कसरी चल्दै छन् साहित्यिक महोत्सवहरू?

कसरी चल्दै छन् साहित्यिक महोत्सवहरू?
+
-
देशसञ्चार AI सारांश
  • दुई साहित्यिक महोत्सवहरू एक मितिमा सञ्चालन हुँदासमेत स्थानीयस्तरमा महोत्सवहरूको विकास सुखद भएको देखिन्छ।
  • महोत्सवहरूको सञ्चालन र व्यवस्थापनमा आर्थिक स्रोतको खोजी र चिनजान मुख्य चुनौतीहरू रहेको पाइन्छ।
  • डिजिटल प्लेटफर्ममा दर्शकमध्ये उपस्थिति कम भए पनि साझा प्रयासले महोत्सवले निरन्तरता पाइरहेका छन्।

गत जेठको अन्तिम साता एकै मितिमा उपत्याकाभित्र २ साहित्यिक महोत्सव चल्यो। ललितपुरमा ‘कलिङ लिट्रेचर फेष्टिबल’ र काठमाडौँमा ‘हिमालयन लिटरेचर फेष्टिबल एण्ड राइटर्स वर्कशप- २०२६’। दुवै साहित्यिक महोत्सवमा स्वदेशी तथा विदेशी लेखक साहित्यकारको भव्य जमघट थियो। ठूला होटलमा आयोजित यी महोत्सव हेर्दा अत्यन्तै खर्चालु देखिन्थ्यो र पनि, आयोजना सम्पन्न भएका छन्। साहित्यिक महोत्सवको डेढ दशक इतिहासमा संघीय राजधानीदेखि स्थानीयस्तरमा पुग्नु सुखद् हो तर चलेको कसरी छ? साहित्यिक महोत्सव संख्यात्मक हिसाबले बढ्दो छ तर यसले कसरी निरन्तरता पाइरहेको छ?

सन् २०११ देखि सुरु भएको ‘नेपाल लिट्रेचर फेष्टबल’ सन् २०२५ मा रोकियो। देशकै पहिलो र ठूलो साहित्यिक महोत्सव अचानक रोकिँदा साहित्यिकवृत्तमा सोधीखोजी भयो, किन रोकियो? आम जनचासोको विषय बन्यो। साहित्यिक महोत्सव सञ्चालनका अनेक दु:ख र चुनौती रहेको एक अनौपचारिक भेटघाटमा फाइन प्रिन्टका सिइओ नीरज भारीले भनेका थिए। उनका अनुसार लिट्रेचर फेष्टिबल चलाउन गाह्रो छ।

चल्तीका साहित्यिक महोत्सवलाई निरन्तरता दिन नसकिरहेको बेला पनि साहित्यिक महोत्सव कसरी चलिरहेको छ त?

‘इलाम साहित्यिक महोत्सव’का प्रुमख तथा कवि लेखक प्रकाश थाम्सुहाङ साथीभाइ, शुभचिन्तक र कवि लेखकको साथ सहयोगले चलेको बताउँछन्। २०७६ सालदेखि सुरु भएको ‘इलाम साहित्यिक महोत्सव’ गर्दै आएका थाम्सुहाङ साहित्यिक महोत्सवका लागि दाताहरू फ्याट्ट सकारात्मक हुन नसक्ने बताउँछन्।

इलाममा बसेर कविता र निबन्धमा कलम चलाउँदै आएका थाम्सुहाङ स्थानीय कला साहित्य र संस्कृतिलाई प्रवर्द्धन गर्नका लागि भनेर ‘नगर साहित्यिक प्रतिष्ठान’सँग जोडिए। इलाम साहित्य समाज विशुद्ध साहित्य संस्था हो। यसमा स्वदेश तथा विदेशमा बस्ने लेखक शुभचिन्तकहरु जोडिएका छन्। दुवैको सहकार्यमा उनले पहिलो वर्षको महोत्सव गरेका थिए। यत्तिका बाबजुद् पनि थाम्सुहाङ भन्छन्, ‘इलाम साहित्यिक महोत्सवको निरन्तरता निजी क्षेत्रको सहयोग र लेखक प्रकाशककै हुटहुटीले सम्भव भएको हो ।’

