- चट्याङका कारण क्षति पुगेपछि वालिङ र भीरकोट नगरपालिकाको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सञ्चालनमा आयो।
- विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार सेवाग्राही प्रभावित भए, जसमा घर, स्वास्थ्य, सञ्चार र अन्य सेवाहरू छन्।
- बुटवल पावर कम्पनीको ट्रान्सफर्मर मर्मत तीन साताभन्दा बढी लाग्ने देखिएपछि वैकल्पिक उपाय अपनाइएको हो।
काठमाडौं – स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सञ्चालनमा आएको छ। चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि लामो समय सम्म विद्युत अवरुद्ध हुन पुगेको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाइ जानकारी गराएसँगै सञ्चालनका लागि कर्मचारीहरु खटिएका थिए। आइतबार विहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए । उक्त सूचना मन्त्रालयमा प्राप्त भएसँगै सचिवालयले सक्रिय पहल गरेको थियो।
उक्त क्षेत्रमा बुटवल पावर कम्पनीको वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ। कम्पनीको ट्रान्सफर्मर मर्मत गर्न तीन साताभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपाय अपनाइएको हो। समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको हेटौंडास्थित कार्यालयबाट ३ एमभीए क्षमताको ट्रान्सफर्मर झिकाएर स्याङ्जामा जडान गरिएको छ। कम्पनीको ट्रान्सफर्मर पूर्ण रूपमा मर्मत नहुन्जेलसम्मका लागि प्राधिकरणले उक्त ट्रान्सफर्मर भाडामा उपलब्ध गराएको हो।
स्थानीयबासी, नेपाल विद्युत प्राधिकरणका सम्बन्धित शाखाका कर्मचारी तथा बुटवल पावर कम्पनीका प्राविधिक टोलीको सक्रियतासँगै आपतकालीन अवस्थामा छोटो अवधिमै अन्तरनिकायबीच समन्वय गरी सेवा सुचारु भएको हो।
भर्खरै
लोकप्रिय
