मध्यविन्दु

डा. केसीको प्राण–समीरण

जर्मनीमा जन्मिएका कार्ल मार्क्सले साम्यवादको सिद्धान्त लेखे, दृष्टान्त बने नेपालका एक चिकित्सक डा.गोविन्द केसी।

मार्क्स बाँचेका भए आज यो संसारमा सायद सबैभन्दा दुःखी उनै हुन्थे । कम्युनिष्ट सिद्धान्तको एक महान् दृष्टान्त सत्याग्रही डा. केसीमाथि मार्क्सवादी सरकारले चालेको दूषण दमनचक्र देखेर ।

यो धरतीमा बाँचेका हरेक पुस्ताले मार्क्सका आँसु देख्न पाउँथे । उनका आँशुका थोपामा यो देशको सबैभन्दा ठूलो साम्यवादी, सबैभन्दा ठूलो समाजवादी र सबैभन्दा ठूलो प्रजातन्त्रवादी योद्धाको विनीत विम्ब कोरिएको हुन्थ्यो ।

लेखिएको हुन्थ्यो– सत्यको आग्रह ।

मानवतालाई मार्क्सले मर्न दिएका थिएनन् । उनी स्वयं महान् मानवतावादी थिए । सादा जीवनयापन गरेर मरे तर यसैले सधैं बाँचे तिनै मार्क्स। सिद्धान्तले मात्र उनलाई बचाएन स्वयं दृष्टान्त पनि बने।

साम्यवाद राजनीतिक सिद्धान्त हो । साम्यवादभित्र समाजवाद उदायो भने त्यो देश चीनजस्तो विकासको शान–शौकतले पूर्ण हुन्छ । त्यही साम्यवादभित्र पाखण्डवाद (हिप्पोक्रेसी) जन्मियो भने त्यो देशको हालत नेपालजस्तो दूर्दशापूर्ण हुन्छ । दलका दरिद्र दर्वटहरुको दाइँ–रजाइँ चल्छ ।

कम्युनिष्ट शब्दसँग समाजवाद, साम्यवाद, वर्ग–विहिनता, समानता, सामाजिक न्यायको सम्बन्ध नङ र मासुजस्तो हुन्छ । तर अहिले ठीक विपरित छ । कम्युनिष्ट शब्दले नयाँ अर्थ खोजेको छ ।

माओवाद मिश्रित मार्क्सवाद–लेनिनवादलाई नेपालमा गरीब–निमुखा जनताको आवाजको ट्याग लगाएर भोटसँग विनिमय गरिन्छ । सित्तैमा लिएर महँगोमा बेचिन्छ जनताको त्यो भोट– बिचौलिया बजारमा । मौन छ देश ।

आलोचनात्मक चेत र विद्रोहलाई लेनिनले मार्क्सवादको संविद् संकेत मानेका छन् । तर भेडाको नियमित लयमा लयवद्ध मार्क्सवादी–लेनिनवादी लम्पटहरुको लर्को देखेर लेनिनको मन पनि त्यतिकै रुँदो हो जति मार्क्सको रुन्थ्यो होला। माओवादको निर्लज्ज नेपाली संस्करण कुरुप स्वरुप देखेर माओले आत्महत्या गर्थे होलान् ।

राजनीतिमा अहिले त्याग खसीको टाउको र स्वार्थ कुकुरको मासुजस्तो भएको छ । खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने बेइमान बगरे जस्तो छ देशको राजनीतिक नेतृत्व!

बुद्धि विस्खलनको बिलख–विलास आनन्दमा डुबेको छ सत्ता । बेइमानीको बक्सिसले सत्ता र सत्ताका ‘पादरी’ सधैं पुलकित छन् । जनता अनेक कारणले मरिरहेको छ । निमुखा नियतिले मर्न पाउँदैनन् सधैं सत्ताको नियतको शिकार हुन्छन् ।

यस्तै विकरालकालमा मात्रै डा. केसीपाँच पटक अनशन बस्न बाध्य भए, तिनै निमुखाका लागि । यो काललाई विनासकाल पनि भन्न सकिन्छ । विपरित बुद्धिले चलेको यो विनाशकालमा मात्रै उनी १०५ दिन निराहार बसे । १९ औं पटकको अनशनसम्म आइपुग्दा उनी भोकै प्यासै बसेको दिन झण्डै साढे आठ महिना हुन्छ ।

डा. गोविन्द केसी कसैका बिरुद्ध कहिल्यै कुनै लडाइँ लडेनन् । तर सबैका लागि उनी सधैं लडिरहे । २५१ दिन सबैका लागि अन्नपानी त्यागे । अहिंसाको दीयो बालेर सत्यको खोजीमा हिडे । सत्याग्रहलाई अँगाले ।

अहिंसाको अस्त्र सत्याग्रहलाई अस्विकार गर्नु भनेको हिंसाको शस्त्रलाई निम्त्याउनु हो । के हिंसाबाट जन्मिएकाहरु सधैं हिंसामात्र रुचाउँछ ?

