कथा

गलत नम्बर !

गलत नम्बर !
+
-

पूर्वकथाः

भन्छन् गलत घडिले पनि २४ घण्टामा दुईपटक सही समय जनाउँछ। घडि पहिले पनि सूर्य, चन्द्रमा, तारा हेरेर वा आफ्नै छायाँको आँकलन गरेर समय बुझ्ने बुझाउने कालखण्ड पनि थियो। ती पूर्वजका दिनचर्यामा कसरी आधुनिक प्रविधी जोडियो र घडिको रुपमा नगरको चोकमा घण्टाघर बन्यो। चर्च, मन्दिरमा घण्ट बज्यो। दक्ष अनुसारका घरका भित्तामा, नाडीमा समय बस्यो।

हामी त्यही समयको रुटीनमा चलिरहेका छौँ भनौँ वा दास भएका छौ त्यो गहन तर्कको विषय हुन जाला। सही गलत भन्ने निणर्य पनि हामीले नै निधारण गर्‍यौँ। तर हामीले मानेका कतिपय गलत मानकहरुले सही परिणाम पनि दिएका छन्। मेरो प्रयास त्यस्तै एक गलत फोन नम्बरका कारण सही जीवनयापन गरिरहेको परिवारको कथा हो।

कथाहरुको रुमानी संञ्जाल हामीले बाँचेको समयमा टिकटिक गरी घुमीरहेको हुन्छ। कसैको घडिको आवाज र समय सूचना सबैले थाहा पाउँछन् ती लेखक कहलाउँछन्, धेरैजसोको समय सुस्तता आफैमा सीमित भइ आफैलाई चलाइरहेको हुन्छ। तीनीहरु लेखक त बन्दैनन् तर उनीहरु कथानक जीवन बाँचिरहेका हुन्छन्। उनीहरुको समीपमा जाने, भोग्ने, सुन्नेले उनीहरुका जीवन्त कथा पढेका हुन्छन्।

यस्तै भयो मेरो साक्षात्कार पनि कथाजस्तो जीवन व्यथित गरीरहेका उनी र उनको परिवारका बारेमा थाहा पाएपछि जानी नजानी उल्लेख गर्न मन लाग्यो। यो कथा भयो वा अकथा पाठकहरुको विचार, तर मैले देखेको कुरा लेखेको छु। बिश्रान्तीयाम, फूर्सदमा समय कटाउने मेसो बनेर गलत नम्बरले हात लाएको सही तथ्य चित्रण यस्तो छ।

कथा


भोजपुरको पहाडी गाउँमा जन्मिएका एक बालक ठूलो भएपछि ब्रिटीस आर्मी बन्ने सपना बोकेका राई लिम्बुहरुसँगै हुर्केबढेका थिए। छरछिमेकमा लाहुरेको मानसम्मान जति ठूलो अरु कुनै कुरा थिएन। स्कूलको संख्या एकदमै कम थियो, पढ्नेभन्दा पनि श्रमको महत्व बढी थियो। ०३५, ३६ सालको आन्दोलनताका त गर्भमा पनि नआएका बालकहरु ०४५, ४६ सालतिर भने विद्यार्थी आन्दोलनमा समाहित भइसकेका थिए।

समाज परिवर्तनको लहर जो चलेको थियो, त्यसले बालक बृद्ध सबैलाई समातेको थियो र अन्याय भएको छ त्यसको न्याय र अधिकारको लागि आवाज उठाउनुपर्छ भन्ने विचार प्रवाहित भएको थियो। प्रजातन्त्रको आवश्यकता मानेर उठेको आवाज आफ्नै रुपमा अघि बढेको थियो भने कम्युनिष्ट राजनीतिको सक्रियता अरुभन्दा उग्र थियो। त्यसैको राँकोमा ती बालकबाट युवामा उक्लन लागेका कर्मराज खड्का पनि जोडिए।