कलिङ लिट्रेचर फेष्टिबलमा सहभागीहरू

कलिङ लिट्रेचर फेष्टिबलको चौँथो संस्करण तथा काठमाडौँ उत्सव प्रमुख बाबु त्रिपाठी हालै सामाजिक सञ्जालमा पाँचौँ संस्करणको मिति सार्वजनिक गरिसकेका छन् । कोभिड-१९ का कारण एक वर्ष रोकिए पनि कलिङले निरन्तरता पाइरहेको रहस्य त्रिपाठीले सुनाए। ‘हाम्रो फेष्टिबलको निरन्तरता भनेकै कन्टेन्ट हो, कन्टेन्टले नै कन्टिन्युटी पाउन सकेको हो,’ त्रिपाठीले भने, ‘हामीले नेपाल भारतको कला सांस्कृतिलाई जोड्ने माध्यमका रुपमा मात्रै नलिएर विभिन्न स्पोन्सरलाई नेपालमा लगानी गर्ने वातारण बनाउनु पनि हो।’

टीकापुर साहित्य समाजको आयोजनामा विगत तीन वर्षदेखि साहित्यिक महोत्सव गर्दै आएका समाजका अध्यक्ष तथा मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाहले साहित्य महोत्सव सञ्चालनको सबभन्दा ठूलो चुनौती आर्थिक स्रोत देख्छन्। आर्थिक स्रोतको माध्यम निजी क्षेत्र रहे पनि सहज नभएको बताउने शाहका अनुसार साहित्य महोत्सव अझै लगानीकर्तालाई प्रतिफल दिने स्थापित ब्रान्ड बन्न सकेको छैन। कलिङ लिट्रेचर फेष्टिबलमा ‘महोत्सवको चुनौती’ शेसनमा वक्ता शाहले चिनजानकै आधारमा महोत्सवहरु चलिरहेको बताएका थिए। ‘महोत्सवहरूको सबैभन्दा ठूलो समस्या नै आर्थिक स्रोतको व्यवस्थापन हो,’ शाहले भने, ‘महोत्सव कुन स्तरमा गर्ने, कति प्रभावकारी बनाउने र प्रचारप्रसारलाई कुन हदसम्म लैजाने भन्ने सबै कुरा आर्थिक स्रोतसँग जोडिएको हुन्छ।’

आर्थिक स्रोत के हो त ?

हिमालयन लिट्रेचर फेष्टिबलको दोस्रो संस्करणमा प्रायोजकका रूपमा ‘एनसेल फाउन्डेशन’ जोडिएको थियो। त्यसैगरी कलिङमा ‘सुर्य नेपाल’लगायतका विभिन्न कर्पोरेट कम्पनी जोडिएका थिए। नेपाल लिट्रेचर फेष्टिबलका विभिन्न संस्करणहरूमा ‘आइएमी’ र ‘एनसेल’ले सहकार्य थियो। कुनै पनि निजी क्षेत्रले समाजमा केही योगदान दिनु पर्ने मान्यताका आधारमा विज्ञापन प्रायोजकहरु साहित्यिक महोत्सवहरु जोडिन पुगेका छन्। तर कर्पोरेटले साहित्यिक महोत्सव खोज्दै गएर सम्भव भएको भने होइन्। शाहका अनुसार कर्पोरेट अर्थात निजी क्षेत्र चिनजानका आधारमा जोडिएको उनको बुझाइ छ। ‘कर्पोरेट आफ्नो उत्पादनको बजार बिस्तारका लागि साहित्यिक महोत्सव खोज्दै अझै आउन सकेका छैनन्। बरु साहित्यिक महोत्सव गर्दै छौँ केही आर्थिक सहयोग गरिदिनुस् भन्नु पर्छ, कि कुनै पहुँचवाला वा नेतालाई भनसुन गर्न लगाउनु पर्छ,’ शाहले भने।

टीकापुर साहित्यिक महोत्सवको दृष्य

त्रिपाठीका अनुसार नेपालमा कुनै पनि कार्यक्रम गर्न आयोजक नै भागदौड गर्ने परिपाटी रहेको छ। तर दिनेश गौतम अलि फरक कुरा सुनाउँछन्। सुर्खेतमा हरेक वर्ष हुने कर्णाली उत्सव (कुरा कर्नाली)का निर्देशक गौतम भन्छन्, ‘स्पोन्सर जुटाउन पहिलको तुलनामा अहिले सहज भएको छ। साहित्यिक महोत्सवबारे बुझाउन सकेर होला अहिले स्थानीय सरकार र प्रदेश सरकारले सम्झिने गरेका छन्। उहाँहरुकै स्पोन्सरमा उहाँकै विषयलाई केन्द्रमा राखेर शेसनहरु तयार गर्न सकियो भने कुनै पनि सेक्टर जोडिन सक्ने रहेछन्।’

