनको कार्यक्रमको प्रस्तुतिमात्रै हैन, सरकारप्रतिको वितृष्णा हो। वितृष्णाभन्दा बढी घृणा हो।

सरकार र सत्तारुढ दल तथाप्रमुख राजनीतिक दलप्रति किन दिनानुदिन वितृष्णा पैदा हुँदैछ? किन घृणा बढ्दै छ ?

यसका मुख्य कारण हुन्– १) वाइडबडी काण्ड २) सुन काण्ड ३) तारागाउँ हायात रिजेन्सी होटलको जग्गा काण्ड ४) नेपाल ट्रष्टको जग्गा काण्ड ५) बालुवाटार जग्गा काण्ड ६) टुँडिखेल किनबेच काण्ड ७)टेलिफोन फोरजी काण्ड ८) एनसेल काण्ड ९) निर्मला हत्याकाण्ड १०) मेलम्ची खानेपानी काण्ड।

यी काण्डलाई दबाउनुले सरकार स्वयं सबैभन्दा ठूलो अपराधी हो र नेताहरु त्यसका मतियार हुन् भन्ने कुरा जनतामा फैलिएको छ। त्यसैले सरकार र नेताप्रति घृणा बढ्दो छ।

रविका समर्थक भनेका यही देशका आम जनता हुन्। जसले हिजो यिनै नेतालाई निर्वाचित गरे। तर ती जनता राज्यको शक्ति, पहुँच, सेवा–सुविधा र न्यायबाट सधैं बञ्चित भए। ती लाखौं नेपालीलाई भेडा भनेर आफ्नो मस्तिष्कको फोहोर सामाजिक सञ्जालमा पोख्नुभन्दा यी डरलाग्दा अपराधमा संलग्न अपराधी नेताको खोजी गरेर दण्डित गर्नु एउटा नागरिकको प्रमुख कर्तव्य हो।

अन्त्यमा,

रवि मान्छे हुन्। गल्ती पनि गरेका होलान्। गल्ती अन्जानमा पनि हुनसक्छ। गल्ती गर्नु अपराध हैन तर गल्ती नसुधार्नु अपराध हो– जसरी नेपालको राजनीति नेतृत्वले गरिरहेका छन्।

अँग्रेजीमा दुई शब्द छन्- विइंग् र थिंग। विइंग्– जीवन अर्थात अस्तित्व! थिंग– वस्तु अर्थात पदार्थ! मानिस विइंग् हो गल्ती गर्छ। मैले कुनै गल्ती गरेँ भने मलाई खुसी लाग्छ। किनभने म ढुक्क हुन्छु– म थिंग् हैन, विइंग् हुँ । यदि गल्ती गर्दैन भने ऊ विइंग् हैन थिंग् हो। मानिस हैन, बस्तु हो। पदार्थ हो।

twitter: @Shivaprakash_NP

भदौ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्