कहिलेकाहीँ जीवन अत्यन्तै छिटो दौडिन्छ। या भनूँ दौडिएको भान हुन्छ हामीलाई। ब्यूँझिएदेखि सुरु भएको व्यस्तता ननिदाउन्जेल रोकिँदैन। दैनिक काम, जिम्मेवारी र भविष्यका योजनाबीच हामी आफैँलाई बिर्सँदै जान्छौँ कहीँकतै। निकै पर पुगेपछि मात्र महसुस गर्छौँ कि- हाम्रो कति महत्त्वपूर्ण समय कसरी खर्चियौँ? तर, पश्चातापको भारीले जति नै थिचे पनि फर्किन्न त्यो समय कसैगरी। न त फर्किन्छन् समयसितै छुटिजानेहरू…!
व्यस्त जीवनशैली, कामको दबाब र निरन्तर दौडधूपबीच आजको मानिस शारीरिकभन्दा बढी मानसिक रूपमा थाक्छ। प्रविधिले संसारलाई नजिक ल्याए पनि मानिस आफैँसँग टाढिँदै गएको अनुभूति धेरैको साझा पीडा हो। यस्तै अवस्थामा कहिलेकाहीँ प्रकृतिको काखमा केही समय बिताउनु मनोरञ्जन मात्र नभई आत्मोपचारजस्तै सावित हुन्छ। यस्तै एकनासको दिनचर्याबाट केही समय टाढा पुग्ने सौभाग्य हालै मलाई दोलखाको शैलुङ र कालिञ्चोक यात्राले दियो।
दोलखा जिल्ला प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्तै समृद्ध क्षेत्र हो। राजधानीबाट धेरै टाढा नभए पनि यहाँ पुगेपछि फरक संसारमा आइपुगेजस्तो लाग्छ। यात्रा सुरु भएदेखि नै आँशिक हरिया डाँडाकाँडा, वरपरका हिमाल र चिसो हावाले यात्रालाई रोमाञ्चक बनाउँदै थियो। शैलुङ डाँडाबाट देखिने दृश्यले त मन नै रोकिदिन्छ केहीबेर। खुला मैदान, निलो आकाश र चारैतिर फैलिएका हिमशृङ्खलाले प्रकृतिको विशालता र मानवको सानो अस्तित्वलाई एकैचोटी महसुस गराउँछ।
पहाडमै जन्मिएको भए पनि राजधानी बसाइले हामीलाई निकै अल्छी बनाएको छ। त्यसमाथि झन पछिल्लो समय एकदमै चल्तीमा रहेका राइड सेयर (पठाओ, याङ्गो) ले हामीलाई परनिर्भर प्राणी नै बनाएका छन्। गेट खोलेर फुत्त बाहिर निस्कँदा आइपुग्ने राइडरले ठाउँमै पुर्याउनाले तत्कालीन सहजता भएपनि हिँड्ने बानी भने हराइजाने रहेछ। शैलुङको उकालो चढ्दैगर्दा साथी सञ्जिता र सजिनासँग यही विषयमा कुरा भयो। जति उकालो चढ्थ्यौँ, उति नै दुख्न थाल्थे गोडा। पाइलैपछिको थकानका बाबजुद मनमा भने अनगिन्ती उत्साह थियो। वरपर फूल्न बाँकी लालीगुराँसका बोटहरू, रमणीय थुम्काहरू र हिमाली दृश्यले चुम्बकलेझैँ तानेका थिए हामीलाई। र त नाकबाट पिरो सास फेर्दै पनि उक्लिएका थियौँ उसैगरी। फोटो खिँच्दै। भिडियो बनाउँदै। रमाउँदै…।
