केपी ओलीको अहंकारले निम्त्याएको भयानक दुर्घटना

केपी ओलीको अहंकारले निम्त्याएको भयानक दुर्घटना
+
-

अहंकारको आकार कति सुक्ष्म तर कति विराट हुन्छ भन्ने उदाहरणका लागि प्रधानमन्त्री केपी ओलीका हरेक अभिव्यक्ति र क्रियाकलाप पर्याप्त छन्। यसअघिका वक्तव्य र गतिविधिमात्र होइन, १९ जनाको ज्यान जाने रक्तकुण्डपछि सोमबार मध्यरातमा दिएको वक्तव्यमा पनि उनको त्यो अहंकार प्रस्टै देखिन्छ। रगतको आहालपछि पनि संवैधानिक संरचनाको सुरक्षाका क्रममा अप्रिय स्थिति निम्तिएको भन्दै उनले जेनजी आन्दोलनकारीसँग चेतावनीको भाषा बोलेका छन्। देशको घाउमा क्षतिपूर्ति र उपचारखर्चको आश्वासन दिएर भर्ने प्रयास गरेका छन्।

केपी ओलामात्र होइन, बर्बर सत्ताका अर्का सारथी कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिपक्षीको सिटमा विराजमान प्रचण्ड पनि अहंकारका भीमकाय अवतारबाहेक केही होइनन्। नयाँ पुस्ताको आकांक्षा, सोच र उडानलाई बुझ्नसक्ने सानो पनि क्षमता उनीहरूमा छैन। नयाँ पुस्ताको कल्पना, आवश्यकता र यात्रालाई महसुस गर्नसक्ने क्षमता ओली सरकार र उनका सहयोगीहरूको हुन्थ्यो भने सोमबार यो तहको रक्तपात देशमा मच्चिने थिएन।

नेतृत्वका लागि ज्ञानभन्दा पनि ठूलो गुण समानुभूति र विवेक हो। ज्ञान नेतृत्वले आवश्यकताअनुसार सापटी पनि लिनसक्ला तर समानुभूति र विवेक हृदयको अन्तर्यमा हुनुपर्छ। समानुभूति र विवेकको विउ हृदयमा भयो भने मात्र त्यसलाई फैल्याउन र बढाउन सकिन्छ। प्रधानमन्त्री ओली, सभापति देउवा र अध्यक्ष प्रचण्डमा समानुभूति र विवेकको विउ छैन। मनोविज्ञानको सामान्य परीक्षणले यसको पुष्टि भइहाल्छ। यसका लागि अनेक माथापच्ची र तर्कवितर्क गरिरहनु पर्दैन। समानुभूति र विवेकको विउ पनि नभएको मानिस हाडमासुको पुतलामात्र हो।

बिहीबार ओली सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो। ओली, अपराधका अर्का सारथी पृथ्वी सुब्बा गुरुङमात्र होइन, एमाले र सरकारमा रहेका सबै सानाठूला नामहरू यसको समर्थनमा उत्रिए। एक्सले सञ्चारमन्त्रालयमा पठाएको इमेलमा उच्च भ्रष्टाचार भएको नेपालजस्तो मुलुकमा दर्ता हुन आउँदिन भनेर उल्लेख गरेको छ। मेटा र एक्सजस्ता कम्पनीहरूसँग डिल गर्न ओली सरकार र उनका सूचनाप्रविधि विज्ञहरूको तयारी नपुगेको सबैका सामु प्रस्ट छ। उनीहरू व्यापारी हुन् तर तपाईँहरूले जरिवाना ठोक्ने वा धम्क्याउनेगरी सामान्य व्यापारी होइनन्। उनीहरूसँग डिल गर्न उच्च कूटनीतिक दक्षता र त्यो तहको ज्ञान चाहिन्छ। ओली-देउवा र उनका सारथीहरूसँग त्यो तहको दक्षता छैन।

आइतबार रातिमात्र प्रधानमन्त्री ओलीले जेनजी पुस्तालाई ‘ठगी खाने भाँडो’ र ‘कानुन त बुझेकै होला’ भन्दै धम्क्याएका थिए। उनले जेनजी पुस्ताको आन्दोलनलाई तुच्छ भाषामा उडाउँदै निकृष्टताको परिचयमात्र दिएका थिएनन्, सम्भावित परिणतिको चेतावनी पनि दिएका थिए। के सोमबारको भयानक दुर्घटनाका लागि ओलीको पूर्वतयारी नै थियो?