कसैलाई दुःख नदिई सबैका लागि लडिने निशस्त्र महायुद्ध हो, सत्याग्रह । सत्यका माध्यमबाट, सत्य खोजी, सत्यमा पुगी, सत्यमा अडिग रहने आध्यात्मिक बाटो पनि हो, सत्याग्रह ।

सत्याग्रहको बाटोबाट परिवर्तन खोज्नु एक आध्यात्मिक अध्याय पनि हो । डा. गोविन्द केसीको सत्याग्रह आध्यात्मिक बाटोमा हाँकिएको नेपालकै सबैभन्दा ठूलो सामाजिक आन्दोलन पनि हो ।

अनशन रहर हैन, बाध्यता बन्यो । उनी त्यो सहस्र बाध्यतालाई सहर्ष स्विकार्छन्– ‘मैले जति दुःख पाए पनि अरु नेपालीले यस्तो दुःख पाउनु नपरोस् ।’ यो भन्दा ठूलो आध्यात्मिक र महात्मिक चेत अरु के हुन सक्छ ?

सत्य देवत्व हो/होइन तर सम्पूर्ण संगठानात्मक धार्मिक आस्थाभित्र सत्यको स्थान देवत्वकै रुपमा रहेको छ । वस्तुतः देवत्व मानवीय गुणवत्ता र उत्तमताकै परिष्कृत परम्परा हो । भर्चुअल सत्य हो देवत्व ।

डा. केसी एउटा शरीरमा दुई जीवन बाँचेका छन्– भौतिक र अभौतिक । उनको शरीरमात्र जीवन हैन, निष्ठा जीवनभन्दा ठूलो जीवन हो । खाएर भौतिक शरीरमात्र हैन, भोकै बसेर निष्ठाको जीवन पनि बाँचेका छन् । निष्ठाको जीवन महान् छ । त्यसैले सजिलो छैन निष्ठाको जीवन बाँच्न ।

डा. गोविन्द केसी भर्चुअल हैनन् ‘रियल’हुन् ।

सामान्य अर्थमा महान् आत्मालाई महात्मा ठानिन्छ । महान् व्यक्ति मनमा जे सोच्छ त्यही बोल्छ र त्यही गर्छ । दर्शनमा पनि भनिएको छ– मनस्येकं वचस्येकं कर्मण्येकं महात्मानाम् । डा. केसीको मन, बोली र व्यवहारमा भएको एकरुप शक्तिले नै उनलाई ओजस्वी बनाएको छ ।

स्वार्थले नगर्नु पर्ने पनि गराउँछ । विश्वासले गर्नु पर्नेलाई जसरी पनि गराउँछ । आत्मविश्वासले असम्भवलाई पनि सम्भव बनाउन सक्छ । स्वार्थले हाम्रो समयलाई चिथोरेको छ । समाजलाई न्याकेको छ । यस्तै घाइते समयको मुर्छित समाजबाट जन्मिएका हुन्– तीआत्मविश्वासी गोविन्द केसी ।

उनी जश, यश र अपजसभन्दा माथि उठिसकेका छन् । न कुनै पद, पदीय प्रतिष्ठा र भागको आशा । न लालसा । न कहिल्यै निराशा !

यी सबै उनका लागि ‘तुच्छ’ बाहेक केही हैनन् । हुन्थे भने आजयी डाक्टर पनि धेरै डाक्टरहरु जस्तै कुनै निजी अस्पतालमा हुन्थे र मानिसका अगाडि भगवान् देखिन चाहन्थे । उपचारका लागि जनतालाई घरखेत बेच्न लगाउँथे । देशका नेताजस्तै अर्बपति हुन्थे । महँगा गाडी चढेर हिँड्थे ।आलिशान बंगलामा हुन्थे । घरमा नोकरचाकर हुन्थे । सन्तान हुन्थे । सन्त–महन्तजस्ता हुँदैन थिए यी महात्मा ।

यद्यपि डा. गोविन्द केसीलाई सधैं सरकार विरुद्ध देख्ने सरकार कसको सरकार हो ? कसका आँखाले हेर्छ र त्यस्तो देख्छ ? कसको ढुकुटीको के खान्छ र दुष्टको जस्तो दुर्वाच्य बोल्छ ?

