
नागरिकता प्रमाणपत्र राज्यविहीन नहुनुको सबभन्दा ठूलो प्रमाण हो। राज्यविहिन नहुनु विश्वका कुनैपनि मुलकमा जन्मेका या रहेबसेका व्यक्तिहरुको अधिकार हो। नागरिकता प्रमाणपत्र व्यक्तिको सर्वाधिक महत्त्वपूर्ण पहिचान हो। त्यो पहिचानकै आधारमा उसले राज्यको संरक्षण र नागरिकका रुपमा मौलिक र अन्य महत्त्वपूर्ण हक र अधिकार उपभोग गर्न पाउँछ, निर्बाध रुपमा। र, उसले आफ्नो राज्यप्रति केही मौलिक उत्तरदायित्व र कर्तव्य निर्वाह गर्ने अपेक्षा गरिन्छ।
परम्परा र मान्यताअनुसार जनसेवा र राष्ट्र सेवाको सर्वाधिक महत्वपूर्ण विधा हो- राजनीति। औचित्यपूर्ण निषेध या नियमन सहित विभिन्न श्रेणीका नागरिकहरुलाई राजनीतिमा लाग्न प्रोत्साहित गरिन्छ, हरेक मुलकमा आ-आफ्नै पृष्ठभूमिमा।
नेपालमा नागरिकता यदाकदा सीमावारिपारिका व्यक्तिहरुको कुत्सित अभ्यासमा लागेको र यता आएर विदेशमा श्रमिकका रुपमा जान अन्य देशका नागरिकहरुले पनि यहाँ नागरिकता खरीद गरी जाने गरेकाले विवादमा आउने गरेको हुँदा नागरिकतालाई राजनीतिक मुद्दा बनाई थोकमा वितरण गर्ने दलहरुको अपराधका कारण विवादित र राजनीतिक मुद्दा बन्दै आएको छ।
नेपालमा जन्मेका, हुर्केका र मुलुकलाई अपनाएकाहरु नागरिकताबाट बञ्चित हुनु हुँदैन र त्यसका लागि स्पष्ट कानून र पारदर्शी संयन्त्र तथा प्रसाशनिक अभ्यास अनि पारदर्शिता भएमा, त्यो समस्या बन्दैन। रवि लामिछाने प्रसंगले यो विषयलाई अझै सहज, पारदर्शी र स्पष्ट बनाउनुपर्ने आवश्यकताका रुपमा अर्थ्याएको छ।
रवि लामिछानेले यो गल्तीबाट सिकेर पूर्ण जिम्मेवारीका साथ नेपाली नागरिकता लिनु श्रेयस्कर कदम हुने छ। उपप्रधानमन्त्री या पार्टी अध्यक्ष बन्नुभन्दा नेपाली नागरिक बन्नु बढी जिम्मेवारीको काम हो। यो सन्देश सबैले ग्रहण गरेमा नेपाली नागरिकता सम्मानित हुने छ।
राजनीतिमा देशप्रेम र मुलुकप्रतिको समर्पण आवश्य छ। नेपालमा र नेपालीलाई विदेशी या कुनै पनि मञ्चमा होच्याउन नचुक्नेहरुमा मुलुकको छवि ओराल्न उद्यत पेशेवर राजनीति तथा एनजीओकर्मी नै चर्काे रुपमा नागरिकता आफन्तलाई भिडाउन लागिपरेका अनेकौँ उदाहरण छन् मुलुकमा। विदेशीको खुल्ला दलाली, नागरिकताको आम व्यापारी तथा नेपालीहरुको हत्याहिंसामा संलग्न व्यक्तिहरुलाई बिपी कोइरालाले स्थापना गरेको पार्टीले राष्ट्रपति पदमा अनौपचारिक रुपमा नै भएपनि नाम प्रसारित गर्नु नागरिकता र नागरिक कर्म तथा दायित्वप्रतिकै अफाप हो।
रवि लामिछाने प्रकरमा केही हदसम्म उनको लापरवाही र हेपाहा प्रवृत्ति दोषी छ, जसलाई सर्वोच्चले वस्तुनिष्ठ र न्यायिक तरिकाबाट बाहिर ल्याएको छ। एउटा नजिर स्थापित गरेको छ।
तर, निर्वाचन आयोगदेखि प्रधानमन्त्री प्रचण्ड, एमाले नेता खासगरी केपी ओलीले आफ्नो तत्कालको राजनीतिक प्रयोजनका लागि लामिछानेकै पदचिन्हलाई अनुमोदन गरेको अवस्था पनि हो यो।
रवि लामिछानेले यो गल्तीबाट सिकेर पूर्ण जिम्मेवारीका साथ नेपाली नागरिकता लिनु श्रेयस्कर कदम हुने छ। उपप्रधानमन्त्री या पार्टी अध्यक्ष बन्नुभन्दा नेपाली नागरिक बन्नु बढी जिम्मेवारीको काम हो। यो सन्देश सबैले ग्रहण गरेमा नेपाली नागरिकता सम्मानित हुने छ।