‘पग्लिरहेको स्वर्ग’ देखाउने हिउँ चितुवा र हिमाली भूगोलका तस्बिरहरू

टासी आर घलेले खिचेको हिउँ चितुवाको तस्बिर ।

काठमाडौँ- फाइन आर्टस्‌का विद्यार्थी उनिसिमस राई मनाङको सोचिएको भन्दा भिन्न भौगोलिक अवस्थिति बताउने तस्बिर नियालिरहेका थिए। २१ वर्षका राई र उनका साथी सम्राट जोशीले ललितपुरको झम्सिखेलस्थित ‘विण्डहर्स ग्यालरी’ को भित्तामा झुण्ड्याइएको त्यो तस्बिर हेर्दै थिए, जसमा पात बिहीन ठूलो रुख र बाँकी हिउँले ढाकिएको मैदान समेटिएको छ।

‘रमाइलो लाग्दैछ’, काठमाडौँ विश्वविद्यालयमा स्नातक अध्ययनरत राई र जोशीले भने, ‘तस्बिरहरू पेन्टिङजस्ता लाग्दै छन्।’

मनाङका स्थायी बासिन्दा संरक्षणकर्मी एवम् वन्यजन्तु फोटोग्राफर टाशी आर घेले विगत डेढ दशकभन्दा लामो समयमा खिचेका तस्बिरहरूको प्रदर्शनी ‘विण्डहर्स ग्यालरी’ मा शनिबार (मंसिर १०) देखि सुरु भएको छ।

मेल्टिङ प्याराडाइज अर्थात् पग्लिरहेको स्वर्ग नाम दिएर टासीले खिचेका हिउँ चितुवादेखि त्यसका आहारा प्रजाति, मनाङको भूगोल र त्यहाँको पारिस्थितिक प्रणालीका सम्भव भएसम्मका सम्पूर्ण पक्षका तस्बिर समेटर प्रदर्शन गरिएको छ।

प्रदर्शनी हल प्रवेश गर्नेबित्तिकै गंगपूर्ण तालका दुई तस्बिर छन्। काखमा रहेकी छोरीलाई एक महिलाले १५ वर्ष पहिले आफू सो क्षेत्रमा पुग्दाको अनुभव सुनाउँदै थिइन्।

प्रदर्शनी अवलोकन गर्दै गरेका फाइन आट्सका विद्यार्थी उनिसिमस राई र सम्राट जोशी ।

‘१५ वर्ष पहिले गंगपूर्ण ताल पुगेकी थिएँ’, नाम बताउन नचाहेकी ती महिलाले भनिन्, ‘मामाले खिचेको पछिल्लो तस्बिरमा ताल पुरिएको देख्दा नमिठो लागेको छ।’

एउटा तस्बिरमा नीलो पानी देखिने गंगपूर्ण ताल देखिन्छ। त्यसपछिको तस्बिरमा उही भूगोलमा छ, तर ताल छैन। ‘गत वर्ष (सन् २०२१) मनाङमा विगतमा अनुभव नगरिएको पानी पर्‍याे’, नागरिक वैज्ञानिक समेत रहेका फोटोग्राफर घलेले भने, ‘त्यसपछि पहिरो आयो, गंगपूर्ण ताल पुरियो। अहिले त्यहाँ ताल छैन, गेग्रान र बालुवा मात्रै देखिन्छ। हिमनदी पग्लिएर आएको पानी जम्दैन, बगेर जान्छ।’

वातावरणीय अवस्थामाथिको सामाजिक टिप्पणी

गंगपूर्ण तालका दुई तस्बिर छन्, जसले पहिरो अघि र पछिको अवस्था देखाउँ छन् ।

विश्वव्यापी तापक्रम वृद्धिका कारण पर्वतीय भूगोल तथा पारिस्थितिक प्रणालीमा पारेको प्रभावको उदहारणका रूपमा हाल विलय भएको गंगपूर्ण ताललाई प्रस्तुत गरिएको हो।

‘विश्वव्यापी ताक्रम वृद्धिले हाम्रो ग्रामीण समाजमा कस्तो असर पारेको छ भनेर देखाउनका लागि यो प्रदर्शनी गरिएको हो’, विण्डहर्स ग्यालरीका क्युरेटर उजेन नोर्बु गुरुङले भने, ‘गत वर्ष भीषण बाढी आयो, पहिरो आयो। त्यसले गंगपूर्ण ताल नै पुरियो, अहिले त्यो खोलाजस्तो भयो। वैज्ञानिकहरूले वर्षौँदेखि भन्दै आएको कुरा प्रमाणित भयो। त्यो ताल पारिस्थितिक प्रणाली थियो, त्यो गएपछि धेरै असर परेको छ।’

