किसानसम्म मौसमको जानकारी नपुग्दा वर्षाले बालीमा अधिक क्षति

काठमाडौँ – लगातारको वर्षासँगै आएको बाढीले धानबालीमा गरेको क्षतिको प्रारम्भिक तथ्यांक आउन अझै केही दिन लाग्ने भएको छ। कृषि विभागले अहिले तथ्यांक संकलनको काम भइरहेकाले कहाँ–के कति क्षति भएको छ भनेर तत्काल बताउन सक्ने अवस्था नभएको जनाएको हो।

विभागका प्रवक्ता डा. महादेवप्रसाद पौडेलले बाढीले धानबालीमा पुर्‍याएको क्षतिको तथ्यांक तत्कालका लागि उपलब्ध नरहेको बताए।

‘हामीले पत्राचार गरेर जानकारी मागिरहेका छौँ। तथ्यांक संकलनका लागि टोली खटाउने काम पनि भएको छ’, प्रवक्ता पौडेलले भने, ‘तर अहिलेसम्म जानकारी आइसकेको छैन। अहिले नै यति क्षति भयो भनेर भन्न सक्ने अवस्थामा छैनौँ।’

विभागका अनुसार प्रदेशले जिल्लासँग र जिल्लाले स्थानीय तहसँग बालीमा हालको बाढी तथा डुबानले गरेको क्षतिको जानकारी माग गरिरहेको छ। सबै तहबाट जानकारी संकलन भएर क्षतिको प्रारम्भिक विवरण आउन अझै केही दिन लाग्ने विभागका प्रवक्ता पौडेलले बताए।

नेपालबाट मनसुन बाहिरिएलगत्तै गएको आइतबारदेखि परेको लगातारको झरी तथा भारी वर्षाका कारण विशेष गरी सुदूर पश्चिम, कर्णालीका समथर क्षेत्र, प्रदेश १ को झापा, मोरङ, सनुसरी तथा प्रदेश दुईका जिल्लाहरुमा लगाइएको धानबालीमा क्षति गरेको छ।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाका संयोजक वरिष्ठ वैज्ञानिक भानुभक्त पोखरेलका अनुसार विगत केही दिनदेखि परेको पानीले काटिएको, काट्ने बेला भएको तथा बाला लाग्दै गरेको धानबालीमा क्षति गरेको देखिन्छ।

बाली विशेषज्ञसमेत रहेका पोखरेलले भने, ‘विशेष गरेर सुदूर पश्चिममा काटेको तथा काट्ने बेला भएको धानबालीमा क्षति गरेको देखिन्छ। यस्तै प्रदेश १ र २ का तराईका जिल्लामा पनि पाक्ने बेला भएका धानबाली डुब्दा नोक्सानी भएको देखिन्छ। पहाडी क्षेत्रमा भने अहिले बाला लाग्दै गरेको धानमा लगातारको पानीले परागसेचनमा अवरोध भएको छ।’

फूल लाग्ने बेलाको बालामा लगातार पानी पर्दा तथा घाम नलाग्दा परागसेचन नहुने र दाना नलागी भुस बढी हुने समस्या देखिने उनले बताए।

‘यसरी हेर्दा देशभर अहिलेको पानीले धानबालीमा १५ देखि २० प्रतिशतसम्म क्षति गरेको हुनसक्ने मेरो व्यक्तिगत अनुमान छ’, उनले भने, ‘तर आधिकारिक विवरण आउन भने केही दिन पर्खिनै पर्छ।’

किसानसम्म मौसमकाे जानकारी लैजाने ‘डेडिकेटेड च्यानल’ आवश्यक

गएको आइतबारदेखि परेको पानीका कारण मानवीय तथा भौतिकसँगै भित्र्याउने बेलाको धानबालीमा ठूलो क्षति हुँदा किसान चिन्तामा छन्। तर क्षति कम गर्नका लागि अपनाउन सकिने उपाय वा सावधानीहरु नगरिएको भन्दै आलोचना भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले गएको असोज २९ र ३१ गते पोस्ट मनसुन विशेष मौसम बुलेटिन प्रकाशित गरेर आफूहरुले सचेत गराएको उल्लेख गरेको छ। उसले असोज २९ गतेको बुलेटिनमा केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको उल्लेख जनाएको थियो।