‘उता पुगेपछि भिडियो कल गर्नू है,’ घरबाट निस्कनेबेला आमाले भन्नुभएको थियो। तर, त्यहाँ भिडियो त के नम्बरमा कल गर्न पनि नमिल्ने रहेछ। आफू सहजै पुगेको खबर आमालाई पुर्याउन पाइरहेकी थिइन। एनसिएल, एनटिसी कुनै पनि नेटवर्क थिएन। तर, आमालाई खबर सुनाउन नपाउँदा केही खल्लो लागे पनि सञ्जालबाट केही समय पर रहन पाउँदा भने खुसी नै लागिरहेको थियो। सधैको दैनिकी, फोन कल र कामका सन्देशहरूबाट केही समय टाढा रहँदा मन असाध्यै हलुका महसुस भयो। आकाशमुनि उभिएर हिमालतिर हेर्दा जीवनको गति आफैँ सुस्त भएको अनुभूत गरेँ। कहिलेकाहीँ प्रकृतिले शब्द प्रयोग नगरेरै पनि धेरै कुरा भन्दो रहेछ। सिकाउँदो रहेछ। शैलुङको स्तूपाछेउमा बसेर आँकाश नियाल्दै गर्दा यही महसुस गरेँ। यही गन्थनमन्थन गरिरहेँ प्रकृतिसँग।

शैलुङ यात्राका क्रममा कैद गरिएका दृश्य।
६ जनाको टोली। सबै उस्तै उमेर समूहका। रुची र भावना पनि मिल्ने। यात्रा निकै रमाइलो भइरहेको थियो। मनोरम प्राकृतिक दृश्यसँग रमाउँदै गर्दा बेला-बेला कसैले चिमोटेसरी चसक्क हुने गरी छातीमा हान्ने चिसो सेपलाई वेवास्ता गरेछु क्यारे! भ्यू टावरबाट ओर्लँदैगर्दा निकै गाह्रो भयो। भूइँमा झरिसक्दा लथ्रक्क भएको थियो शरीर। सास फेर्न पनि गाह्रो भएको जस्तो भयो। टाउको दुखेजस्तो। वान्ता आउँला आउँला जस्तो। तर, आइ भने हालेन। घाटीमा कुनै कुरा खड्किएको जस्तो या पछाडीबाट केहीले बेस्सरी थिचेजस्तो महसुस भैरहयो। मेरो कारणले साथीहरूको मन नबिच्कियोस् भन्नेमा सजक थिएँ म, त्यसैले आफूलाई भएजति गाह्रोको एक-तिहाई पनि सुनाइनँ उनीहरूलाई। केही समय फोहोर जलाइरहेको ठाउँको आगोमा हात सेकेँ। तातो चिया पिएँ। अनि झर्यौँ ओरालो पूर्ववत् शैलीमा। तर, जाँदा जस्तो उत्साह फर्कँदा थिएन। यही त फरक छ भेट्नु र छुट्नुमा। जुट्नु अनि टुट्नुमा…!
‘अब चै वैशाख-जेठतिर आउनुपर्छ है…’, साथी सम्झनाले भन्दै थिइन् ओरालो झर्दैगर्दा।
…
‘तपाईँहरूले धेरै ढिलो गर्नुभयो नि, अब रातभर हिँड्नुपर्ने भो हामी’, केही असहज मान्दै ड्राइभर दाइले भन्नुभयो। ल्या… परेन त फसाद! एकछिन गम खाएँ। गम भन्दापनि ठूलो भोक लागेको थियो। लगत्तै ससेज अर्डर गरेर खाइवरी लाग्यौँ। कालिञ्चोकतर्फ…।
यस यात्राको अर्को महत्त्वपूर्ण पाटो थियो- कालिञ्चोक भगवतीको दर्शन। शैलुङको हिँडाइले थाकेका साथीहरू निदाएका थिए क्यारे गाडीमा। अघिसम्म कराएर नथाक्ने उनीहरू यतिबेला भने चुपचाप थिए। पुरै सन्नाटा छाएको थियो। कसैले कानै निमोठेर चुप गाएजस्तो। बरु चर्को-चर्को स्वरमा भुनभुनाइरहेको थियो गाडी, मुडे-शैलुङको ‘अफरोड’मा रातभर उफ्रिनुपर्दा। ड्राइभर दाइको मनोदशा पनि त्यस्तै हुँदो हो, गाडीको जस्तै सायद!