गौतम थप्छन्, ‘हामीले कर्णाली उत्सवलाई साहित्य महोत्सव भनेनौँ, नीति महोत्सवका रूपमा सुरु गरेका हौँ। कर्णालीका मुद्दामा राष्ट्रियस्तरको बहस होस् र कर्णालीका मानिसले आफ्ना कुरा भन्न र सुन्न पाऊन् भन्ने उद्देश्य थियो।’

उनका अनुसार सुरुआती वर्षमा प्रचारप्रसारमा खर्च गर्नुपरे पनि पछिल्ला दुई वर्षमा त्यस्तो आवश्यकता नपरेको बताए। ‘पहिले प्रचारमा राम्रै खर्च गर्नुपथ्र्यो। पछिल्ला दुई वर्षमा हामीले प्रचारप्रसारमा एक रुपैयाँ पनि खर्च गरेका छैनौँ। कार्यक्रम नोटिसेबल भयो भने मानिसलाई बोलाउन धेरै प्रचार गरिरहनुपर्दैन,’ उनले भने।

यद्यपि, महोत्सवहरूका लागि अर्को ठूलो चुनौती नयाँपन कायम राख्नु भएको गौतमको भनाई छ। उनका अनुसार हरेक संस्करणमा नयाँ विषय, नयाँ ढाँचा र नयाँ अनुभव दिन नसकिए महोत्सवप्रतिको आकर्षण विस्तारै घट्दै जान सक्छ।

गौतम अहिले आर्थिक जुटाउन भन्दा पनि कन्टेन्टको चिन्ता सुनाउँछन् ‘अब मलाई सबभन्दा ठूलो चुनौती कसरी नयाँ गर्ने भन्ने लागिरहेको छ। नयाँ संस्करणमा केही नयाँ फिचर थप्न सकेनौँ भने महोत्सवको क्रेज र आकर्षण कमजोर हुँदै जान्छ भन्ने लाग्छ,’ उनले भने।

काठमाडौँभन्दा बाहिर साहित्यिक महोत्सव गर्न सबैभन्दा बढी चुनौती देख्छन् शाह। मोफसलमा हुने साहित्यिक महोत्सवमा राष्ट्रिय स्तरका ख्याति प्राप्त अतिथि ल्याउनुको चुनौती हवाई यात्रा मान्छन् उनी। भन्छन्, ‘स्थानीयस्तरमा महोत्सव गर्दा केही चर्चित अनुहार ल्याउनै पर्छ। ती पाहुनालाई बोलाउँदा हवाइ यात्राको व्यवस्थापन अनिवार्य गर्नु पर्छ। त्यसो हुँदा खर्च बढ्छ। त्यो खर्चका लागि कसै न कसैसँग हारगुहार गर्नु पर्छ,’ लेखक शाह भन्छन्, ‘हामीले चिनजानका आधारमा मात्रै महोत्सव गर्न सकिएको हो।’

थाम्सुहाङ पनि स्थानीयस्तरमा महोत्सव गर्न धेरै चुनौती यात्राकै देख्छन्। हवाइ टिकट महङ्गो र भूगोलको हिसाबले बस यात्रा जोखिम भएकाले अतिथिलाई सहज र छिटो छरितोका लागि हवाइ यात्रा बाध्ये जस्तै ठान्छन्। तर उनी आशाबादी सुनिए, ‘हवाइ यात्रामा बुद्ध एयरको सहयोग हुन्थेन भने टाढाका अतिथि ल्याउन साह्रै गाह्रो हुन्थ्यो।’

‘केन्द्रमा जस्तो सजिलो छैन, मोफसलमा साहित्यिक महोत्सव गर्न। यात्रामा नै चुनौती छ,’ शाह थप्छन्, ‘राजधानीबाहिर साहित्यिक गतिविधि विस्तार गर्नु आवश्यक भए पनि त्यसमा थप चुनौती छ। सुदूरपश्चिमजस्तो क्षेत्रमा कार्यक्रम आयोजना गर्दा भौगोलिक दूरीकै कारण खर्च थप बढ्छ।’

