भर्खरै हात पर्‍यो, रंगीन, आकर्षक
एउटा विशिष्ट पार्टीको
सेक्सी घोषणापत्र
जसमा धेरै नै दूरदर्शी कुरा छन्

जस्तै–
टाढ–टाढा सिंगापुर देखिने भ्यू टावर
गधाले तान्ने बुलेट रेल
संसारभर जोड्ने कागजका हवाइजहाज
विदेशीले बनाइदिने गाउँ डुवाउने पुल
मृत बच्चा तैरिरहेको डुवानमा चलाउने
पानीजहाज
विदेशीको प्रयोगशालाजस्तो अस्पताल
आमजनता कतै खुसी भएकी भनेर चियो गर्ने
सिसिटिभी हाल्ने योजना
कामको साटो सित्तैमा इन्टरनेट वितरण
युवा निर्यात गर्ने अचम्मको रोजगार योजना

न्यून करमा आयात हुने चकलेट र मदिरा
पार्टीका न्यायमूर्तिलाई
र १० लाख घुस ख्वाएर भएको पुलिसलाई दिने
पुरस्कार र तक्मा
‘मृत्यु दर्ता प्रमाणपत्र’ दिँदा पैसा माग्ने राष्ट्र सेवकको
पदोन्नति
लेखापरीक्षण नहुने सेना
भ्याटमा दर्ता भएका विद्यालय
र भजन गाउने लठैत उत्पादन केन्द्र
यानीकि विश्वविद्यालय बनाउने ‘परियोजना’
यी सबै कुरालाई मानेर
आमजनतालाई भोटको अपिल पनि गरिएको छ।

यो प्राइभेट पार्टीको केन्द्रको कुनामा
मूल हो कि मृत विधान छ–
जसको प्राकथनमा लेखिएको
‘मूल सिद्धान्त र उद्देश्य’ को सट्टामा
‘भूल सिद्धान्त र उद्देश्य’ छापिएको छ
‘आमनागरिक’ लेखिएको ठाउँमा
पानको पिकले रातो भएको छ
अध्यक्ष तथा केन्द्रीय नेताहरूको ‘सोच’
लेखेको ठाउँमा
मुसाले काटेर पढ्न कठिन भएको छ।

‘निश्वार्थ राष्ट्र प्रेम’ लेखिएको पंक्तिमा
जुत्ताको डामले हिलाम्मे भएको छ
जनतालाई भोकै नपार्ने लेख्नुपर्नेमा
भूलवश ‘भोकै मार्ने’ छापिएको छ
खै कसरी हो
‘सचेत नागरिक’ लेखिएको ठाउँमा
२–४ वटा हा हा हा को ‘ईमोजी’ छापिएको छ।

र २ दिन भोकभोकै लाम बसेर पाएको
नागरिकता लिएर भोलि फेरि लामबद्ध भएर
जनताले हामीलाई नै भोट हाल्छन् भनेर
अध्यक्षज्यू मख्ख हुनुहुन्छ।

जे होस् घोषणापत्र र जनता दुवै
उस्तै – उस्तै छन् यो देशमा।

बैशाख २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्