२०४९ सालमा एसएलसी उतिर्ण गरेर थप अध्ययनको लागि विराटनगर झरे र महेन्द्र मोरगं क्याम्पसबाट प्रमाणपत्र तह उतिर्ण भए। २०५२ सालमा जनयुद्ध सुरु हुँदा उनी भर्खरै स्नातक पहिलो वर्षमा भर्ना भएका थिए। राजनीतिक सुझबुझ त छँदै थियो तर किन किन नाक लामो भएर पनि उचाई खासै थप्न नसकेका खड्का बाबुले आफ्नो जात नै परिवर्तन गरेर फौजमा भर्ना हुन सकेनन्। तर उनमा सैनिक बन्ने सुक्ष्म इच्छाशक्तिले घर जमाइ रहेको नै थियो। केही राई लिम्बु साथीहरु पढ्दा पढ्दै सक्नेहरु बेलायत, हंगकंग पुगे भर्ति भएर। केही बाहुन क्षेत्री साथीहरु भने नेपाली सेनाको क्याडेट भएर जागिर खान गइ सकेका थिए।

सैद्धान्तिक विषयमा केहि दख्खल भएका कारण सुरूसुरूमा युद्ध प्रशिक्षकको रुपमा संलग्न रहेका कर्मराज स्नातक परीक्षा पनि उर्तिण गर्न सफल भए। देशव्यापीरुपमा पार्टीको प्रभाव बढ्दै गएपछि सरकारी दमन पनि बढी हुँदै गयो। पार्टीको काम गर्दै बाहिर बस्नु त्यति सुरक्षित थिएन। त्यति बेला नै पार्टीले सबै सदस्यहरुलाई आफ्नो सुरक्षाको लागि भूमिगत नै हुन अभिप्रेरित गर्दै छिटो निणर्य गर्न आन्तरीक परिपत्र पठाएको थियो।

उनीभित्र रहेको सेनामा जाने सुषुप्त इच्छाले सक्रिय रुप लियो र आफूलाई एक जनसेना बनाउने निणर्यमा पुग्यो। गाउँ घरका केही आफन्तहरु साथीहरु पनि युद्धमा पहिला देखि नै सक्रियरुपमा लागिसकेका थिए। पार्टीको पूर्णकालिन् सदस्य भइसकेपछि प्रशिक्षणकै क्रममा देशका विभिन्न भागहरुमा जानु पर्यो। साना ठूला घटनाहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेपछि एउटा सानो प्लाटुन कै नेतृत्व गरेर उदयपुरको घटनामा उल्लेखनिय भूमिका निर्वाह गरी आफ्नो कार्यक्षेत्र मोरगं फर्कदै गर्दा पक्राउमा परी ९ महिना जेल जीवन बिताउन पुगे। यो बि.स. २०५९ साल तिरको कुरा थियो।

घर परिवार इष्टमित्रको अनुरोधले गर्दा एकजना नजिकैको दाइ पर्ने सेनाका कर्णेलको सहायतामा अब आइन्दा सक्रिय राजनीतिमा नलाग्ने शर्तमा कारावास मुक्त गरायो। जुनसुकै शर्तमा छाडिएको भएपनि जेलबाट छुटीसकेपछि पनि भूमिगत साथीहरुको सम्पर्क भने छुट्न सकेन। तर उनी आफै भने फेरि भूमिगत हुन नसक्ने भएका कारण मोरगं छाडेर काठमाडौँ गएर बस्ने निणर्यमा पुगे। बाँकी जीवन कसरी बिताउने भन्ने बारे चिन्ता लिनु स्वभाविकै थियो। केही अस्थायी जागीरको लागि प्रयासहरु नगरेका होइनन् तर देशमा भन्दा बाहिरै जान पाए हुन्थ्यो कि भन्ने लागि रह्यो।

अमेरिका अष्ट्रेलिया, बेलायत, यूरोप नै जान पाए हुन्थ्यो भन्ने स्वप्नवत् आश थियो। तर उनीसँग पासपोर्ट नै थिएन। अहिलेजस्तो केन्द्रमै पासपोर्ट बन्न सजिलो थिएन। गाउँघरमा जान पनि त्यति सूरक्षित समय थिएन। त्यसमाथि पनि आफ्नै नाममा पासपोर्ट लिएर पनि भिषा पाउन मुश्किल थियो। लागेपनि मलेसिया वा मध्यपूर्वकै सम्म बढी आश थियो। त्यसैले उपाय सुल्झाउदै जाँदा अर्कैको पासपोर्टमा भएपनि विदेश जानेबारे बुझ्न थाले। विभिन्न संघ संस्थाहरुले एकमुष्ट रकम असुलेर विकसीत देशहरुमा सभा सम्मेलनहरुमा सहभागी हुन पठाउने अनि त्यही अड्किने बारे कर्मराजले पनि सुनेका थिए।

