- नियमावली पारित हुँदा विपक्षी दलहरूले बैठकमा नाराबाजी र अवरोध गरे भने संसदलाई पेलेर अघि बढाइएको थियो।
- सभामुख डोलप्रसाद अरियालले विपक्षको पुन: छलफलको माग अस्वीकार गर्दै सत्ता-पक्षीय समर्थनले नियमावली अनुमोदन गराएका थिए।
- विपक्षी दलहरूले सदस्यहरूको विशेष अधिकारको व्यवस्थाको विरोधमा चर्को असन्तुष्टि जनाउँदै सर्वसहमति खोज्नुपर्ने माग राखे।
काठमाडौ-विपक्षी दलहरूको नाराबाजी र संसद अवरोधका बीच नियमावली पारित भएको छ। आइतबार रातिसम्म बसेको प्रतिनिधि सभाको बैठकले विपक्षी दलहरूको असहमति हुँदाहुँदै प्रतिनिधि सभा नियमावली २०८३ स्वीकृत गरेको हो।
मस्यौदा नियमावलीका के प्रावधानहरूप्रति विपक्षी दल कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले गम्भीर असहमति दर्ज गरेका थिए। उनीहरुले मस्यौदालाई पुन: समितिमै फर्काएर छलफल गरिनुपर्ने माग राखे पनि सत्तापक्षीय रास्वपाको चाहना बमोजिम सभामुख डोलप्रसाद अरियालले संसद अघि बढाएका हुन्।
आइतबार साँझ बसेको पहिलो बैठकमा अवरोध र नाराबाजीका बीच नियमावली पारित गराउन नसकेपछि बैठक स्थगित भएको थियो। १५ मिनेटका लागि स्थगित भएको बैठक पुन बसेपछि विपक्षी दलहरूले बेलमा पुगेर नाराबाजी गरे पनि सभामुख अर्यालले जबरजस्ती नियमावली पारित भएको घोषणा गरेका हुन्।
प्रतिनिधि सभाका सदस्यहरु लाई विशेष अधिकार दिने गरी गरिएको नियमावलीको नियम २५९ को व्यवस्थाप्रति विपक्षी दलहरूले चर्को असन्तुष्टि जनाएका थिए। सामान्यतया संसद्लाई नियमन र व्यवस्थित गर्ने नियमावली सर्वसम्मतिमा पारित गर्ने गरिन्छ।
यदि नियमावलीको विषयवस्तुमा सर्वसहमति हुन नसकेमा प्रक्रियामा भए पनि सर्वसहमति खोजिने संसदीय अभ्यास विपरीत सभामुख अर्यालले विपक्षलाई पेलेर अघि बढेका हुन्।
तस्विरहरु: बर्षा शाह, देशसञ्चार


भर्खरै
लोकप्रिय