स्थानीय स्तरमा हुने महोत्सवमा स्थानीय स्रष्टा समेटेर मात्रै राष्ट्रियस्तरको महोत्सव असम्भव हुने बताउँछन् दिनेश गौतम। फेष्टिबललाई निरन्तरता दिन ‘नोटिसेबल कन्टेन्ट’ मा काम गर्नै पर्ने बताउँछन्। ‘मोफसलमा साहित्यिक महोत्सव प्रभावकारी बनाउन परम्परागत कन्टेन्टबाट माथि उठ्नु पर्ने समय आयो । साथै फेष्टिबल व्यवस्थापनमा पनि केही सुधार ल्याउन अनिवार्य छ।’

‘समाजमा केही नयाँ गर्न दबाब पनि स्थानीयस्तरमा हुने भएकाले केन्द्रमा काम गरिरहेका केही नयाँ अनुहार ल्याउनै पर्छ। त्यसको व्यवस्थापनमा बढी खर्च हुनु स्वभाविक रहेको बताउँछन् उनी।

हिमालयन लिट्रेचर फेष्टिबल

२०७६ सालमा सुरु भएको कर्णाली उत्सवको उद्देश्यनै कर्णालीमै बसेर राष्ट्रिय मुद्दामा बहस गर्ने र कर्णालीका विषयलाई राष्ट्रिय विमर्शमा ल्याउने रहेको उनले बताए।
आर्थिक चुनौती र महोत्सवको दिगोपनलाई बढाव दिन सरकारको पहल हुनु पर्ने बताउँछन् लेखक तथा पत्रकार योगेश ढकाल। कलिङ लिट्रेचर फेष्टिबलमा वक्ताका रुपमा बोलेका ढकालले राज्य र निजी क्षेत्रको भूमिकालाई मुख्य रूपमा औंल्याएका थिए। उनका अनुसार संसारभर यस्ता महोत्सवहरूलाई ‘सफ्टपावर’का रूपमा हेरिन्छ र राज्यले त्यसमा लगानी गर्ने अभ्यास छ।

‘यो केवल साहित्यिक कार्यक्रम होइन, एउटा सफ्टपावर हो। जियोपोलिटिकली पनि र समाजभित्र विभिन्न समुदायलाई जोड्ने माध्यमका रूपमा पनि यसको महत्त्व छ। त्यसैले राज्यले यसमा लगानी गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भने।

ढकालले नेपाल पर्यटना बोर्डजस्ता निकायबाट केही सहयोग हुने गरे पनि पर्याप्त नरहेको टिप्पणी गरे। उनले निजी क्षेत्रलाई पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरूमा लगानी गर्न आकर्षित गर्नुपर्ने बताए।

‘कर्पोरेट हाउसहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्ने रकममध्ये साहित्यिक महोत्सवमा कति लगानी गर्न सक्छन् भन्ने विषयमा कहीँ न कहीँ दबाब सिर्जना गर्न सक्यौँ भने हुन्छ कि भन्ने लाग्छ,’ उनले भने। ढकालले महोत्सवहरूको अवधारणा र संरचनामाथि पनि पुनर्विचार आवश्यक रहेको बताए। उनले भने, ‘हामीले महोत्सवका अवधारणामाथि पनि प्रश्न गर्नुपर्छ। संरचनात्मक सोचमा केही परिवर्तन आवश्यक छ जस्तो लाग्छ।’

अहिले चलिरहेको साहित्यिक महोत्सव निजी क्षेत्रको सहयोगमा मात्रै सम्भव देख्दैनन्। उनका अनुसार मुलुक संघीयतामा नगएको भए तीन तहको सरकार नभएको भए यस्ता कार्यक्रम हुन गाह्रो थियो। भए पनि केन्द्रमा सीमित हुन्थ्यो। ‘साहित्यिक महोत्सव जिल्ला र पालिकास्तरमा पुग्नुमा स्थानीय र प्रदेश सरकारको भूमिका छ। आफ्नो क्षेत्रको कला साहित्यलाई प्रवर्द्धन गर्नका लागि धेरथोर बजेट नीतिगत रुपमा छुट्याउन थालेसँगै मेला महोत्सव सम्भव भएको हो,’

