मध्यविन्दु

कस्तो देश कस्तो भयो?

यो समय सरकारको आलोचना गर्ने समय हैन तर के यो समय भ्रष्टाचार गर्ने समय हो ? देश लुट्ने समय हो ?

देशमा सङ्कट छ । हिजो चुनावका बेला राँगा–सुँगुर काटेर खुवाउनेहरु आज कहाँ गए, यो सङ्कटको बेला ? भोकै सुत्न वाध्य देशका गरीब नागरिकलाई किन एकछाक दालभात खुवाउन चाहँदैनन्, ती ? पैसाका बिटा बोकर भ्रष्ट नेताका फोटा र पार्टीका चिन्ह छापिएका टी–सर्ट र टोपी बाँड्दै हिड्ने युवा (?) हरु कुन दुलामा छिरेर के पिएर सुतेका छन् ? भोका लालाबाला च्यापेर झुपडीमा बसेका देशका निमुखा नागरिकलाई एकमुठी चामल बाँड्न किन सक्दैनन्, ती ?

अब देशमा यी प्रश्न उठ्नु पर्छ । हरेक नागरिकबाट उठ्नु पर्छ । यी प्रश्नले उत्तर पाउनु पर्छ । यी प्रश्न अझै अनुत्तरित रहे सङ्कटको बादल झन् बाक्लिने छ । झन् कालो बनेर छोप्ने छ देशलाई ।

कुनै पनि राष्ट्रको बर्बादी नेतृत्वको अधःपतनले मात्र हुदैन, त्योभन्दा बढी नागरिकको निरीहताले हुन्छ । नागरिकको निरिहता नै राष्ट्रको बर्वादीको बल हो ।

कोरोनाको कहरमा कोजाग्रत बसेको नेपाली मन–मस्तिष्कले एउटा चिन्तन गर्नैपर्ने भएको छ– कस्तो देश कस्तो भयो ? कस्ता हामी, कस्ता भयौं ? कहाँ गयो– मानवता ? कसरी हरायो– नीति–नियम र न्याय–निष्ठा ? कसरी मर्‍यो– मान, इमान र स्वाभिमान ? कसरी सकियो– धर्म, प्रेम, दया, करुणा, संवेदना, वन्धुत्व र भातृत्व ? देशको राजनीतिकले मानिसलाई कति क्रुर, निर्मम र पापी बनायो ? नेपाली राजनीतिक नेतृत्वले कस्तो देशलाई कस्तो बनयो ?

मानिसभन्दा करोडौं–करोड गुणा सानो एउटा अदृश्य भाइरसले मानिसको शिकार गरिरहेको छ । जीवन खोसिरहेको छ । कोरोना–प्रकोपले परिवर्तित मानव संस्कृति र सभ्यतालाई नै जीर्ण बनाउँदै छ । मानव संसाधन नै धराशयी हुने अवस्थामा पुगेको छ । नेपालजस्ता राष्ट्रका लागि सङ्कटमात्र हैन, महासङ्कट बन्न सक्ने सङ्केत ठूला राष्ट्रहरुमा फैलिएको संङ्क्रमणले दिएको छ ।

यतिबेला बाँच र बचाऊ भन्ने सन्देशले मानवतालाई विश्वव्यापी रुपमा फेरि बिउँझाएको छ । कोरोना महामारीको सन्त्रस्त अँध्यारोभित्र एउटा उज्यालोको प्रकाश पनि फैलिँदै छ । विश्वमा नै मानवीय उदारताको लहर चलेको छ । मानिस लोभ–पाप, लालच, कुकृत्य, अधर्म–कुकर्म–दुष्कर्म, आशा–लालसा, धाक र धम्कीबाट माथि उठिरहेको छ । जति बाँचिन्छ मानव भएर बाँच्न खोजिरहेको छ, मानिस ।

यतिबेला नेपालमा पनि हिंसा, हत्या र वलत्कारका घटना न्यून हैन, शून्यको अवस्थामा छन् । मानिसले यो सङ्कटको बेला अपराधी मानसिकता त्यागेको देखिन्छ । चोरी–चकारीका घटना पनि शून्यप्रायः जस्तै भएको छ । गाउँ–शहरका पटके चोरहरुले पनि चोर्नु अपराध हो, पाप हो, दुष्कर्म हो भन्ने बुझेको सङ्केत समयले दिएको छ ।