अब जेनजीको आन्दोलन कसैले रोकेर रोक्न सक्दैन। विस्फोटको आकार बढ्नेबाहेक अरू कुनै विकल्प नै छैन। यसको स्वभाव झन् सघन र विस्तारित भएरै जान्छ। यहाँनेर विवेकपूर्ण नेतृत्व आवश्यक हुन्छ। यसलाई थाम्न प्रेम र समानुभूतिले भरिएको हृदय चाहिन्छ। हामीले गल्ती गर्‍यौँ भन्नसक्ने छाती चाहिन्छ।

भ्रष्टाचार र कुशासनका लागि नेपाल स्वर्णभूमि हो। सूचकहरूले त्यो बोलेकै छन्। नयाँ पुस्ताले त्यो भोगिरहेकै छ। संसारले त्यो देखिरहेकै छ। सत्तासँग नयाँ पुस्ताको विरक्ति कुनै न कुनै रूपमा सामाजिक सञ्जालमा पोखिँदा त्यसले हिजोसम्म ठूलो रूप लिने मौका पाएको थिएन। सामाजिक सञ्जाल जीवनशैली र आधारभूत आवश्यकता बनिसकेको थियो, सम्पर्कमा रहन, बोल्न र विरक्ति अभिव्यक्त गर्न जसले आक्रोशका आवाजहरूलाई रोकिरहेको थियो। तर नयाँ पुस्ताको हृदयलाई थोरैमात्र पनि बुझ्न नसकेको केपी ओली सरकारले उनीहरूको मुख बन्द गर्नेमात्र होइन, त्यसको औचित्य पनि पुष्टि गर्ने प्रयास गर्‍यो जसले विस्फोटको रूप लियो। त्यो विस्फोटलाई सरकारले पानी हालेर मत्थर पार्ने होइन कि बारूदले अझ विस्फोटक र त्रासद बनाइदियो।

मबाहेक संसारमा कोही पनि असल छैन, मभन्दा संसारमा कोही पनि जान्ने छैन भन्ने नार्सिसिस्ट सोच कमसेकम नेताहरूमा हुनु हुँदैन। नयाँ पुस्तामा विवेक र समानुभूतिको भण्डार तपाईँहामी महसुस गर्नसक्छौँ। सरल र स्पष्ट माग लिएर सडकमा उत्रिएका मायालाग्दा जेनजी पुस्ताहरूमाथि केपी ओली सरकारले दागेको निर्मम गोली इतिहासको पानामा सबैभन्दा कलंकपूर्ण दिन हो। अब देश केपी ओली र उनीजस्तै अहंकारीहरूको थप सिकार बनिरहनु हुँदैन।

समानुभूति र विवेकको अभ्यास पनि गर्न सकिन्छ तर अब पुराना पुस्ताका नेताहरू जो सत्ता र शक्तिको आकांक्षाले पुरै भरिएका छन्, उनीहरूको हृदयमा केही पनि नयाँ उम्रन सक्दैन। समानुभूति र विवेकको लागि ठूलो हृदय चाहिन्छ। त्यो ठूलो हृदय र समझ पुरानो हृदयका नेताहरूबाट सम्भव छैन।

अब जेनजीको आन्दोलन कसैले रोकेर रोक्न सक्दैन। विस्फोटको आकार बढ्नेबाहेक अरू कुनै विकल्प नै छैन। यसको स्वभाव झन् सघन र विस्तारित भएरै जान्छ। यहाँनेर विवेकपूर्ण नेतृत्व आवश्यक हुन्छ। यसलाई थाम्न प्रेम र समानुभूतिले भरिएको हृदय चाहिन्छ। हामीले गल्ती गर्‍यौँ भन्नसक्ने छाती चाहिन्छ।

प्रधानमन्त्री ओली र उनका मन्त्रीहरूले तत्काल सोमबारको रक्तपातमा पूर्णतया: जिम्मेवारी लिँदै राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रसस्त गर्नुपर्छ। नयाँ पुस्ताको हृदय र ढुकढुकीलाई छाम्न सक्ने नयाँ सरकार नै अहिलेको आवश्यकता हो। नयाँ पुस्ताको आवाज र विरक्तिलाई बुझ्नसक्ने नेतृत्वले मात्र देशमा सल्केको यो असन्तुष्टिको आगो मत्थर पार्नसक्छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…