‘सबै निदाएकी क्या हो,’यात्राको सबै व्यवस्थापन हेरिरहेकी साथी सञ्जिताले बेला-बेला सबैको खबर लिन्थिन्। बाटैभरी ‘म्यानेजर’ भन्दै उनलाई खुब उडायौँ। स-साना समस्या आए पनि गाली खाने उनै भइन्। यतिसम्म कि अन्ताक्षरी खेल्ने भनेर कोही साथी गाउँदा गाउँदै निदाएछन् अनि त्यसको जस पनि उनकै पोल्टोमा पर्यो। कालिञ्चोकमा चिसो भयो, नित्यकर्म गर्ने पानी भएन, पानी जम्यो, मुडेमा खाएको खाना मीठो भएन, यी सबै कुरामा उनैलाई भनियो- प्रेमिल गाली। स्नातकोत्तरको सहपाठी उनलाई जिस्क्याउन मलाई पनि मज्जा लाग्थ्यो। त्यसमाथि रमाइलो गर्न यात्रामा निस्किएका हामी। साविकभन्दा ज्यादा नै खुलेका थियौँ।

शैलुङ र कालिञ्चोक यात्राका क्रममा कैद गरिएका दृश्य।
‘ल है चरिकोट पुगियो…,’ ड्राइभर दाइको आवाज गुञ्जियो। दोलखा कहिल्यै नटेकेका मजस्ता अन्य चार जना साथीका लागि चरिकोट नवीन ठाउँ थियो। निदाउने प्रयासमा रहेका मेरा आँखाले पनि झ्यालबाट बाहिरको दृश्य नियाले। हलुका प्रकाशमा पनि चरिकोट सुन्दर लाग्यो। जति-जति माथि उक्लियौँ बाटो उत्तिनै अप्ठेरो लाग्न थाल्यो। केही ठाउँमा मुटुले ठाउँनै छाड्यो। निदाउन खोजेपनि एक झप्को ननिदाइकनै रातको करिब ९ बजे कुरी भिलेजस्थित फायर साइड रेस्टुरेन्टमा पुग्यौँ।
…
‘केही ड्रिङ्स् लिनुहुन्छ म्याम? यहाँ त तोङ्बा पनि फेमस छ नि…,’ साँझको क्याम्प फायरका क्रममा आगोको रापमा मस्त मेरो कानमा यही आवाज गुञ्जियो। पल्याक-पुलुक यता-उता हेरेँ, त्यो प्रश्न हामी लक्षित थियो। साथी र म मुखामुख गर्दै नाइँको भावमा मुन्टो हल्लायौँ। ‘कोक त नपच्ने हामीलाई तोङ्बा …!,’ हास्दै भन्यौँ। वेटरले नसुन्ने गरी।
बिहान उठेर शौच जान खोज्दा पानी थिएन। पानी पूरै बरफ बनिसकेको रहेछ। शौचालयको बाल्टीको पानी मात्र होइन, भुइँमा रहेको पानीसमेत बरफ बनेर बाल्टीलाई भुइँमै टाँसिदिएको थियो। चिसो यति कडा थियो कि साँझ ब्रस गर्दा थुकेको टुथपेस्टसमेत रातारात जमेर भुइँमा माछापुछ्रे हिमालझैँ थुम्को बनेर गमक्क मुस्कुराइरहेको थियो…!
घुम्न जाने भनेपछि ‘क्याम्प फायर’ र ‘बार्बीक्यू’ गर्ने भनी हौसिएका साथीहरूको ऊर्जा भने केही सेलाएको थियो। उनीहरूको झैँ थियो हालत मेरो पनि। अबेरसम्म बसेर रमाउनुपर्छ भन्नेमा खासै कोही पनि सहमत थिएनन्, कारण दिनभरको थकान र चिसो। कालिञ्चोकको विशेषता नै रहेछ कठ्याङ्ग्रिने चिसो। साँझमा खानाखाइ चुठ्दा हात नै चुँडिएजस्तो भयो। बिहान उठेर शौच जान खोज्दा पानी थिएन। पानी पूरै बरफ जमिसकेको रहेछ। शौचालयको बाल्टीको पानी मात्र होइन, भुइँमा रहेको पानीसमेत बरफ बनेर बाल्टीलाई भुइँमै टाँसिदिएको थियो। चिसो यति कडा थियो कि साँझ ब्रस गर्दा थुकेको टुथपेस्टसमेत रातारात जमेर भुइँमा माछापुछ्रे हिमालझैँ गमक्क थुम्को बनेर मुस्कुराइरहेको थियो। त्यो दृश्य निकै नै रोचक भयो हाम्रा लागि। सहज जीवनशैली बाँचिरहेकाहरूका लागि यो विलकुल नवीन अनुभव भयो। सुरुमा निकै असहज लागे पनि क्रमशः यही कठिनाइ यात्राको रमाइलो पक्ष बन्यो। फर्कँदा बाटोभरी यस्तै विषयमा गफियौँ। सीमित सुविधाबीच पनि सन्तुष्टि र खुशी खोज्न सकिँदो रहेछ भन्ने पाठ कालिञ्चोक यात्राले सिकायो।
