मध्यविन्दु

महात्मा केसी

मेरो निकट मित्र नै किन नहुन् झ्याम्म हान्दिउँजस्तो लाग्छ। परमपरोकारी डा. गोविन्द केसीलाई‘अनशन केसी’ भनेर बोल्दा।

मेरो बुझाइमा ती तपस्वीलाई होच्याउने शब्द हो त्यो। आदर गर्नु पर्ने एउटा सज्जनलाई होच्याउँदा मान्छेले पाउने खुसी के हो? तर आफ्नै मित्रसामू आफूलाई होच्याएको महशुस किन गर्दैन मान्छेले ? मान्छे आफू होच्चिन्छ दोषी अरुलाई बनाएर फेरि खुसी हुन्छ । तर त्यो खुसीले फेरि आफैंलाई होच्याउँछ । आफू होच्चिएको देख्दैन।

मैले डा. गोविन्द केसीलाई तीनचार पटक भेटेपछि मान्छे के हो भन्ने प्रश्नको जवाफ पाएँ । उनले दिएनन् । उनीभित्रै खोजेँ । मेरो अनुहारमा कुँदिएका आँखाले उनलाई एक आममान्छे देखे पनि मनका आँखाले अर्कै देखे– महान् मान्छे ।

महान् मान्छे त्यही हो जो आफूलाई आममान्छे ठान्छ । जो मान्छे जन्मन्छ, मान्छे भएर बाँच्छ र मान्छे बनेर मर्न चाहन्छ।

श्रद्धा के हो ? प्रेम के हो ? कसरी पलाउँछ? डा. गोविन्द केसी स्रोत नै हुन्, मेरा लागि ।

२७ वर्ष सेवा गरे । पेन्सनको पैसाले बाँचेका छन् । त्यही पैसाले गरिब–दुःखीलाई बचाउन खोज्छन् । देशको कानुनले मार्नुलाई घोर अपराध हो भन्छ । त्यही देशको सरकारले बचाउनुलाई त्योभन्दा ठूलो अपराध ठान्छ ।

कहिल्यै डाक्टर नदेखेका आफ्नै देशभित्र देशविहीन बनेका ‘देशका टुहुरा’ जनतालाई बचाउन खोज्दा डा. गोविन्द केसी अपराधी मानिन्छन् ।

चोरका बैरी चन्द्रमा भ्रष्टका इमान्दार, दुराचारीका सदाचारी र दुष्टका ठूला शत्रु सज्जन। राज्यको शत्रु भएका छन् ती परमपरोपकारी– गरीबका डा. गोविन्द केसी । केही गर्दैनन्– दिनदुःखी गरीबको निशुल्क उपचार गर्छन् । त्यही हो उनको अपराध।

कसैसँग केही लिदैनन् । तर एउटा ‘दुष्टराज्य’मा नलिनु पनि अपराध हुन्छ । सकेसम्म सबैलाई दिन्छन् । त्यो दुष्टराज्य’मा दिनु पनि अपराध हुन्छ । परोपकार उनको धर्म हो । सेवा उनको कर्म हो । सदाचार उनको जीवनशैली हो । सत्य उनको बल हो । निष्ठा उनको प्राण हो ।

परोपकार, सेवा, सदाचार, सत्य र निष्ठा मानवीय समाजका उच्चतम् आदर्श हुन् । तर यी सबै‘दुष्टराज्य’का लागि अपराधका द्योतक बन्दा रहेछन् ।

डा. केसी त्यस्तो राज्यमा जन्मिए जहाँ परोकारलाई अपराध मानिन्छ । सत्य, निष्ठा र सदाचारलाई अपराधीका अस्त्र मानिन्छ । कर्मका विरुद्ध दुष्कर्मका डण्डा बर्सिन्छन्।

राज्यको अनुहारमा कहिल्यै नमेटिने गरी खुनखत लागेका छन् । पापका दाग बढ्दैछन् ।

कति हो कति डाक्टर छन् देशमा । तर खल्तीको पैसा खर्चेर छ महिनादेखि जुम्लामा गरीब जनताको सेवा गर्ने अरु को को छन्? कति छन् ? जनताका डाक्टर केसी काम नपाएर देशका दूर्गमतिर भौँतारिएका होइनन् ।

कुना–कन्दराका निमुखाको सेवालाई नै ‘काम–कर्म’ ठानेर एक्लोजीवनलाई भुइँ मान्छेसँग हिँडाउँदैछन् । भाँचिएका हाडजोर्नीमा मलमपट्टी लगाउँदैछन् ।

देशमा भुइँमान्छे नै भुइँमान्छे छन् । राज्यले भुइँमान्छे देख्दैन । देख्छ भने पैसाका बिटा बोक्नेहरुलाई मात्र देख्छ । सडकमा उभिएर कागजका टोपी लगाएर न्याय माग्नेलाई झन् कहिल्यै देख्दैन । नोटका गद्दीमा बसेर न्याय बेच्ने र किन्नेहरुलाई सधैं देख्छ ।

देशमा ‘लुट र लुटाऊ’ चलेको छ । राज्यले बदनाम, गुलाम र हरामहरुलाई चिन्छ । रामजस्ता सज्जन‘गोविन्द राम’हरु लाई चिन्दैन ।

उनको आफ्नै बाटो छ । कोही हिँड्दैनन् त्यो बाटोमा । डा. गोविन्द केसीले रोजेको बाटो कठिन छ । भोकैप्यासै लड्नु पर्छ त्यो बाटोमा । २३५ दिनको निराहार यात्र पूरा गरिसकेका छन् ।

डा. केसीले रोजेको त्यो बाटो कसैका लागि हैन तर सबैका लागि हो ।

सत्ताको स्वभाव स्वाँठ भैदियो भने त्यो सत्ता ‘भिजिलान्ते दर्शन’मा विश्वास गर्छ । स्वाँठ सत्ताका बज्रस्वाँठ भिजिलान्तेहरु प्रश्न गर्छन्– कसको इसारामा, कसका लागि अनशन बस्छन् गोविन्द केसी?