संरक्षणकर्मी–फोटोपत्रकार टासी आर घले।

संरक्षणकर्मी-फोटोग्राफर घले र क्युरेटर गुरुङ दुवै मनाङका हुन्। परिवर्तित जलवायुको सन्दर्शमा मनाङको वर्तमान वातावरणीय तथा पारिस्थितिक अवस्था, देखिएका असर तथा भविष्यमा आउन सक्ने जोखिमको चित्रण गर्नका लागि लामो समयदेखि संकलित तस्बिरहरूको प्रदर्शनी गरिएको उनीहरूको भनाइ छ।

‘अहिले के भइरहेको छ र हाम्रो पारिस्थितिक प्रणालीमा के-के छ भन्ने सम्पूर्ण देखाउन खोजिएको हो’, क्युरेटर गुरुङले भने, ‘मान्छेले मनाङभन्दा डाँडा, ताल हिउँ चितुवा मात्रै सोच्छन्, तिलिचो ताल सम्झिन्छन्। हामीले त्यहाँभित्र के बसिरहेका छन् भन्ने देखाउन खोजेका छौँ।’

सन् २०२१ मा आएको बाढी तथा पहिरोले गंगपूर्ण ताल पुरिएको छ।

प्रदर्शनमा केही ठूला र केही साना तस्बिरहरू राखिएका छन्। ‘मनाङ र मेरो फोटोग्राफीलाई हिउँ चितुवासँग बढी जोडिन्छ’, घलेले भने, ‘त्यहाँको सम्पूर्ण वातावरणीय र त्यसका सदस्यहरूको झल्को दिनका लागि साना फोटोहरू पनि राखिएका छन्, जसले पारिस्थितिक प्रणालीलाई सक्दो पूर्ण रूपमा प्रतिनिधित्व गरेका छन्।’

मनाङका फोटाहरूको प्रदर्शनी सम्भव हुनुमा क्युरेटर गुरुङको लगातारको झकझक्याइको भूमिका रहेको घलेले बताए।

क्युरेटर गुरुङका लागि फोटो प्रदर्शनी जलवायु परिवर्तनका कारण जोखिममा रहेको मनाङको वातावरणीय अवस्थामाथि आफूहरूको सामाजिक टिप्पणी हो।

उनले भने, ‘यो मनाङको हालको वातावरणीय अवस्था र त्यसको हालको परिणाम तथा भविष्यमा के हुन सक्छ भन्ने सन्दर्भमा यो प्रदर्शनी हाम्रो तर्फबाट सामाजिक टिप्पणी हो ।’

हालको वास्तविकता र जोखिमको सन्देश तस्बिरहरूले दिने अपेक्षा रहेको फोटोग्राफर घलेकाे बुझाइ छ।

‘पग्लिरहेको स्वर्ग’

फोटो प्रदर्शनीको नाम ‘मेल्टिङ प्याराडाइज’ अर्थात् पग्लिँदै गरेको स्वर्ग राखिएको छ। जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आइपिसिसी) ले पछिल्लो समय जारी गरेको प्रतिवेदनहरूमा विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु परिवर्तनको प्रभाव पर्वतीय क्षेत्रमा तुलनात्मक रूपमा बढी पर्ने उल्लेख गरेका छन्। सोही परिवेशमा प्रमाणका रूपमा तस्बिरहरूको प्रदर्शनी गरिएको हो।

‘जुनै पनि चिज हराएर जाँदैछ। हिमतालदेखि सबै कुरा हराउँदै छन्, त्यसलाई संरक्षण गर्ने सम्बन्धमा सचेतना जगाउनका लागि प्रमाणका रूपमा फोटाहरूलाई प्रदर्शन गर्न खोजिएको हो। हामीले वास्तविकता देखाउन खोजेका हौँ’, घलेले भने।

एक महिना (पुस १० गते) सम्म चल्ने प्रदर्शनीमार्फत् सम्भव भएसम्म सम्पूर्ण पक्षमा वातावरणीय रूपमा परेको प्रभाव, हालको अवस्था र भावी दिनमा आउन सक्ने जोखिमलाई मेल्टिङ प्याराडाइजका रूपमा प्रस्तुत गर्न खोजिएको आयोजक र फोटोग्राफरले जानकारी दिएका छन्।

मंसिर ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्