यसै सिलसिलामा बुझ्दै जाँदा नेपालीहरु विभिन्न विषयमा विदेशमा तालिम लिन जाने कुराहरु पनि पत्ता लाग्दै गयो। अन्तमा उनले एक तीन सदस्यीय टोली बेलारुसमा वारुणयन्त्र संचालन सम्बन्धी एक महिने तालिम लिन जाने समूहसँग सम्पर्क भएको एकजना व्यक्तिसम्म पुग्यो। कर्मराज खड्का अब कुमार खड्का भन्नु पर्ने भयो। अन्य दुईजना को हो भन्ने उनलाई थाहा थिएन। उनीहरुसँग बैंककको एयरपोर्टमा मात्रै भेट हुन्छ भनिएको थियो।

नेपालको एयरपोर्टमा अध्यागमन हुँदै जादा पक्राउ परिने सम्भावना भएकोले एकजना त्यहाँ कार्यरत अधिकारीको सहयोगमा सिधै जहाजसम्म पुग्ने व्यवस्था मिलाउन सक्ने समूह रहेछ जसले गर्दा ढुक्क बनायो। त्यस वापत थप खर्च दिनुपरेको थियो। नेपालबाट जहाजमा चढेपछि एउटा लामो श्वास फेर्दै जीवनको अर्को लामो यात्रा कहाँ पुगेर रोकिने हो भन्ने कल्पना गर्दैगर्दा बैंकक पुगेको पत्तै पाएनन्। त्यहाँ त फेरि नेपालमा जस्तो सिधै जहाजमा पुग्ने व्यवस्था गरिएको थिएन। बेलारुससम्म सँगै पुग्ने भनिएका मान्छेहरु पनि भेट भएको छैन।

बेलारुस त पुग्ने भन्ने मात्रै हो फ्रयान्कफर्टमै बस्ने भन्ने सल्लाहा भएको थियो। तर बैंककबाट उड्ने पो कसरी भन्ने नै पिरलो थियो। अर्काको पासपोर्टमा आफ्नो फोटो टाँसेर यूरोप जान लागेकाहरु विभिन्न एअरपोर्टबाट फकाईएका समाचारहरु मात्रै सुनेको हैन आफ्नै पार्टीका नेता सि. पि. गजुरेललाई चेन्नई विमानस्थलमा भएको पक्राउले चारैतिर हल्लीखल्ली नै बनाएको थियो। जे त होलानी भनेर कर्मराज बैंककको अध्यागमनमा निर्धक्क भएर अगाडि बढे।

दुईजना सक्कली र एकजना आफू नक्कली मान्छे सँगै लाइनमा उभिइरहदा स्थानीय अध्यागमन कर्मचारीले तीनैजना सँगै जाने हो भन्दा दुइजना झसक्क भए र कर्मराज अघि सर्दै हो भनि, हामी फ्रयान्कफर्ट हुदै बेलारुस वारुणयन्त्र सम्बन्धी एक महिने तालिममा जाने हो, वहाँहरुको अंग्रेजी भाषा कमजोर छ भन्दै फरर अंग्रेजी बोल्न थालेपछि बोल्नेको पिठो बिक्छ भने झैँ नक्कली पासपोर्ट जिम्मा लाउँदै तपाईँ जानुस् यी दुइजनाको पासपोर्ट अलि जाँच गर्नुपर्ने भयो भनि जर्मनी जस्तो देखिने विमान कर्मचारीले उनलाई अघि पठायो। नक्कली मान्छे सक्कली झैँ फटाफट लाइनमा लागेर विमानभित्र पस्ने लाइनमा बस्ने पुगे।

विचरा सक्कली मान्छेहरु भने लामो सोधपुछ पछि विमान उड्नेबेला आउँदा आफ्ना बाबुआमाले गरेको धर्मकै कारण मिठो फल पाएको अनुभूति गर्दै जहाजमा पाइने कडा पेयपदार्थ पिउँदै खाजा खाँदै जीन्दगीको पहिलो जहाजयात्रा पुरा गरे। फ्रयान्कफर्ट पुगेपछि त हात उठाउने भन्दै पूर्व लडाकु मज्जाले सुते। पहिला नै सल्लाह भए अनुसार बैंककबाट उड्ने बित्तिकै पासपोर्ट च्यातेर जहाजको ट्वाइलेटमा फाल्ने भन्ने थियो। दुइजना सक्कली साथीहरुले शायद बैंककमा पाएको दुःखले गर्दा निदाउन छाडेर ट्वाइलेटमा गएर पासपोर्ट फालिसकेछन्।