जसको आफ्नो कोही छैन, त्यसका सबै आफ्ना हुन्छन् । ती सन्यासी डाक्टरका आफ्ना कोही छैनन् तर सबै आफ्ना हुन् । उनी आफ्नै इसारामा सबैका लागि अनशन बस्छन् । सिंगो देशका लागि सत्याग्रह गर्छन् । राज्यको निकट कहिल्यै भएनन् । सधैं विकटका जनताका साथी भए ।

देशका दूरदराजमा रोगव्याधि फैलियो भने दबाईको भारी काँधमा हालेर सरकारभन्दा अगाडि उनी पुग्छन् । राज्यले त्यसलाई पनि अपराध नै ठान्छ । के एउटा दुष्कर्मी राज्यमा सबै सुकर्महरु अपराध हुन्छन् ?

सत्यका माध्यमबाट सत्यको खोजी गरी, सत्यमा पुगी, सत्यमा अटल रहने एक सत्याग्रही हुन् डा. गोविन्द केसी । देशका एकमात्र जिउँदा साझा सम्पत्ति ।

कसैलाई कुनै कष्ट नदिई सबै कष्ट एक्लैले सहेर सबैलाई जिताउने महायुद्ध सत्यग्रह । ‘सर्वजन हिताय’को महायज्ञ हो सत्याग्रह । स्वाँठसत्ताका बज्रस्वाँठ भिजिलान्तेलाई के थाह– सत्याग्रह के हो ?

देशका दूरदराजमा रोगव्याधि फैलियो भने दबाईको भारी काँधमा हालेर सरकारभन्दा अगाडि उनी पुग्छन् । राज्यले त्यसलाई पनि अपराध नै ठान्छ । के एउटा दुष्कर्मी राज्यमा सबै सुकर्महरु अपराध हुन्छन् ?

पैसामा घाँसपात मात्रै बिक्दैन । न्याय–निष्ठा, पद, प्रतिष्ठा र पदक पनि घाँसपात सरह पैसामा बिक्ने राज्यमा डा. गोविन्द केसीलाई यी केहीको भोक छैन । भोक छ तर सांसारिक छैन, अभौतिक छ उनको भोक । जसको कोही छैन तिनका लागि भोको बस्छन् ।

परोपकार नै उनको धर्म हो । यो मानवीय धर्मको पालना गर्न उनलाई भूगोलको सिमानाले छेक्दैन । विपद् पर्दा जहाँ पनि पुग्छन् । देशबाहिर पनि सुटुक्क जान्छन् । आत्मरति र प्रचारको दुनियाँबाट धेरै टाढा छन् ।

बिरादरी लेखक भाइमित्र राजकुमार बानियाले ‘गोविन्दगिरी’ आइकोनको परिकल्पनाभित्र गान्धीपछिका अर्का गान्धी सोच्नु डा. केसीप्रतिको उदात्त आदर हो । उनैका शब्द सापट लिएँ– ‘सबैभन्दा धेरै दिन भोकै बसेर गान्धीगिरी देखाउने अरु कोही छैनन् । उनी सिद्धान्त हैन, दृष्टान्त हुन् ।’

तै पनि मेरो मनले भन्छ– गान्धीपछिका गान्धीभन्दा ठूला गान्धी हुन् डा. गोविन्द केसी अर्थात महात्मा केसी ।

महात्मा गान्धी एक्लै लडेको थिएनन् । धेरै राजनीतिक दल र समूह थिए । गान्धी कसैका विरुद्ध लडेका थिए । गान्धीको राजनीतिक र व्यक्तिगत चरित्रमाथि धेरै प्रश्न उठे । प्रश्न उठाउनेहरु भारतीयदेखि बृटिश लेखकसम्म छन् । ‘गान्धीका नग्न इच्छा’ भनेर जेड एडम्सले एउटा मोटै किताब लेखे ।

महात्मा केसी एक्लै लड्दै छन् । उनी कसैका विरुद्ध लडेका छैनन् तर सबैका लागि लडिरहेका छन् । राजनीतिक सिद्धान्त र वादभन्दा टाढा छन् । सत्य उनको दर्शन हो । सत्याग्रह शैली ।

सत्याग्रहमा कोही कसैको हुदैन । सत्याग्रह सबैका विरुद्ध पनि हुन्छ र सबैका लागि पनि हुन्छ ।

महात्मा केसीका एक अनुयायी सञ्जीव कार्कीका हरफ सम्झिएँ । आमा क्यान्सरले थलिएर अस्पतालको शैयामा थिइन् । डा. केसी सत्याग्रहमा थिए । भन्दै थिए– ‘मेरी आमाका लागि मेरा भाइबहिनी छन् । मेरो प्राथमिकता देश हो ।’

एक युगमा सायद एक पटकमात्र जन्मन्छ एक महान् मान्छे ।

महान् मान्छे त्यही हो जो आफूलाई आममान्छे ठान्छ । सत्यका शास्वत प्रतिमूर्ति महात्मा केसीजस्तै ।

Twitter @Shivaprakash_NP

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्