धर्ममा आस्था राख्नेहरूका लागि धार्मिक रुपमा जति महत्त्वपूर्ण मानिन्छ कालिञ्चोक प्राकृतिक रुपमा पनि उत्तिकै विशेष छ। कुरीबाट केही क्षणको केबलकार यात्रा र केहीबेरको हिँडाइपछि पुगिने मन्दिर र आसपासका रमणीय दृश्यले थकान, पीडा र अन्य सबै उल्झनबाट पर रहन प्रेरित गर्छन्, जो कोहीलाई पनि। मन्दिर परिसरमा उभिँदा टाढासम्म देखिने हिमश्रीङ्खलाहरूले जीवनका उतारचढाव सम्झाइरहेको भान हुन्छ।
…
‘छोरी मान्छेले नरिवल फुटाउनु हुँदैन’…मन्दिरमा साथी सञ्जिताले नरिवल फुटाउँदै गर्दा मन्दिर व्यवस्थापनकै एक जनाले भनेको उक्त वाणीले कता-कता खल्लो लाग्यो। यसबारे थप जिज्ञाशा राख्दा उहाँले भीड मिलाउनमा आफूलाई व्यस्त राख्नुभयो। विदेश घुमेको अनुभव खासै छैन मसँग। तर, नेपालका घुमेजतिका अधिकांश मठ-मन्दिरमा कतै न कतै महिलाको लागि छुट्टै नियम बनाइएको पाइन्छ, जुन कालिञ्चोक भगवती मन्दिरमा पनि रहेछ। देविकै मन्दिरमा पुगेर उही जातकी नारीले श्रद्धापूर्वक नरिवल फोर्न नपाउने नियमले मन चिसो भइरह्यो…।
मन्दिर दर्शनपछि पनि केहीबेर रोकियौँ हामी त्यहाँ। भोक पनि निकै लागेको थियो। चिसो र भोग दुवैले होला सास फेर्न केही असहज जस्तो भयो। ब्यागमा भएका गाई चकलेट खायौँ। पानी पियौँ। केहीसमयको विश्रामपछि फोटो र भिडियो खिच्न थाल्यौँ। साथीहरूसँगको यात्राले यी सबै अनुभूतिलाई अझै अर्थपूर्ण बनाएको थियो। मान्छे सुखमा भुलेपनि दु:खमा साथी खोज्ने प्राणी हो। तर, यो यात्राले मलाई सुख बाँड्न झनै साथी चाहिने रहेछन् भन्ने महसुस भयो। एउटै चिसो सहनु, एउटै बाटो हिँड्नु, थकाइ र हाँसो साझा गर्नु- यी सबैले सम्बन्धलाई अझै मजबुत बनाउँछन्। यात्रामा सँगै बिताएका साना-साना क्षणहरू नै पछि जीवनका अमूल्य सम्झना बन्छन्। साथीहरूसँगको यो यात्राले शरीरलाई मात्र नभइ मनलाई पनि विश्राम दियो।
गत दशैँ-तिहार ताका स्वर्गद्वारीको ओरालो झर्दैगर्दा आमाले भन्नुभएको एउटा वाक्य निकै गढेको छ मनमा,’केही गरी म रहिन भनेपनि आमासँग यसरी आएथेँ भनेर तिमीलाई सम्झना हुनेभयो है…!’ हात समाएर ओरालो झर्दैगर्दा आमाको त्यो बाक्यले मलाई अवाक बनायो। कोल्टे फर्किएर आँशु पुछेँ र मुसुक्क हाँस्दै भने,’है ममी हेर्नू त सानीको जिद काम लाग्यो नि।’ प्रेम र भावुकताको जलले निथ्रुक्क भएकी आमालाई म आँशुले भिजाउन सक्ने सामर्थ्य राख्दिनथेँ। त्यसैले झुठो नै सही मुस्कानले गर्माएँ। आमाले मनमनै सोच्नुभोहोला छोरी आजकल धेरै ठट्टागर्ने भैछे। तर, मभित्रको मनोदशा मसँग नै थियो।
आमाले भन्नुभएझैँ, उहाँसँग बिताएका स्वर्णिम पलका स्मृतिहरू त मसँग सुरक्षित छन् नै। त्यसैगरी, मेरा यी सखीहरूसँगको यो यात्रा पनि जीवनको अमूल्य डायरीमा थपिँदै जानेछ। जसका पानाहरू पल्ट्याउँदा म बारम्बार महसुस गरिरहनेछु उनीहरूको साथसँगै क्षितिज चुम्न आतुर शैलुङका थुम्काहरू र कालिञ्चोक वरिपरिका मनोरम हिमाली दृश्यहरू; जसको अनुभूति शान्त, निश्चल र कोमल स्पर्शझैँ भएर निरन्तर बगिरहनेछ मेरो मनमा…!
(देशसञ्चारमा उप-सम्पादकका रुपमा कार्यरत केसीले समाज, संस्कृति, साहित्य, राजनीति तथा लैङ्गिकताका विषयमा कलम चलाउँछिन्।)
भर्खरै
लोकप्रिय