विडम्बना ! चोर, डाका, हत्यार र बलात्कारीजस्ता अपराधीले पनि पाप र कुकर्म त्यागेर सत्कर्मको बाटो लिएको बेला नेपालको राजनीतिक नेतृत्वले दुष्कर्मको बाटो त्याग्न सकेन । कोरोनाको यो भयावह समयमा चोर पनि साधु र वलत्कारी पनि महात्मा बनेको बेलामा पनि देश लुट्मा व्यस्त छ, सरकारसँग संगठित शक्ति ! त्रासले निरास बनेका जनतालाई सत्ताको आडमा भएका घिनौना–कुकर्मका समाचारले झन् निराशा बनाएको छ ।

मान्छे यतिसम्म तल झर्नु हुदैन, जहाँबाट कहिल्यै माथि उठ्न नसकोस् । मान्छे यतिसम्म माथि पुग्नु हुदैन जहाँबाट सधैं तलमात्र झर्नु परोस् । मान्छे यतिसम्म कुमान्छे बन्नु हुदैन, जसले बाँकी जीवन मान्छे बनेर बाँच्न नपाओस् ।

यस्तो बेलामा पनि भ्रष्टाचार गर्नु भनेको अपराध कर्ममात्र हैन, अमानवीय कुकर्म हो । देशलाई कोरोनाको महामारीबाट बचाउन मेडिकल उपकरणको खाँचो छ । तर सरकार स्वयंले ‘मेडिकल उपकरणमा अपराधको दाग’ लगाएर दुषित बनाएको छ ।

सारा नेपाली जीवन–मरणको सन्त्रासमा छटपटिएको बेला सत्ताको छायाँमा देशमा लूट मचाउनु विडम्बना नै हो । तर यो विडम्बना विधि र नियतिको हैन, अमानवीय नियतको हो । नेपाली राजनीति महापापको कुण्डमा डुबेको कालजयी प्रमाण हो– नेतृत्वको यो अमानवीय नियत !

भ्रष्टाचार सधैैं छ । झन् पछि झन् बढेको छ । यो महासंङ्कटमा पनि लुट मचिएको छ । तै पनि देश तैं चुप छ, मै चुप छ– सधैंजस्तो ! स्पष्टै भनौं– केपी ओली प्रधानमन्त्री हुनु, प्रचण्ड सत्ताधारी दलको अध्यक्ष हुनु र शेरबहादुर देउवा प्रतिपक्षी नेता हुनु नै देशको सबैभन्दा ठूलो दुर्भाग्य भयो । यो दूर्भाग्यपूर्ण कालखण्ड नै देशको सबैभन्दा विकराल कालखण्ड हुन गयो । यो विकराल कालखण्डको मूल्य चुकाउन नेपालका धेरै पुस्ताले धेरै दुःख पाउनु पर्ने भयो ।

पुष्पकमल दहाल प्रचण्ड आफू बाँच्नका लागि जे पनि गर्न तयार छन् भन्ने कुरा देखाइसकेका छन् । केपी ओली प्रधानमन्त्रीको कुर्सीमा बसिरहन प्रचण्डजस्तै जे पनि गर्न तयार छन् भन्ने दृष्टान्तहरु धमाधम खुल्दैछन् । शेरबहादुर देउवाले काँग्रेस मारेर भए पनि आफू सुरक्षित हुने बाटो कहिल्यै बिराउने छैनन् । अपराध सबैले गरेका छन् । अवस्था अनुसार यी सबै एक–अर्काका शिकारी र शिखण्डी दुबै बनेका छन् ।

सिंगो देश सङ्कटमा परेको बेला पनि देशलाई भ्रष्टाचारको भूमरीमा पोरेर लुट्न सक्रिय सत्तापक्ष र लूटको निरिह साक्षी बनेको निस्क्रिय प्रतिपक्षको बोझ बोकेर इतिहासकै शर्मनाक घडीमा उभिएको छ, नेपाल । भोलिको इतिहासले लेख्नेछ– कोरोनाकालको नेपाललाई अदृष्य कोरोनाले भन्दा सदृष्य राजनीतिका डरलाग्दा कोरोनाको भाइरसले ध्वस्त बनायो ।

