फाइल तस्बिर। तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ  – हिउँद लागेसँगै काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै जाने संकेत देखिएको छ ।

छिमेकी देश भारतको उत्तरी क्षेत्रका किसानले धान भित्र्याएर पराल जलाइरहँदा त्यसबाट निस्किएको धुलो तथा धुँवा हावाको माध्यमबाट नेपाल प्रवेश गरिसकेको मौसमी गतिविधि नियालिरहेका विज्ञले बताएका छन् । तर वायु प्रदूषणको वास्तविक अवस्थाबारे जानकारी दिने सरकारी व्यवस्था भने लगभग काम नलाग्ने अवस्थामा छन् ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणको अवस्था नियमित निगरानी गर्नका लागि हावामा रहेको मसिना धुलोका कणको मात्राको विश्लेषण गरी सचेतनासहितको सूचना दिनका लागि मापनकेन्द्रहरू स्थापना गरेको छ ।

ती केन्द्रबाट प्राप्त सूचनाहरू एकीकृत रूपमा प्रदान गर्नका लागि वेबसाइट नै तोकिएको छ । तर वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको अवस्थामा पूर्वानुमानसहितको जानकारी दिने केन्द्रहरू भने अधिकांश रूपमा काम नलाग्ने अवस्थामा पुगेका छन् ।

वायुमण्डलमा धुलोका मसिना कण अर्थात् पिएम २.५ को मात्रालाई आधारमा मानेर वायु प्रदूषणको अवस्था निर्धारण गर्ने गरिएको छ । पिएम २.५ भनेको हावामा हुने २.५ माइक्रोमिटर व्यासका मसिना धुलोका कण हुन्, यी ठोस तथा रसायनको मिश्रित रूप हो ।

विशेषगरी पेट्रोल, डिजेल, तेल तथा काठ-दाउरासहित बाल्दा निस्कन्छन् । पिएम २.५ निकै मसिनो हुने हुँदा यो हानिकारक कण शरीरमा प्रवेश गरेर फोक्सोलाई गम्भीर रूपमा असर गर्न सक्ने र त्यसले स्वास्थ्यमा असरपर्ने हुन सक्छ ।

विभागका अनुसार देशभर २६ स्थानमा वायु प्रदूषणको अवस्था निगरानी गरी त्यसबारे जानकारी दिने केन्द्रहरू छन् । हाल त्यसमध्ये बढीमा सातवटा स्टेशनले मात्रै काम गरिरहेका छन् । अरु स्टेशनहरु छन्, तर सञ्चालनमा छैनन् ।

‘७-८ वटा केन्द्र बाहेक अरु मर्मत गर्न पर्ने अवस्थामा छन्’, वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले भने, ‘ती केन्द्र मर्मतका लागि कति समय तथा लागत लाग्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन ।’

वायु प्रदूषणको अवस्था निगरानी गर्ने केन्द्रहरूको मर्मत तथा तिनलाई क्रियाशील अवस्थामा ल्याउने काम प्राथमिकतामा भने रहेको उनले दाबी गरे । ‘हामीसँग बिग्रिएका केन्द्रहरूको अवस्था पहिल्याएर मर्मत गर्नका लागि आन्तरिक क्षमता छैन’, प्रवक्ता पौडेलले भने, ‘निजी क्षेत्रबाट सहयोग लिनुपर्ने हुँदा सार्वजनिक खरिद ऐन अनुसार प्रक्रियामा गएर काम गर्दा समय लाग्न सक्छ ।’

वायु प्रदूषण बारेको पूर्ण पूर्वानुमान प्रणाली आन्तरिक रूपमा व्यवस्था गर्न नसकिएकाले बाह्य क्षेत्र अर्थात वायु प्रदूषणको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकायहरूको सहयोग लिनुपर्ने विभागले जनाएको छ । सञ्चालनमा रहेका केही सीमित आन्तरिक केन्द्रसँगै समग्र अवस्थाको विश्लेषणका लागि विभागले पनि बाह्य स्रोतहरूलाई आधार बनाइरहेको हो ।

