भेडा-च्याङ्ग्राको बथान पछ्याउँदै २८ दिन पैदल (तस्बिर तथा भिडियोसहित)

मुस्ताङको लेते बजारमा भेडा–च्याङ्ग्राको बथान । मुगु, डोल्पा तथा माथिल्लो मुस्ताङबाट स्थानीय व्यापारी तथा बाहिरबाट गएका मौसमी व्यापारीले यी भेडा–च्याङ्ग्रा हिँडाएर म्याग्दीको बेनीसम्म लैजान्छन् । त्यहाँबाट गाडीमा राखेर पोखरा–काठमाडौँसहितका प्रमुख शहरमा लगेर बिक्री गरिन्छ । तस्बिर : टंक ढकाल

मुस्ताङ- भेडा-च्याङ्ग्रासहित मुस्ताङको लेते बजार आइपुग्न मुगुका सुजुवाल ऐडीसहितको टोलीलाई २८ दिन लाग्यो। २६ वर्षका ऐडीसहितको टोलीलाई २०० भेडा-च्याङ्ग्रासहित म्याग्दीको बेनी पुग्न अझै पाँच दिन हिँड्नु पर्ने थियो।

उनीहरू मुगु हुँदै माथिल्लो मुस्ताङ पार गरेर लेते पुग्दा गत बिहीबार (असाेज ६ गते) थाकिसकेका थिए। तर, दसैँका लागि सहरी क्षेत्रमा बिक्री गर्ने भेडा-च्याङ्ग्राको बथानसहित ठाउँ-ठाउँमा बास बस्दै उनीहरू हिँडेका हिँड्यै थिए।

‘बिहानमा बाटो पार गर्न अलि सजिलो हुन्छ। गाडी कम हुन्छन्, भेडा-च्याङ्ग्राको बथान अघि बढाउन सजिलो हुन्छ’, मुगुको मुगुम कार्मारोङ गाउँपालिका पुलु गाउँका सुजुवाल ऐडीले भने, ‘दिउँसो हुँदै गएपछि गाडी थपिन्छन्, भेडा-च्याङ्ग्रा तितरवितर हुन्छन्।’

ऐडी आफैँ पनि गाउँमा हिमाली बाख्रा, भेडा तथा च्याङ्ग्रा पाल्छन्। गाउँमा अरूले पालेका च्याङ्ग्रा पनि किनेर दसैँको छेको पारेर उनीसहितको टोली सहर झर्दै थियो।

‘भीरको बाटो आउँदा गाह्रो त हुन्छ’, ऐडीले भने, ‘तर जीविका चलाउन यो बाहेक अर्को विकल्प हामीसँग छैन। दसैँ पनि नभनी भेडा-च्याङ्ग्राको बथान खेदाउँदै सहर झरेका छौँ।’

बेनीबाट पोखरासम्म गाडीमा जाने योजना रहेको बताएका ऐडीले गाउँबाट २०० वटा भेडा-च्याङ्ग्रा खेदाएर ल्याएका थिए। एउटालाई बढीमा ३५ हजारसम्म परेको उनले जानकारी दिए। ‘पोखरामा बेचेर घर फर्किने तयारी छ। त्यहाँ एउटालाई ३५-३६ हजारसम्ममा बेच्न सकिन्छ होला’, ऐडीले भने।

मुगुका सुजुवाल ऐडी, उनी २८ दिन हिँडेर मुस्ताङको लेते बजार पुगेका हुन्। पोखरा लगेर भेडा-च्याङ्ग्रा बिक्री गर्ने उनले बताए। तस्बिर : टंक ढकाल

हिमाली क्षेत्रमा हुर्काएका भेडा-च्याङ्ग्रा तल्लो क्षेत्रका बासिन्दाको दसैँका लागि लिएर आएका ऐडी भने दसैँमा घर पुग्ने छैनन्। ‘भएका सबै च्याङ्ग्रा बेचेर घर फर्किँदा दसैँ सकिन्छ होला’, तीन सन्तान र श्रीमती घर छोडेर आएका ऐडीले लेते बजारको बाटोमा गाडीका कारण वितरिएका च्याङ्ग्राको हुल मिलाउने प्रयास गर्दै भने, ‘जीविकाको आधार नै यही भएकाले दसैँभन्दा ठूलो च्याङ्ग्रा व्यापारलाई मान्नु परेको छ।’