निरिह वर्तमानले न्याय गर्न नसक्ला तर भविष्यले अन्याय हुन दिदैन । अपराधीले न्याय पाउनु भनेको ऊ दण्डित हुनु हो । भोलिको इतिहासले दण्ड दिने छ– जो अहिले देश ‘लकडाउन’ गरेर लूट मचाइरहेका छन् । इतिहासले कहिल्यै माफ नगर्ने हैन, सधै घृणा गर्ने छ, तिनलाई– जसले देशको सत्तालाई सधैं ‘लकडाउन,’ गरेर निरन्तर अपराध गरिरहे ।

अहिले जेठो दाइ अघाएर सुतेको छ, अर्को भाइ अहिले पनि भोकै छ, खाँदैछ– वर्तमान नेपालको प्रतिकात्मक चित्र यही हो । घोर निद्रामा छ– प्रतिपक्ष । अग्घोर भोकमा छ– सत्तापक्ष ।

मान्छे यतिसम्म तल झर्नु हुदैन, जहाँबाट कहिल्यै माथि उठ्न नसकोस् । मान्छे यतिसम्म माथि पुग्नु हुदैन जहाँबाट सधैं तलमात्र झर्नु परोस् । मान्छे यतिसम्म कुमान्छे बन्नु हुदैन, जसले बाँकी जीवन मान्छे बनेर बाँच्न नपाओस् ।

कोरोना भाइरसको महामारीसँग अमेरिकाजस्तो महाशक्ति र सम्पन्न राष्ट्र पनि आज हार्दैछ । यद्यपि आफ्ना जनतालाई सकेसम्म असुविधा नहोस् भनेर राष्ट्रपतिदेखि जनप्रतिनिधिहरु अहोरात्र लागि परेका छन् । हरेक दिन जनस्वास्थ्य विज्ञ तथा डाक्टरको टोली लिएर जनतासामू उभिन्छन् । जनतामा आशा र उत्साह भरिरहेका छन् । नेपालमा भने नोवेल कोरोना उच्चस्तरिय समन्वय समितिमा न एक जनस्वाथ्य विशेषज्ञन छन्, न एक डाक्टर ! सरकार कोठाभित्र बसेर आदेश दिने र सरकारसँग संगठीत गिरोह मन्त्री र प्रधानमन्त्री निवासको अँध्यारा कोठरीभित्र बसेर लूट मचाउने काममा व्यस्त छन् ।

सरकारका कुकर्मको बचाउका लागि सयौं संख्यामा भाडाका भिजिलान्तेहरुको टास्कफोर्स बनेको छ । जसले समाजिक सञ्जालमा फैलिएका प्रतिक्रियालाई निस्तेज पार्ने प्रयत्न गर्छन् । तर जनताको बचाउनका लागि केही गर्ने कुनै टास्कफोर्स किन छैनन्, देशमा ?

यो समय सरकालाई सहयोग गर्ने समय हो तर के नागरिकको जीवन–मरणको बेला सत्तामा बसेर अपराध गर्ने समय पनि यही हो ? यो समय देशमा नकरात्मकता नफैलाउने समय हो तर त्यसको लागि सबैभन्दा ठूलो सत्यप्रयास सरकारले गर्नु छ । विनाशकाले विपरित बुद्धि– सरकार दुष्प्रायसमा तल्लीन छ ।

अहिले लकडाउनको विकल्प छैन । मान्छे बाँच्नका लागि लकडाउनमा बस्न तयार छ तर लकडाउनमा बाँच्न नसक्ने भएपछि मान्छेले त्यो लकडाउन तोड्छ । त्यतिखेर स्थिति भयावह हुनेछ ।

कस्तो देश कस्तो भयो ? त्यस्तो देश कसले यस्तो बनायो ? दुष्कर्मको ढिस्कोमा उभिएको अमानवीय नेतृत्व सामू अब दोस्रो विकल्प छैन । हरेक समयले आ–आफ्नो महाभारत लड्ने छ । कुरुक्षेत्र पनि धर्मक्षेत्र थियो ।

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्