कर्मराज अलि अगाडिको सिटमा भएर हो वा उनी त हामी भन्दा बाठो रहेछ किन सम्झाइराख्नु पर्ला र भनेर चुपै बसेका रहेछन्। जहाज ल्याण्ड गर्न भन्दा केही अगाडि सबैले ट्रान्जिट स्लिप भर्न पर्ने हुँदा उसलाई पनि उठाउदै पासपोर्ट देखाउन भन्यो। झण्डै झुक्किएर पासपोर्ट भएको खल्तीमा हात परिसकेको तर झसगं हुँदै खै म सँग त पासपोर्ट छैन राजनीतिक शरणार्थी हुन देश छाडेको हुँ भनेपछि ती सोध्ने नानी अर्कैतिर लागिन्। कर्मराज भने हत्तपत्त ट्वाइलेटमा गएर पासपोर्टको सबै पानाहरु च्यात्दै नाम लेखिएको चाही दाँतले चपाएर धुँजा धुँजा बनाउदै ट्वाइलेटमा फल्स गरेपछि ढुक्कको श्वास फेर्दै फेरि सिटमा नै फर्किन्छन्।

जहाज ल्याण्ड गरेपछि ती तीनै जना नेपालीलाई अध्यागमन विभागमा बुझाइन्छ। दुईजना सक्कली मान्छेहरु त एस नो मात्रै गर्न जान्नेहुँदा दोभाषे खोज्नतिर लागे कर्मराज भने आफूलाई ढुक्कसँग माओवादी गुरील्ला थिएँ भनेर फरर इतिहास बक्न थालेपछि ओके ओके भन्दै भुसतिघ्रे देखिने अग्ला अग्ला कदका प्रहरीहरुले वाकीटाकीमा फोन गरेको मात्र के थियो २० जना विशेष तालिम प्राप्त कमाण्डो टोली आएर विचरा भागेर आएका पूर्व सेनालाई आतकंकारी झै ठानेर विशेष सुरक्षा सहितको सुरुगंभित्रको कार्यालयमा पुरा नाँगै पारेर जाँच पड्ताल गरेपछि राजनीतिक शरणार्थीको निवेदन स्विकार गरी थप छानविनको लागि क्याम्पमा राख्न पानीसहित राखेपछि स्वर्णीम भविष्यमा निस्केका पूर्व माओवादी लडाकूको फेरि कालकोठरीको बास पो हुने हो कि भन्दै दिन गन्दै बस्न थाले।

केहीदिनपछि स्थानीय दोभाषे मार्फत फेरि लामो सोधखोज गरियो। दोभाषेहरु त्यसमा पनि नेपाली मानसिकता के भन्यो भन्दा पनि के जानेको सुनेको छ त्यही भन्दा पो रहेछ। माओवादी भनेको कहाँ सामान्य तिमीजस्तो हुन्छ र ? साँचो कुरा बताउ हैन भने सिधै फर्काइदिन्छु भन्ने पो सुझाउँदो रहेछ। कर्मराज पनि के डराउथ्यो आफूले जे बताउछु त्यही दुरुस्त भन्दिनु अन्यथा अंग्रेजी बुझ्ने अफिसर लगाउँछु भनेर गर्नेपछि अलि ठाउँमा आएछ।

अर्को दिन उनलाई जहाजमा लग्न थालेपछि म त ज्यान गएपनि जान्न बरु यही मार भनेर ठूलठूलो स्वरमा कराउन थालेपछि तिमी अब जर्मन सरकारको संरक्षणमा रहने भयौ क्याम्प अलि टाढा भएकोले जहाजमा उड्न परेको हो नेपाल फर्काउनको लागि होइन भनेपछि शान्त भएका लडाकूलाई एकघण्टापछि अर्को सानो शहरमा पुर्याएछन्। स्थानीय भाषा नजानेका कारण सजिलै काम पाउन सम्भव थिएन। अलि धेरै नेपालीहरु बसोबास गर्ने ठाउँ बेल्जीयमतिर पो सर्नुपर्छ कि भनेर प्रयास पनि गरे तर फेरि जर्मनी नै फर्के।