‘हामीले निगरानी गरिरहेका छौँ । सार्वजनिक रूपमा व्यक्त भएका चासोबारे जानकार छौँ’, विभागका प्रवक्ता पौडेलले भने, ‘भारतीय क्षेत्रबाट हावासँगै वहँदै आएका धुलोका कण काठमाडौँ उपत्यका आइपुगेको छैन । पश्चिम तराईका क्षेत्रमा प्रवेश गरेको देखिन्छ । हामीले निगरानी गरिरहेका छौँ ।’

काठमाडौँको कीर्तिपुरबाट देखिएको उपत्यकाको दृष्य । २०७९ कात्तिक १८ गते मध्य दिनमा यो तस्बिर खिच्दा काठमाडौँको वायुमण्डल धुम्मिएको अवस्थामा देखिएको हो । तस्बिर: सुलभ श्रेष्ठ/देश सञ्चार।

वातावरण विभागले निगरानी गरिरहेको दाबी गरे पनि आफ्नै संरचना मर्मतको अभावमा काम नलाग्ने हुँदा उदासिनताको पराकाष्ठा देखाएको छ । यसअघि पछिल्लोपटक वायु प्रदूषणलाई लिएर वातावरण विभागले २०७७ सालको चैतमा प्रेस विज्ञप्ति जारी गर्दा सर्वसाधारणलाई ‘वायु प्रदूषणबाट जोगिनका लागि विशेष सावधानी अपनाउन र वायु प्रदूषणको अवस्थाको थप जानकारीका लागि डब्लुडब्लुडब्लु डट पोलुसन डट जिओभी डट एनपी हेर्नुहुन’ अनुरोध गरेको थियो ।

अहिले त्यसरी सूचना निकाली सकेको छैन । तर सरकारका तर्फबाट सर्वसाधारणलाई वायु प्रदूषणबारे आधिकारिक जानकारी दिने संरचना देशभर रहेका २६ केन्द्र र त्यसबाट पाएका जानकारीहरुको एकीकृत वितरण प्रणालीसहितको वेबसाइट नै हो । वायु प्रदूषणलाई लिएर गम्भीर चिन्ता उत्पन्न भइसक्दा र वर्षा सकिएर वायु प्रदूषण गम्भीर समस्याका रूपमा देखिन सक्ने समय आइसक्दासमेत भएका संरचनाको मर्मत भएको छैन ।

वायु प्रदूषणको अवस्था र मापनकेन्द्रलाई लिएर चासो

भौगोलिक अवस्था, मौसमी प्रणाली तथा स्थानीय र क्षेत्रीय गतिविधिले वायु प्रदूषणको अवस्थालाई प्रभावित गर्ने गरेको छ । पछिल्ला केही वर्षदेखि हिउँदको समयमा काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरी क्षेत्रमा वायु प्रदूषण प्रमुख चिन्ताको विषय बन्दै गएको छ ।

त्यसमा जाडो यामको मौसमी अवस्था, स्थानीय रूपमा डढेलो, सवारी-कलकारखाना तथा कृषि उपजका नल-पराल एवम् फोहोर जलाउने सहितका गतिविधि तथा छिमेकी देशबाट हावाको माध्यम हुँदै बहेर आउने धुँवा तथा धुलोका कणहरू प्रदूषणका प्रमुख कारक हुन् ।

गएको असोज ३० गते ढिला गरी यो वर्षको मनसुन देशका सबै क्षेत्रबाट बाहिरिएको थियो । त्यसपछि पानी परेको छैन । जाडो बढ्ने क्रममा छ ।

यहिबेला भारतको पञ्जाब तथा हरियाणासहितका क्षेत्रका किसानले धान भित्र्याएर बाँकी रहेको पराल खेतमै जलाएका छन् । त्यसबाट निस्किएको धुँवा तथा खरानीसहितको धुलोका कणहरू हावाको माध्यमबाट नेपालको दक्षिणी क्षेत्रमा प्रवेश गरेको मौसमी गतिविधि तथा वायु प्रदूषित वायुको अवस्थाबारे निगरानी गर्दै आएको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले उल्लेख गरेका छन् ।

‘भारतमा जलाइएको परालबाट निस्किएको धुँवा तथा धुलोका कणसहित हावासँगै प्रवेश गर्दा नेपालको दक्षिणी क्षेत्रको वायु प्रदूषण खराब बनेको छ’, पोखरेलले ट्वीटरमा लेखेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार तत्काल पानी पर्ने मौसमी प्रणाली नरहेकाले वायु प्रदूषण बढ्दो क्रममा जाने सम्भावना छ ।

