हरेक पुस १६ गते खास गरी नेपाली कांग्रेसका संस्थागतभन्दा केही नेताहरूले निजी रूपमा बिपी कोइरालाको मेलमिलाप नीतिको कर्मकाण्डी व्याख्या गर्ने गरेको पाइन्छ।

नेपालको स्वतन्त्र र सार्वभौम हैसियत सुनिश्चित गर्न राष्ट्रिय या राष्ट्रवादी शक्तिका रूपमा संवैधानिक राजसंस्था र जनताको इच्छा, आकांक्षा र उनीहरूको प्रतिनिधित्वमा आधारित शासन व्यवस्था या प्रजातन्त्रको शक्तिका रूपमा नेपाली कांग्रेसबीच सहकार्यको दूरदर्शी सोच राखेर कोइराला गणेशमान सिंहसहित आफ्ना सहयोगीहरूसँग भारतकाे आठ वर्षको स्वनिर्वासन समाप्त गरी ४६ वर्षअघि पुस १६ का दिन नेपाल फर्केका थिए।

भारतमा सिक्किम विलयलाई नेपालका लागि अपसकुन मान्दै दलहरूका प्रतिनिधि लेन्डुप दोर्जे तथा चोग्यालबीचको मतभेद बाहिरबाट नेपालमा पनि यही शैलीमा सल्काउन सकिन्छ भन्ने विश्लेषण र मौलिक आधार थियो मेलमिलाप नीतिको।

त्यसको पुनरावृति भयो नेपालमा २०६२/०६३ मा। बिपीको भौतिक निधन उनको स्वेदेश आगमनको ६ वर्षपछि भएपनि उनकै भाइ तथा कांग्रेसका अध्यक्ष गिरिजाप्रसाद कोइरालको नेतृत्वमा उनको राजनीतिक दर्शन र मेलमिलाप नीतिको हत्या भएको हो २०६२/०६३ मा।

कस्तो बिडम्बना, जुन शक्तिबाट बिपीले नेपालको अस्तित्वमा संकट देखेर त्यसलाई बचाउने सिद्धान्तका रूपमा मेलमिलाप नीति अपनाए तिनै शान्तिको आडमा कान्छा भाइले नेपालको आन्तरिक राजनीति त्यही शक्तिलाई बुझाए। माओवादी त्यो षड्यन्त्रमा भारतीय गोटी बन्यो भने कांग्रेसले राजनीतिक शिखण्डीको भुमिका खेल्न रुचायो।

गगन थापा र विश्वप्रकाश जस्ता युवा नेताले मेलमिलापको अवसरमा लामो कर्मकाण्डी वक्तव्य निकाले त्यो अवधारणाको कुव्याख्याका साथ। बिपीको अवशानपछि राजनीतिमा आएका उनीहरू, जन्म र पुस्ताका  कारण। तर, इतिहास नबुझ्नु कमजोरी हो भने नियोजित तरिकाले बङ्ग्याउनु अपराध हो।

बिपीका एकमात्र जिवित उतराधिकारी कृष्णप्रसाद भट्टराईले कांग्रेससँग सम्बन्ध विच्छेद गरे। बिपी दर्शन छोडी ‘आयातीत’ गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता कांग्रेसले अपनाएबापत। राजा ज्ञानेन्द्रले परिचालित गोटीहरूले सत्ता कब्जागरी बाह्य षड्यन्त्रमा अनि नेपाली जनताको अनुमोदन नलिइ राजसंस्था हटाउँदा पनि नेपाल छोडेनन्। राजाले मुलुकको इतिहास र सार्वभौम हैसियतको प्रतिनिधित्व गरे भने भट्टराईले प्रजातन्त्र, बिपीले वकालत गरेको राष्ट्रियताको। दुईवटाको घाँटी रेटियो त्यसैले मुलुक र प्रजातन्त्रको भविष्य जिवितै रह्यो।

राजनीतिक संस्कारबाट हटेर माओवादीको ‘बी टिम’ बन्दा नेपाली कांग्रेसले अग्रगामी बनेको दाबी गर्न सक्छ, तर ऊ बिपीको मेलमिलाप नीतिको अनुयायी बन्न सक्दैन। कांग्रेस इतिहासको रछ्यानलाई आफ्नो गन्तव्य बनाउँदै छ।

भट्टराईको अनुयायी मान्ने शेरबहादुर देउवाले अझैपनि बिपीको मेलमिलाप नीति कांग्रेसका लागि केवल अर्थहिन कर्मकाण्डी हो भन्ने स्पष्ट पार्न या त्यो नीतिको सान्दर्भिकता सही अर्थमा स्थापित गर्दै राजनितिक भुलसुधार गर्नेतर्फ लाग्न सक्नुपर्छ।

पुस १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्