थोरै भाषा जानेकै आधारमा एउटा रेल कम्पनीमा सरसफाई गर्ने काम पाउँछन्, विस्तारै त्यही कम्पनीको रेष्टुरेन्टमा सर्भिस ब्वाइको रुपमा बढुवा भए। पैसा पनि राम्रै कमाउन थाले। यस बिचमा उनले धेरै नेपालीहरुलाई कागज पाउनको लागि माओवादी बन्न सिकाए। नेपालमा माओवादीको कारवाहीमा परेकाहरु पनि छिटो कागज पाइन्छ भनेर आफै माओवादी भएकोले सरकारले नक्कली वारदात गराई ज्यान लिनसक्ने सम्म भन्न पर्ने भयो। जसरी हुन्छ राजनीतिक शरणार्थी बन्नेहरुको संख्या यो अवधिमा ह्वात्तै बढेको थियो।

समय बित्दै गयो, उमेर बढ्दै गयो तर जवानी घट्दै गएजस्तो लाग्न थाल्यो उनलाई। विदेशको जीवन कहिलेसम्म एक्लै बस्ने हो ? अब विवाह गर्न पर्ने सोच आउन थाल्यो। सानैमा विवाह गर्ने चलन अलि कम भइसकेको अवस्थामा जन्मिए तर विवाह गर्ने उमेरमा देशलाई स्वर्ग बनाउने उद्देश्यमा होमिए र युद्धमा लाग्न पुगे। त्यही युद्धबाट बाँच्नेक्रममा यूरोप आइपुग्यो। त्यहा पनि त्यस्तै समस्या थिए।

आफ्नो देशमा चाहेको बेला जान सकिँदैन भन्दा पत्याउने पनि कोही थिएनन्। यदि स्वदेश जान पाइएन भने आफ्नो जीवनसाथी को बनाउने हो भन्ने सोच कर्मराजले सोचेकै थिएनन्। अष्ट्रेलियामा भएका आफन्त भाइसँग भने बेलाबेलामा विवाहको कुरा सम्म गर्न भ्याउथे। उनले नेपालमा फूपुदीदीसँग कुरा गर्न सुझाएछन्। चिनजान भएका सबैको बिहे भइसकेको थियो वा सबैका केटा साथी हुन्थे। विदेशमा एक्लो मान्छे पाउनै मुश्किल।

फूपुदिदीको नम्बर टिपेर पछाडिको खल्तीमा राखेका रहेछन् कर्मराजले। केही दिनपछि फोन गर्छु भनेर हेर्दा त फोन नं स्पष्ट नदेखिने भइसकेछ तैपनि अन्दाजमा नम्बर डायल गर्नपुगेछन्। उताबाट पनि महिलाकै स्वर आएकोले नम्बर मिलेछ भन्ने पर्यो। घर परिवारका बारेमा भन्दै गर्दा उताबाट कसलाई फोन गर्नुभएको हो ? भन्ने भएपछि उनले सविस्तार आफ्नो बारेमा बताएछन्। तर गलत नम्बर भन्ने भएपछि फोन राख्नुसिवाय अरु विकल्प थिएन। उनले सम्पर्क गरेको नम्बरबाट २, ३ दिन पछि फेरि मिसकल आएपछि कर्मराजसँग बेलाबेलामा ती महिलाको कुराकानी हुन थालेछ।

एकदिन उनले विवाह गर्नुपर्ने खै दुलही पो भेटिएन भनेछन्। उताबाट पनि ए मेरो त विवाह भइसक्यो कस्तो खाले जीवनसाथी चाहिएको हो भनी जिज्ञासा राखेपछि उनले विदेशमा नर्सहरुले सजिलै राम्रो काम पाउने कमाइ पनि बढी हुने हल्ला सुनेका कर्मराजले पाए त स्टाफ नर्स भए राम्रै हुन्थ्यो भनेछन्। खोजेर विवाह गर्न पर्ने भएपछि चाहेजस्तो किन नखोज्ने भन्ने उनको सोचाइले ठ्याक्कै काम गरेछ। उतावाट सर एकजना मेरी नर्स बहिनी छन् कुरा गर्ने हो भने फोन नम्बर दिन्छु भनिछन्। फेरि पहिलेजस्तै नम्बर मेटिएला भनेर उनले तुरुन्तै फोन गरिहालेछन्।