मुस्ताङ हुँदै पोखरा-काठमाडौँसम्म पुग्ने भेडा-च्याङ्ग्रा डोल्पा, मुगु र मुस्ताङका किसानले पालेका हुन्। दसैँ नजिकिँदै जाँदा ऐडीजस्ता स्थानीयसँगै केही व्यापारीहरू बाहिरबाट पनि जान्छन् भेडा-च्याङ्ग्रा किन्‍न।

विगत २५ वर्षदेखि भेडा-च्याङ्ग्राको व्यापार गर्दै आएका भक्तपुरको सल्लाघारीका पशुपति सिलवाल मुस्ताङको जोमसोम बजारमा भेटिए। उनी २५९ वटा च्याङ्ग्रा किनेर काठमाडौँ ल्याउने तयारीमा थिए। उनी १९ वर्षको हुँदादेखि भेडा-च्याङ्ग्राको व्यापारमा लागेका हुन्।

‘भूकम्प अघिसम्म तातोपानी खासाबाट भेडा-च्याङ्ग्रा खरिद गरिन्थ्यो’, सिलवालले भने, ‘चीनले २०७२ को भूकम्पपछि बन्द गर्‍यो, त्यसयता दसैँको बेला मुस्ताङ आएर उपल्लो मुस्ताङ, डोल्पा तथा मुगुबाट स्थानीयले ल्याएका च्याङ्ग्रा किन्‍ने गरेको छु।’

हेर्नूहाेस् भिडियाे:

डोल्पाका साथीसँग किनेको सबै च्याङ्ग्रा काठमाडौँ लगेर बेच्ने उनले बताए। प्रति च्याङ्ग्रा ३५-३६ हजार रुपैयाँमा किनेको बताएका उनले काठमाडौँमा प्रतिकिलो (जिउँदो) १२-१३ सय रुपैयाँमा बिक्री गर्ने जानकारी दिए। च्याङ्ग्रा २५-२६ देखि ४०-४२ किलोसम्म रहेको सिलवालले बताए।

म्याग्दीको बेनीसम्म भेडाको बथानसँगै हिँडेर पुग्ने र त्यसपछि गाडीमा काठमाडौँ लगेर बेच्ने उनले बताए। ‘दुःखको व्यापार हो’, सिलवालले भने, ‘पहिलेदेखि गर्दै आएकाले मुनाफा त्यति नहुने भए पनि दसैँ आएपछि रोकिन सकिँदो रैनछ।’

जाेमसाेम बजारमा पशुपति सिलवाल।

खासा क्षेत्रबाट भेडा-च्याङ्ग्रा ल्याउन नजिक पर्ने हुँदा साउनदेखि पुससम्म नै व्यापार हुने गरेको उनले बताए। तर पछिल्लो केही वर्षदेखि मुस्ताङ वा त्योभन्दा माथिल्लो क्षेत्रमा पुग्नु पर्ने हुँदा दसैँताका मात्रै आफ्नो व्यवसाय सीमित भएको सिलवालले बताए।

‘यो पटक माथिल्लो क्षेत्रबाट ६-७ हजारमात्रै भेडा-च्याङ्ग्रा झरेका छन्’, दोलखाको जुगल-२ गोल्चे नाम्फाका स्थानीय बासिन्दा सिलवालले भने, ‘विगतको तुलनामा थोरै मात्रै काठमाडौँ पुग्ने छन्। त्यसैले बिक्रीमा समस्या नहोला भन्ने आश छ।’

सुजुवाल ऐडी र पशुपति सिलवाल जस्ता स्थानीय तथा बाहिरबाट गएका भेडा-च्याङ्ग्रा व्यापारी दसैँलाई आयको प्रमुख समयका रूपमा लिन्छन्। अरूले चाडबाड मनाइँरहँदा उनीहरू भने लामो पैदलयात्रा र त्यसपछि मोलमोलाइसहितको भेडा-च्याङ्ग्रा व्यापारमा व्यस्त हुन्छन्।

मुस्ताङको जोमसोम तथा लेते बजार क्षेत्रमा देखिएका भेडा-च्याङ्ग्रा बथानका केही तस्बिरहरू:

 

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्