निजी क्षेत्रले लगानी त्यहाँ गर्छ जहाँ मास हुन्छ। तर लिट्रेचर फेष्टिबलमा मास अत्यन्तै न्युन देखिन्छन्। काठमाडौँमा चलिरहेका फेष्टिबल हेर्दा देशीविदेशी लेखक-पत्रकारको सहभागिता रहन्छ तर दर्शकको उपस्थिति न्युन। विदेशी लेखकहरू एकाध झुन्ड विद्यार्थीसँग गफिन बाध्य। फेष्टिबल भव्य र चल्तीका होटलमा गर्दा पनि पाठक तथा दर्शकको संख्या अपेक्षित मात्रामा हुँदैनन्। एकाध दर्शक अघि वक्ता माइकमा बोल्छन्। अनि आयोजकले हलुका गरी भनेको सुनिन्छ— ‘कुर्चीमा बस्ने दर्शक नभएर के भयो र फेसबुक लाइभ र युट्युबमा हेर्छन्।’

त्रिपाठीका अनुसार साहित्यिक महोत्सवको प्रभाव केवल कार्यक्रममा प्रत्यक्ष उपस्थित हुने दर्शकमा सीमित हुँदैन। डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत कार्यक्रम हेर्नेहरू पनि महोत्सवका दर्शक नै हुन्। तर प्रत्यक्ष उपस्थित भएर कार्यक्रम अनुभव गर्नुको उत्साह, ऊर्जा र प्रभाव फरक हुने उनको भनाइ छ। उनका अनुसार वक्ताका विचार र प्रस्तुति पनि आमनेसामने सुन्दा बढी प्रभावकारी महसुस हुन्छन्, जसले आयोजक र सहभागी दुवैलाई सन्तुष्टि दिन्छ।

तर साहित्यिक गतिविधिमा अपेक्षाअनुसार दर्शकको उपस्थिति किन हुन सकेको छैन? के मानिसहरू यस्ता कार्यक्रममा सहभागी हुन हिचकिचाउँछन्, वा यसको पछाडि कमजोर बन्दै गएको पठन संस्कृतिको प्रभाव छ?

रोचक पक्ष के छ भने राजनीतिक नेता वा चर्चित कलाकार सहभागी हुने सत्रमा भने दर्शकको उल्लेख्य भीड देखिन्छ। यसले साहित्यिक कार्यक्रमप्रतिको आकर्षण र सहभागिताबारे थप प्रश्न उठाउँछ।

यसै सन्दर्भमा शाहले एउटा अनुभव सुनाए। ‘नेपालमा हुने औद्योगिक मेला–महोत्सवहरूमा दर्शक टिकट काटेर कार्यक्रम हेर्न पुग्छन्, तर साहित्यिक महोत्सवमा निःशुल्क प्रवेश हुँदा पनि अपेक्षाअनुसार उपस्थिति देखिँदैन,’ उनले भने। ‘औद्योगिक महोत्सवमा कुनै लोकप्रिय कलाकारको प्रस्तुति हुँदा तीन–चार हजार मानिस सहजै भेला हुन्छन्। तर हामीले ठूलो लगानी र मेहनतका साथ साहित्यिक महोत्सव आयोजना गर्दा पनि एक–दुई सय दर्शक जुटाउन कहिलेकाहीँ कठिन हुन्छ।’

उनको अनुभवले नेपालमा साहित्यिक गतिविधि र जनसहभागिताबीचको दूरी तथा पठन संस्कृतिसँग जोडिएका चुनौतीहरूलाई उजागर गर्छ।

गौतमका अनुसार साहित्यिक महोत्सवको निरन्तरता केवल आर्थिक स्रोतमा मात्र निर्भर हुँदैन, यसको सफलताका लागि सशक्त व्यवस्थापन र गुणस्तरीय सामग्री (कन्टेन्ट) पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। ‘साहित्यिक महोत्सवको निरन्तरतालाई आर्थिक पक्षले मात्रै रोक्छ जस्तो लाग्दैन। यसका सामग्री र व्यवस्थापन पक्षलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘अहिलेसम्म साहित्यिक महोत्सवहरू पैसाको बलमा भन्दा लेखक, प्रकाशक र साहित्यप्रेमीहरूको लगाव, प्रतिबद्धता र सक्रिय सहभागिताकै आधारमा अघि बढेका छन्।’

कवि थाम्सुहाङ पनि साहित्यिक महोत्सवको दीर्घायुमा साहित्यिक समुदायको भूमिकालाई निर्णायक मान्छन्। उनका अनुसार यस्ता महोत्सवले लेखक र कृतिलाई आम पाठकसम्म पुर्‍याउने प्रभावकारी सेतुको काम गर्ने भएकाले लेखक, प्रकाशक र साहित्यिक अनुरागीहरूको निरन्तर सक्रियताले नै यसको अस्तित्व र निरन्तरता सम्भव भएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…