फ्लोरा अफ नेपालका प्रधान सम्पादक डा. वाट्सनसँगको अन्तर्वार्ता

नेपालका वनस्पतिको अध्ययन दुई दशकदेखि किन अड्किरहेको छ?

तस्बिर: टंक ढकाल। देशसञ्चार।

डा. मार्क एफ वाट्सन फ्लोरा अफ नेपालका प्रधान सम्पादक हुन्। बेलायतको रोयल बोटानिकल गार्डेन एडिनबरका वनस्पति विज्ञ डा. वाट्सनले नेपालका वनस्पतिहरूको विस्तृत विवरणसहितको जानकारी प्रकाशित गर्ने विगत दुई दशकभन्दा लामो समयदेखिको अभियान फ्लोरा अफ नेपालको नेतृत्व गर्दै आएका छन्। वनस्पतिहरूको वैज्ञानिक तथ्यसहितको विस्तृत विवरण नहुँदा अध्ययन अनुसन्धानमा समस्या भइरहेको परिवेशमा फ्लोरा अफ नेपाल सन् २००० को दशकमा सुरु भएको हो।

फ्लोरा अफ नेपालका प्रधान सम्पादक डा. वाट्सन। तस्बिर: टंक ढकाल। देशसञ्चार।

करिब ६५ सय वनस्पतिको विस्तृत विवरण १० भागमा प्रकाशित गर्ने र सो काम सन् २०२० सम्ममा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म मात्रै एक अंक प्रकाशित भएको छ। नेपाल एकेडेमी अफ साइन्स (नास्ट), रोयल बोटानिकल गार्डेन एडिनबर, टोकियो विश्वविद्यालय, वनस्पति विभाग, वन तथा वातारण मन्त्रालय र त्रिभूवन विश्वविद्यालय अन्तर्गतको वनस्पति केन्द्रिय विभागको सहकार्यमा यो प्रयास थालिएको हो। हामीले फ्लोरा अफ नेपालका प्रधान सम्पादक डा. वाट्सनसँग केही हप्ता पहिले उनी नेपाल आएका बेला अभियानको वर्तनमा अवस्था, योजना र यसको महत्वबारे कुराकारनी गरेका थियौँ। सो कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

१) नेपालमा वनस्पतिको अनुसन्धानको अवस्थालाई लिएर तपाईँको स्मृति कस्तो छ?

२० वर्ष पहिले जब म पहिलोपटक म नेपाल आएको थिएँ, वनस्पति विभाग पुस्ता परिवर्तन र त्यहाँ केही खालीपनको अवस्थामा थियो। केही वनस्पति विज्ञहरु अवकासको क्रममा थिए, केही अवकास प्राप्त भएकाहरुले स्वतन्त्र रुपमा काम गरिरहेका थिए।

तर युवाहरु आइरहेको अवस्था थिएन। विभागले केही साना पुस्तिका प्रकाशित गरिरहेको थियो। तर वनस्पतिको विस्तृत विवरणसहितको वैज्ञानिक पुस्तिका थिएन। त्यसका लागि सहकार्य सुरु भयो र फ्लोरा अफ नेपाल सुरु भएको हो।

२) नेपालका वनस्पतिमाथिको अध्ययन सम्बन्धी तीन देश (नेपाल, बेलायत र जापान) बीचको सहकार्य कसरी सम्भव भयो?

वनस्पति अध्ययनलाई लिएर केही पछि रहेको अवस्थामा तीन देशले हात मिलाएका हुन्। सन् २००० देखि २०११ सम्म हामीले क्षमता विकासका लागि तालिम सहितका काम गरेका थियौँ। वनस्पति विज्ञानमा नयाँ पुस्तालाई आकर्षित गर्नका लागि ती तालिम र अभियान केही सहयोगी भए। नास्ट, डिपिआर र त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा भएका तालिममा हामीले १८ वनस्पति विज्ञलाई प्रशिक्षित गरेका थियौँ।

संगीता राजभण्डारी, भास्कर अधिकारी, राम चन्द्र पौडेलसहित तालिमका सहभागी थिए। उनीहरुको भूमिका नेपालका वनस्पतिको अध्ययनमा महत्वपूर्ण रह्यो।

३) फ्लोरा अफ नेपालको पछिल्लो अवस्था के छ?

