काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न नरहेको दाबी गरेका छन्।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगीमा संलग्न लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको थियो।
जवाफमा प्रधानमन्त्री दाहालले लामिछाने ठगीका कही-कतै सहभागी नभएको र उनकाविरुद्ध अनुसन्धान सकिएपछि मात्रै उजुरी परेको बताए। ‘उहाँ सहकारीको सञ्चालक, लेखा, ऋण समिति, कही पनि रहनुभएको छैन। अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ जोडिनुभएको छैन’, रविको बचाउनमा प्रधानमन्त्रीले अगाडि भने, ‘सुरुमा सुर्दशन सहकारी पीडितले उजुरी दिँदा कसैको नाम किटिएको थिएन। असोज १८ गते १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। ४ जना पक्राउ परेका छन्। बाँकी खोजीमा छन्। मुल उजुरी परेको ६ महिनापछि कास्की जिल्लामा रविसहित १८ जनालाई उजुरी दिइएको थियो। पूरक उजुरी दिन सकिन्छ। त्यसमा रवि संलग्न रहेको कुनै प्रमाण पेश गरिएको छैन। यस्तो उजुरी दर्ता गर्न उपयुक्त छैन। भनेर प्रहरी गर्न मानेन।’
प्रधानमन्त्री दाहालले रविको नाममा प्रवाह भएको ऋण चुक्ता भइसकेको सदनलाई बताए। उनले भने, ‘उनको नाममा भएको ऋण चुक्ता भएकाले अनुसन्धान गर्नुपर्ने निर्णय प्रहरीले गरेको छ। यो निर्णय कांग्रेस सरकारमै भएको बेलामै भएको हो।’
प्रधानमन्त्री दाहालले लामिछानेमाथि विपक्षी कांग्रेसले राजनीति गरेको आरोप पनि लगाए। संसद नै अवरोध गर्ने गरी लामिछानेमाथि प्रश्न उठाउनुभन्दा अर्को महत्त्वको कुनै विषयलाई सदनमा छलफलको विषय बनाउन दाहालको आग्रह थियो।
‘यस्तो विषयलाई संसद नै चल्न नदिने गरी रोक्नु कांग्रेसले आवश्यक छैन। आफ्नो अर्को पार्टी भन्दिनँ, कमजोरी भए उहाँमाथि पनि कारवाही हुन्छ’, दाहालले अगाडि भने, ‘यो विषयलाई राजनीतिकरण नगर्न आग्रह गर्दछु। कांग्रेस जस्तो अनुभवि पार्टीले अरु विषयलाई बहसमा ल्याउन आग्रह गर्दछु। अब सदन चलाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकार सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै काखा र पाखा गरी कारवाही नहुने उल्लेख गरे।
‘सरकारले सुशासन कायम गर्ने कुरामा सम्झौता हुँदैन। मैंले सरकारको नेतृत्व गरेपछि ठूला काण्डको छानबिन अघि बढेको यसलाई अघि अघि बढाइन्छ। कसैलाई काखा कसैलाई पाखा गरेको छैन। दोषी जो सुकै होस्, कारबाहीको दायरामा रहिन्छ’, दाहालले भने।
मंगलबार नै एमाले अध्यक्ष केपी ओलीले पनि लामिछाने निर्दोष रहेको दाबी गरेका थिए।
भर्खरै
लोकप्रिय