आपरिचीत दिदीले आफ्नी बहीनीको नम्बर त दिइन् तर बहीनीले यसबारे कुरा गर्न भ्याएकी रहेनछिन्। कसले दियो मेरो नम्बर ? नचिनेको मान्छेलाई फोन गर्ने ? जर्मनीमा छौ कि जुम्लामा छौ मलाइ के मतलब भनिछन् ? कुरा जे जस्तो गरेपनि उनको स्वरले भने लठ्ठै पारिसकेको थियो कर्मराजलाई। तपाई अस्मिता होइन र ? नर्सिगं गर्नुहुन्छ भन्दै थिए । ए हो तपाईँले मलाई कसरी चिन्नुभयो त ? अब फोन नगर्नुहोला भनेर लाइन काटिदियो। त्यो अपरिचित मिठो आवाजले यता कर्मराजलाई भने रोमाञ्चित बनाउन थालिसकेको थियो।

करीव एक हप्तापछि फेरि फोन गरेर नम्बर कसरी पाएको बेली विस्तार सुनाए। यसपटक पनि उनको मन पगाल्न सकेनन् कर्मराजले तर फोन गर्न भने छाडेनन्। २, ४ दिनको फरकमा फोन गर्दै रहे र विस्तारै लामो भलाकुसारीमा झुम्मीन थाले। ६ महिना पछि कर्मराजले आफू विवाह गर्न ढिला भइसकेको र जोडी खोज्न पर्ने छ, मलाई साथ दिने हो भन्ने हिम्मत सम्म गरेछन्। तर स्वाभाविक उत्तर कहिल्यै नदेखेको मान्छेसँग कसरी जीवन साथै बिताउछु भनेर निर्णय गर्नुभयो ? त्यसो भए फोटो पठाइदिनु न म पनि पठाउछु भन्दै फकाउदा पनि केही लागेन। फोटो पनि हेर्न नपाइने भयो तर कुराकानी भने अलि बढी हुन थाल्यो, चलचित्रको डायलग झैँ अब म तपाईंलाई तिमी भन्छु है भन्ने सम्मको अवस्था आइपुग्यो।

आफूले काम गर्ने कम्पनीमा बिदा मिलाएर भारत हुँदै नेपाल जाने, माने अस्मितासँगै विवाह गर्ने नभए अरु कोही खोज्ने निष्कर्षकासाथ कर्मराज नेपालतर्फ हानिए। काठमाडौँ पुगेपछि पहिलो काम अस्मितालाई भेट्ने भयो। फोनमा त आफूलाई अस्मिता बस्नेत भनेको थियो । मान्छे हेर्दा आफ्नै गाउँको राइलिम्बु जस्तो देखियो। चिम्सा आँखा गठिलो शरिर, ठूल्ठुला गाला देखेर कर्मराजले फोनमा सुनेको र देखेको मान्छे उही हैन कि क्या हो ? मात्रै भनेको थिए तपाईँ पनि लाहुर गएको खाइलाग्दो अग्लो मोटो खड्को ठिटो होला भनेको त कस्तो मरन्च्यासे जस्तो पो देखियो भनेर पहिलो भेटमा एक वर्षको प्रयास माटोमा मिलाइदियो। अमिलो मन लिँदै दुवैजना छुटिए।

अब कर्मराजलाई ठूलो समस्या आइलाग्यो। बल्ल बल्ल केही सम्बन्ध जोडेको केटीसँग अगाडि कुरा बढ्ने नदेखेपछि घरमा दाइले एकजना एआइजीको छोरी हेर्ने कुरा मिलाए। मनमा अनेक कुरा खेलाउदै केटी हेर्न गएका खड्का ठिटोलाई फेरि त्यही ज्यानको कुरा गरेर असुन्तुष्टि ब्यक्त भयो। कर्मराजलाई पनि रिस उठेर अनि यो आइग्लास जत्रो चश्मा चाहिँ किन लाउनुभएको त भनेर सोध्दा म त चश्मा नलाई आँखा देख्दिन भन्ने जवाफ आएपछि कर्मराजपनि विवाह गर्ने कुराबाट पछि हटेछन्।