‘जाडो याममा तापक्रम इन्भर्जन हुन्छ, जसले गर्दा जमिनको सतह वरपर रहेको धूलोका कण वा धुँवा-धुलो वायुमण्डलको धेरै माथि जान पाउँदैन अर्थात् सतहबाट नजिकै जम्मा भएर बस्दा वायुको गुणस्तर कम हुन्छ’, मौसमविद श्रेष्ठले भने ।

काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थाले गर्दा वायु प्रदूषण बढाउन सहयोग गरेको विश्लेषण पनि गरिन्छ । वरपर डाँडाले घेरिएको र खाल्डोमा रहेको उपत्यकामा हिउँदमा वायु प्रदूषण पछिल्ला वर्षको प्रमुख समस्या बन्दै गएको छ । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार।

सामान्य अवस्थामा वायुमण्डलबाट जति उचाइमा गयो तापक्रम त्यति कम हुन्छ । तर तापक्रम इन्भर्जनले वायुमण्डलको जति माथि गयो तापक्रम उति बढ्ने गर्छ । जसका कारण वायुमण्डलमा बन्ने सतहले धुलोका कण तथा धुँवालाई माथि जान नदिइ रोकेर राख्छ । ‘हामी अहिले पोस्ट मनसुनको अवस्थामा छौँ, चिसो बढ्ने क्रममा छ’, मौसमविद श्रेष्ठले भने, ‘वायु प्रदूषण बढ्ने क्रममा रहँदा वायुमण्डलमा जम्मा भएको धुँवा-धुलो बढार्ने गरी हावा चल्ने, पखाल्ने गरी पानी पर्ने सम्भावना देखिएको छैन । आउँदा दिनमा थप सचेत बन्नुपर्ने देखिन्छ ।’

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाकी सिनियर डिभिजनल मेटेरियोलोजिष्ट डा. इन्दिरा कँडेलका अनुसार पोस्ट मनसुनमा कति वर्षा हुन सक्छ भन्ने आँकलन यकिन रुपमा गर्न सकिने अवस्था छैन । ‘यो अवधिमा पानी नै नपर्ने वा ठूलो मात्रामा पर्न सक्ने हुन्छ’, डा. कँडेलले भनिन्, ‘अहिलेसम्म ठूलो पानी पर्ने जस्तो देखिएको छैन । डिसेम्बरदेखिको तीन महिनालाई आँकलन गरी हिउँदे वर्षाको अवस्थाको पूर्वानुमान भने जारी गरिने छ ।’

त्यसपछि मात्रै हिउँदमा खडेरी तथा वर्षाको अवस्था के हुन्छ भन्न सकिने उनले बताइन् । तत्कालका लागि मौसमी गतिविधि वायु प्रदूषणलाई कम गर्ने खालको नदेखिएको उनको भनाइ छ ।

यसरी वायु प्रदूषणको जोखिम हिउँद सुरु हुँदा नै बढेका बेला भएका मापनकेन्द्रहरु भने काम नलाग्ने अवस्थामा हुनु र काम गरेका केन्द्रहरूको तथ्यांक पनि उपलब्ध नहुनु दुःखद् रहेको वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिक तथा काठमाडौँ इन्स्टिच्युड अफ अप्लाइड साइन्सेजका डिरेक्टर अफ इन्टरनेशनल रिलेसन्स वसन्त गिरीले ट्वीटरमा लेखेका छन्, ‘वायु प्रदूषण अत्यन्तै हानिकारक तहमा पुग्दै गरेको समयमा त्यसको तथ्यांक महत्वपूर्ण हुन्छ । भएका मापनकेन्द्र सञ्चालन गर्नुपर्‍यो र तथ्यांक सार्वजनिक रुपमा उपलब्ध हुनुपर्‍यो ।’

काठमाडौँ उपत्यकासहितका देशका विभिन्न क्षेत्रको वायुमण्डल केही दिनयता धुम्मिएको छ । यो क्रम जारी रहेमा अवस्था विकराल बन्ने देखिएको विज्ञले बताएका छन् ।

कात्तिक १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्