त्यस्तै असोज ३१ गते जारी गरेको विशेष बुलेटिनमा कात्तिक १ र २ गते विशेष गरी लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेश तथा प्रदेश १ का धेरै स्थानमा कात्तिक २ गतेदेखि हल्कादेखि मध्यम र केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

मौसम विज्ञान विभागले आफूहरु मातहतको निकायले गरेको पूर्वानुमान समयमा किसानसम्म लैजान सकेको भए सावधानी अपनाउन सकिने र क्षति कम हुने सक्ने दाबी गरेको छ।

तर कृषि विभाग भने मौसम पूर्वानुमान परिपक्व नरहेको बताउँछ। विभागका प्रवक्ता पौडेलले भने, ‘मौसमको पूर्वानुमान त आएको थियो तर त्यो त्यति परिपक्व देखिएन। पूर्वानुमान गरेभन्दा भारी र लगातारको वर्षा भएको देखिन्छ।’

यस्तै मौसम पूर्वानुमानको जानकारी किसानसम्म लैजाने ‘डेडिकेटेड’ व्यवस्था पनि आफूहरुसँग नरहेको उनले बताए । प्रवक्ता पौडेलले भने, ‘मौसम विभागले यति ठूलो पानी पर्छ भनेर भनेको थिएन। त्यो बेला दसैँ पनि भयो। सबै किसानलाई हामीले सूचना दिन सक्ने अवस्था पनि रहँदैन। एसएमएसबाट हामीले अरु प्राविधिक सूचना पठाउने गरेका छौँ। तर मौसमी जानकारी किसानलाई अहिलेसम्म पठाउने गरिएको छैन।’

काटाईको मुखैमा आएका बेला हावाहुरीसँगै परेको पानीको कारण चितवनमा ढलेको धानबाली ।

मौसमकाे जानकारी किसानसम्म लैजाने ‘डेडिकेटेड च्यानल’ नरहेको बताउँदै उनले भने, ‘अहिलेको घटनाले त्यसको आवश्यकता खड्कियो। उपलब्ध मौसमको जानकारी किसानसम्म पुर्‍याउन सकेको अवस्थामा पूर्वतयारी गर्न सकिन्थ्यो। क्षति केही कम हुने थियो।’

मनसुन सकिएलगत्तै परेको आरीघोप्टे वर्षा र त्यसले विशेषगरी बालीमा गरेको क्षतिलाई जलवायु परिवर्तनको प्रभावका रुपमा विश्लेषण गरी सोहीअनुसारको व्यवस्था गरिनु पर्ने माग तथा सुझाव विज्ञहरुले दिइरहेका छन्।

जलाधार, कृषि–जलवायु तथा जलवायु परिवर्तनका अध्येताहरु अनिश्चित खालको मौसमी गतिविधि जलवायु परिवर्तनको प्रत्यक्ष–अप्रत्यक्ष प्रभावले भएको बताउँछन्। उनीहरुले मौसम पूर्वानुमानको प्रविधिलाई थप परिष्कृत गरी त्यसबाट आएका जानकारी किसानसम्म चाँडोभन्दा चाँडो लैजान सकेमात्रै आउँदा दिनमा हुनसक्ने विपदलाई कम गर्न सकिने बताएका छन्।

जलधार अध्येता मधुकर उपाध्यायले भनेका छन्, ‘हामीले मौसमी तथा जलवायुजन्य अतिशय विषम घटनाहरुले कृषिमा गरेको क्षतिलाई अरु विपदसरह व्यवहार गर्नुपर्छ। किसानलाई मौसमको जानकारी स्थान विशेषअनुसार चाँडोभन्दा चाँडो पुर्‍याउने र पूर्वानुमान प्रविधि या क्षमतालाई पनि विस्तार गर्नुपर्ने हुन्छ।’

कात्तिक ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्