फ्लोरा अफ नेपालको पहिलो अंक प्रकाशित भएपछि अवस्था केही परिवर्तन भयो। वनस्पतिमा काम गर्न नेपालमा त्यति सहज छैन। तर काम जारी रह्यो । वैज्ञानिक ज्ञान विकासमा काम केन्द्रित गरियो, जुन ग्राउण्ड लेभलमा महत्वपूर्ण थियो।

तर पछिल्लो पाँच वर्षमा डिपिआरमा अवस्था परिवर्तन भयो। लगातार वनस्पति अध्ययनलाई सहयोग गर्ने महानिर्देशकहरु आए। मलाई लाग्छ राजदेव यादवदेखि त्यसको सुरुवात भयो। उनीहरुले युवालाई समूहमा ल्याउन थाले । युवा वनस्पति विज्ञहरु अध्ययनमा गम्भीर छन्। उनीहरुले चेक लिस्ट प्रकाशित गरिरहेका छन्। यस्तै वनस्पतिको गणना र विस्तृत जानकारीका लागि पनि सहयोग गरिरहेका छन्।

पाँच वर्ष पहिले धेरै मानिस फिल्डमा जाँदैन थिए, अहिले जान थालेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा पनि सहकार्य गरिरहेका छन्। अहिले अध्ययनमा राम्रो काम भइरहेको देखिएको छ।

४) यसको अर्थ वनस्पति अध्ययन सही दिशामा छ?

नेपालमा वनस्पति अध्ययनको भविष्य राम्रो हुने तर्फ अघि बढिरहेको छ भन्दा मलाई निकै खुशी लागेको छ । यो सहकार्यको परिणाम हो। फ्लोरा अफ थाइल्याण्ड पनि सहकार्यको उपज थियो। त्यहाँ अन्तर्राष्ट्रिय वनस्पति विज्ञले सम्पादनको जिम्मा लिएका थिए, तर अहिले थाइल्याण्डकै नेतृत्वमा काम भइरहेको छ।

नेपालमा पनि त्यही हुनु पर्छ, जस्तो कि अहिले म प्रधान सम्पादक छु, अबको ९ वर्ष जतिमा जब म अवकाश लिन्छु त्यो बेला नेपालकै वनस्पति विज्ञले प्रधान सम्पादकको जिम्मा लिन सक्ने हुनु पर्छ । हामी अहिले त्यसतर्फ काम गरिरहेका छौँ। युवा वैज्ञानिकहरुले फिल्डमा गएर काम गरिरहेको र नतिजा आइरहेको देख्दा आशावादी पनि छु।

५) फ्लोरा अफ नेपाल खासमा के हो?

फ्लोरा अफ नेपाल वनस्पतिको विस्तृत वैज्ञानिक तथ्यांक हो। त्यो तथ्यांक जलवायु मोडलिंगसहितका विभिन्न अध्ययनका लागि प्रयोग गर्न सकिन्छ। यो विश्वसनीय जानकारीहरुको संग्रह हो, नेपालका वनस्पतिहरूको।

वनस्पतिको अध्ययनका लागि समय लाग्छ। किनकी हरेक वनस्पति समूह र त्यसका सदस्यहरुको विस्तृत विवरण उल्लेख गरिनु पर्छ। त्यसलाई विश्वव्यापी सन्दर्भमा पनि उल्लेख गर्नु पर्छ।

६) नेपाल र विस्तारित विश्वका लागि वनस्पतिहरुको विस्तृत विवरण संकलन गर्नु किन महत्वपूर्ण छ?

हामीसँग अहिले नेपालमा पाइने वनस्पतिका बारेमा सतही जानकारी मात्रै छ। तर ती वनस्पतिको विस्तृत विवरण छैन। मानिसले तिनलाई पहिचान गर्नका लागि सहयोगी जानकारी छैन। त्यसैले कोही फिल्डमा जान्छ र नयाँ वनस्पति देख्छ भने त्यसलाई पहिचान गर्न मुस्किल हुन्छ।

यस्तै स्थानीय रुपमा वनस्पतिका बारेमा रहेका जानकारीलाई वैज्ञानिक सन्दर्भमा जोड्न पनि सकिएको छैन। फ्लोरा अफ नेपाल वनस्पतिको पहिचान गरी त्यसको वैज्ञानिक नाम राखेर अध्ययनका लागि सहयोग गर्छ।

वैज्ञानिक नाम भएपछि ती वनस्पतिका सम्बन्धमा विश्वमा प्रकाशित भएका जानकारीहरु जेड्न सकिन्छ । यसले वनस्पतिबारे संवाद गर्न सहयोग गर्छ।

नेपाल जैविकविविधताको केन्द्र अर्थात हटस्पट हो। यहाँ हिमालयन र बर्मिज जैविकविविधता हटस्पट छ। र प्यान हिमालयन क्षेत्रमा करिब २० हजारदेखि २१ हजार प्रजातिका वनस्पति छन् । मध्यमा रहेको नेपालमा करिब सात हजार वनस्पति पाइन्छ। त्यसले गर्दा यहाँ हुने वनस्पति सम्बन्धी अध्ययन महत्वपूर्ण छ।

नेपाल सानो देश होला, तर जैविक विविधतामा धनी छ। यहाँको विविधतालाई अन्तर्राष्ट्रिय फ्रेमवर्कमा राखिनु विश्वका लागि महत्वपूर्ण छ। तर अहिलेसम्म वनस्पतिको विस्तृत जानकारी नरहेका सीमित देशमा पर्छ नेपाल, जुन ज्ञानको ग्याप हो। त्यसलाई सम्बोधन गर्नका लागि फ्लोरा अफ नेपाल महत्वपूर्ण छ।

७) तपाईँले नेपालमा काम गरेको २० वर्ष भन्दा बढी भइसक्यो, यस क्रममा आइपरेका चुनौति के के थिए?