ती महिलाले पछि छुटिनेबेलामा मैल अघि तपाईँलाई होचो दुब्लो भनेर हेपेर हुन्न भने वास्तवमा तपाईँमा कुनै खोट छैन तर मेरो केटासाथी पहिलेदेखि नै थियो । घरमा भन्न नसकेर तपाईँमा खोट देखाएकी हुँ, कृपया मेरो घरमा मिलाएर भन्दिनुहोला भन्दै माफ माग्दै रुन थालिन्। उनले पनि आँखा कमजोर भएकै कारण बिहे नगर्ने भन्दा पनि उनको पहिले देखिनै केटा साथी भएको कुरा व्यक्त गर्दै चाहेको मान्छेसँग विवाह गरिदिए राम्रो घरवार हुने तर्क दिदै आफू भने उक्त सम्बन्धबाट अलग्गिए।

दोस्रो प्रयास पनि असफल भएपछि कर्मराज अलि हरेसखाने स्थितिमा पुगे। यो तालले जीन्दगी एक्लै पो बाँचिने भइयो भन्ने अवस्थामा पुगेका थिए। एकदिन साथीहरुसँग रमाइलो गर्दा धेरै पीएको पत्तै भएन। सायद पीडा पनि मनमा थियो एकल जीवन बाँच्नुपर्ने भयको त्यसैले फेरि एकचोटी अस्मितालाई फोन गरेर भेट्ने निर्णयमा पुगे। तर लर्बरिएको स्वरमा केवल भेट्न चाहेको भन्यो तर अहिले राति भइसकेको बरु भोलि म आफै फोन गर्छु भन्ने उत्तर आएपछि केही हलुको भएर सो रात साथीहरुसँगै बसे। नभन्दै भोलिपल्ट अस्मिताको फोन आयो।

गत राति फोनमा भएका कुरा सम्झन सकिइरहेका थिएनन्। उनले साँच्चै मसँग विवाह नगर्ने नै हो त भने ? अब म फर्कन्छु तर तिमीलाई जीवनभर बिर्सन सक्दिँन होला भने। उनले मलाई भेट्ने भन्नुभएको होइन, बरु खाना खाएर आउनुस्, औपचारिक लुगा लगाएर आउनुहोला भनिन्। अलि समय लगाएर तयारी हुँदा साँझ आउँदा हुन्छ कि भनेपछि सोही अनुसार भेट्ने तय भयो। घरमा बुवाआमा दाजुभाइ सबैजना कर्मराजलाई कुरिरहेका थिए। उनले पनि साथमा ठूलोबाको छोरालाई लिएर गएका थिए। परिचयकै क्रममा भएका सबै कुरालाई बेलीबिस्तार लगाए।

हुनेवाला ससुराली पनि राजनीतिक पृष्ठभूमिका रहेछन्। दाजु त एमाले कै जिल्लास्तरका ठूलै नेता थिए। घरपरिवारका सबै सदस्यलाई हुनेवाला ज्वाइ मन परेपछि विवाहको कुरा निर्क्यौल भयो। कर्मराजलाई काममा फर्कन १० दिन मात्र बाँकी थियो। हतार हतार पाँच दिनमा मगनी गरेर सामान्यरुपमा विवाह सम्पन्न भयो। विवाहपछिका पाँच दिन बिताएर भारत हुँदै जर्मनी आउनु थियो। करिव एक वर्षको चिनजानलाई पाँच दिनमा विवाहमा परिणत गरी छैठौँ दिनमा मिठो भविष्यको कल्पनासहित दिल्ली पुगे नवदुलाहा कर्मराज।

दिल्ली एअरपोर्टमा फ्रयान्कफर्ट जर्मनीका लागि उड्न तयार भएर कर्मराज लाइनमा लागे। तर अध्यागमन अधिकारी महिलाले निकै केरकार गरिन्। भिषा मान्छे सबै सक्कली नै भएकोले कर्मराजलाई कुनै डर थिएन तर निकै समय लगाएपछि पो थाहा भयो, उड्नुपर्ने मिति त हिजै रहेछ। अब पर्‍यो आपत्, खल्तीमा पैसा छैन, काम सुरु हुने भइसक्यो तर अब आइलागेको विपतबारे कसलाई भन्‍नू। उनले नवदुलहीलाई विस्तृत कुरा बताउने निणर्य गरे किनकी अरु कुनै उपाय पनि थिएन। टिकट क्यान्सिल भएको पीडालाई थप केही दिन श्रीमतीसँग बस्‍न पाइने खुसीले भने सान्त्वना दिएको थियो। त्यसैले काठमाडाैँ, दिल्ली हुँदै फ्रयान्कफर्टको टिकटका लागि श्रीमतीलाई जानकारी गराए। भित्रभित्रै ४, ५ दिन अरु बस्न पाए पनि हुने थियो भने अकातिर पनि काममा ढिला हुँदा पीर परेकै थियो।