डा. गोविन्द केसीले कुनै सरकार विरुद्ध कहिल्यै कुनै आन्दोलन गरेका छैनन् । बरु सधैं सरकारको समर्थनमा लडेका छन् । जनता र सरकार जोड्ने सेतु निर्माणको महाअभियान चलाएका छन् ।

देशमा माफिया, बिचौलिया र दलालतन्त्रले जनता र सरकारबीचको सम्बन्ध कहिल्यै नजोडिने गरी टुटाएको छ । त्यही सरकार र माफियातन्त्रबीचको सम्बन्ध तोडेर जनता र सरकारबीच सम्बन्ध जोड्न महाअभियानमा लागेका हुन् डा. गोविन्द केसी ।

जनता र सरकारबीचको सम्बन्ध जोडियो भने यसको सबैभन्दा ठूलो जश र यश सरकारले नै पाउँछ ।

डा. केसी सरकारका बिरुद्ध हैन माफिया, बिचौलिया र दलालतन्त्रले चलाएको सत्ताबिरुद्ध लडेका हुन् ।

सत्याग्रही डा. केसी सधैं सरकारको पक्षमा छन् तर त्यही सरकार उनलाई वाधक ठान्छ । जुन सरकार आफूलाई जनताको सरकार भन्छ तर त्यही सरकारको जनतासँगकुनै सम्बन्ध छैन !

सरकारको आँखाको कसिङ्गर बनेका छन्, जनताको आँखाको नानी । मरोस् भन्ने चाहन्छन् । मार्न चाहन्छन् । १९ औं पटक अनशनमा २८ दिन निराहार बसे । उनी बाँचे र उनी बाँच्नु पर्छ ।

ईश्वर हैनन्, नश्वर छैनन् । उनी मर्दैनन् तर बाँच्न पनि सजिलो छैन । तथापि उनी मरे पनि सधैं बाँच्छन् ।

डा. केसी एउटा शरीरमा दुई जीवन बाँचेका छन्– भौतिक र अभौतिक । उनको शरीरमात्र जीवन हैन, निष्ठा जीवनभन्दा ठूलो जीवन हो । खाएर भौतिक शरीरमात्र हैन, भोकै बसेर निष्ठाको जीवन पनि बाँचेका छन् । निष्ठाको जीवन महान् छ । त्यसैले सजिलो छैन निष्ठाको जीवन बाँच्न ।

धेरैले सिद्धान्त घोक्छन् । दृष्टान्तमा बाँच्न सक्दैनन् । निष्ठालाई भौतिक अभीष्ठासँग साट्छन् । घृणापात्र हुन्छन् । भौतिक जीवनभर मृत नैतिक जीवन बाँच्छन् । उदाहरण सबैतिर छ । सबैभन्दा बढी राजनीतिमा ।

मानिसलाई भौतिक जीवन बाँच्न गाह्रो छैन जति निष्ठाको जीवन बाँच्न गाह्रो छ । हिजोसम्म गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पलमा खुसी हुनेले आज राज्यकोषबाट लुइस भुटनको जुत्ता लगाएका छन्। अझै अपुग छ । जसको भौतिक जीवन बाँचेको छ तर निष्ठाको जीवन मृत छ ।

दुई जीवनजस्तै डा. केसी एउटा शरीरले दुई सास फेर्छन्– एउटा प्राणवायु र अर्को निष्ठावायु । कसैले उनको प्राणवायु कसैले हरण गरे पनि निष्ठावायु कसैले हरण गर्न सक्दैन ।

दुई प्राणले बाँचेका डा. गोविन्द केसीको प्राण–समीरण प्रत्येक नेपालीका श्वासमा प्रश्वास बनेर बाँचिरहन्छ । बगिरहन्छ । उनी कसैका निजी हैनन् सबै जनताका साझा डाक्टर हुन् ।

दुई प्राणले बाँच्नुलाई नै प्राण–समीरणका रुपमाबुझ्न सकिन्छ । डा. केसीलाई ६४ औं जन्मदिनको सादर शुभकामना ।

असोज २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्