जनशक्ति। अध्ययन, त्यसलाई तथ्यांकका रुपमा स्थापित गर्न सीपयुक्त जनशक्ति चाहिन्छ। सम्पादनको काम गर्न जान्ने पनि चाहिन्छ, जुन थप कठिन छ।

अधिकांश अध्ययन गरिरहेका वनस्पति विज्ञहरू सरकारी क्षेत्रका छन्। उनीहरूले एक क्षेत्रमा विज्ञता हाँसिल गर्छन्, तर सरुवा भएर अन्त जान्छन्। यसले गर्दा जनशक्तिलाई टिकाइ राख्नु र त्यसलाई निरन्तर गराउनु प्रमुख चुनौति हो।

यस्तै भावी सम्पादकको खोजी गर्नु पनि प्रमुख चुनौति हो जस्तो लाग्छ। जनशक्ति एकै ठाउँमा रहे भने उनीहरूलाई सम्पादन तर्फ लैजान सकिन्छ। तर यो हालको सरकारी संरचनाका लागि चुनाैती हो। तर नयाँ पुस्तामा विश्वास छ, कि कोही भावी सम्पादकका रुपमा आउने छन्।

यसैगरी लगानी अर्को प्रमुख समस्या हो। लामो समय लाग्ने वनस्पति अध्ययनका लागि लगानी आइरहनु पर्छ र त्यसलाई कायम गर्न कठिन छ।

८) अध्ययनका लागि केही भौगोलिक सीमितता छन्?

पक्कै पनि हामीसँग भौगोलिक सीमितता छ। तराई र तल्लो पहाडको तुलनामा माथिल्लो पहाड तथा हिमाली क्षेत्रमा अध्ययनका लागि जान सजिलो हुँदैन।

तर पछिल्लो ५० वर्षको इतिहास हेर्ने हो भने अधिकांश विदेशी तथा उनीहरुसँग गएका नेपालीहरुको हिमाली क्षेत्रमा अध्ययन गरेको देखिन्छ। विदेशीहरूका लागि हिमाली क्षेत्र पहिलो रोजाइ हुने भएकाले हुन सक्छ। यस्तै पहाडी क्षेत्रमा पनि केही अध्ययन भएका छन्।

वनस्पति अध्ययनमा पछि परेको भनेको तराई तथा चुरे क्षेत्र हो। अहिले डिपिआरले सो क्षेत्रलाई चासोमा राखेको छ।

९) फ्लोरा अफ नेपालले कहिले पूर्णता पाउँछ?

त्यो भन्न सकिने अवस्था छैन। लामो समय तथा स्रोत लाग्ने काम हो। तर अहिलेकै जस्तो स्रोत र जाँगर कायम रह्यो भने आउँदो वर्ष यो समयमा अर्को अंक प्रकाशित हुन सक्ने छ। सँगै साना चेकलिस्ट तथा पुस्तिकाहरू पनि निकाल्न सकिने छ।

आशावादी हुने ठाउँ छ, तर सबै अंक कहिले सकिन्छ भन्न सकिँदैन। काम निरन्तर भयो र स्रोत आइरह्यो भने चाँडै नै गर्न सकिन्छ।

१०) वनस्पति र जलवायु परिवर्तनबारे कुरा गरौँ, हिमाली क्षेत्रका वनस्पति र जलवायु परिवर्तनबीचको सम्बन्ध के छ वा त्यहाँ प्रभाव देखिएको छ?

हाम्रो अध्ययन सीधा रुपमा जलवायु परिवर्तनसँग सम्बन्धित छैन। तर हाम्रो तथ्यांकहरु जलवायु मोडलिंगमा प्रयोग गर्न सकिन्छ। हिमाली क्षेत्रको भौगोलिक अवस्थाका कारण मोडलिंगका सम्बन्धमा यकिन हुन पनि कठिन छ।

तर हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावका केही संकेतहरु देखिएका भने छन्। रुखहरू माथि सरेको देखिएको छ। हाम्रो अध्ययनले जलवायु परिवर्तन अध्ययनका लागि सहयोग गर्न सक्छ। त्यसका लागि पनि फ्लोरा अफ नेपाल सम्पन्न हुनु पर्छ।

 

 

 

मंसिर २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्