जर्मनी पुग्दा पुरानो काम नपाउदा फेरि नयाँ काम खोज्नुपर्यो। भर्खरै विवाह गरेकी श्रीमतीलाई त्यही राम्रो काम देखाएर भीषाका लागि निवेदन दिइ जर्मनी ल्याउने अवस्था रहेन। पहिले बिहे नभएकोमा चिन्ता अहिले श्रीमतीलाई ल्याउनका लागि चिन्ता आइलाग्यो। नयाँ काम खोज्‍न ३ महिना लाग्यो। उता विवाहताका श्रीमतीलाई ल्याउने तयारी गर्न ६ महिनाजति लाग्ला भनेको त्यो पूरा नहुने जस्तो छाटकाट देखियो।

पूर्वका मान्छेहरु विश्वास गर्न गाह्रो हुन्छ भन्थे कतै मैले धोका दिन लागेको होइन भन्ने संशय घुमाउरो पाराले श्रीमती मार्फत बुझेका थिए। नयाँ काम पाएपछि बल्ल बल्ल एक वर्षपछि दिल्ली हुँदै नेपाल गएर काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गरी जर्मनीको भिषाका लागि आवेदन दिए। तर भिषा पाउन अर्को तीन महिना कुर्नुपर्ने भयो। पछिल्ला १५ महिनाको नालीबेली हेर्दा घटेका घटनाहरुको अनुभूति संकलन गर्दा एउटा गतिलै पुस्तक निस्कन्छ होला।

कर्मराज र अस्मिताको प्रवासी जीवनमा दुई सन्तानको आगमनले घरपरिवारमा देश ल्याएको अनुभूति गर्दै रमाइलो दाम्पत्य संसारमा छन्। जीवनमा धेरै सोचियो, भोगियो, काम पनि धेरै गरियो तर उतारचढावलाई फर्केर हेर्दा अचम्म लागेर आउँछ। गलत नम्बरबाट शुरु भएको सम्बन्ध ठिक ठाउँमा आएकोमा दंग छन् दुवैजना। तर विदेशको रातो नागरिकता त्यागेर आफ्नै देशको नागरिकता लिने सोचलाई साकार बनाउने तयारीमा लागेका छन् कर्मराज अहिले।

अस्मिताको भने आफ्नै देशको नागरिकता छ, दुईजनामध्ये एकजनाको नेपाली नागरिकता हुनुपर्छ भन्ने उनको सोच यथावतै छ। कर्मराज भने नाम जसरी कर्मको पुजारी बन्दै, बन्दुक, शिक्षण, मृत्युबोधपछिको नक्कली परिचयले त्याग्न लगाएको जन्मभूमिको परिचयले उनलाई पोलेकोछ। परिस्थतीले शौचालयमा फल्स गरायो र देश छाड्नेबेलामा गर्नुपरेका तयारीका क्रममा जीवन बाँच्ने उपाय पनि अर्को कुनै हातमा थिएनन् तर अहिले सबै कुरा सहज भएपछि आफ्नै देशको नागरीकता ब्यूँताउने सोचमा छन्।

देशको सेवा सधैँ शरीरमा बगीरहेको छ त्यो भन्दा ठूलो बृद्ध आमाबुबाको सेवा गर्ने इच्छा छ। जन्म दिने आमाबुबाको सेवा नै छोराको अन्तिम कर्म बनेर कर्मराजको काँधमा आइपुगेको छ। आशा गरौँ त्यो पनि उनले पूरा गर्नेछन्। आफ्नो बृद्धकालमा प्रवासमा जन्मेका सन्तानले के गर्लान् त्यो उनीहरुकै कुरा तर आफ्नो कर्ममा निरन्तर लागिरहेका छन् कर्मराज। कर्मको राजा भएर, कर्मको नोकर भएर। सबैभन्दा ठूलो त कर्मको सहयात्री भएर।

(रचनाकार अधिवक्ता सुरेन्द्र नेपाल लेखक श्रेष्ठ कानून र गैर आवासीय नेपालीका बिषयममा विशेष दख्खल राख्छन्। उनी बिगत दुई दशकभन्दा लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका छन्)

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…