- एमालेभित्र चुनावी परिणामलाई लिएर नेता रामबहादुर थापा र उपमहासचिव योगेश भट्टराईबीच धारणा भिन्नता देखियो।
- थापाले रास्वपाको विजयमा राज्यका निकायहरूको भूमिका रहेको बताउँदा भट्टराईले जनमतलाई सम्मान गर्नुपर्ने बताए।
- थापाले अदृश्य शक्तिहरूले खलपात्रहरूलाई महानायक बनाउने काम गरेको आरोप लगाए।
काठमाडौँ – चुनावी परिणामलाई हेर्न विषयमा एमालेभित्र दुई धार देखिएको छ।
बिहीबार संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपाको विजयलाई अस्वभाविक भएको र त्यसमा राज्यका निकायहरुले भूमिका खेलेको अभिव्यक्ति दिएका थिए।
लगत्तै पार्टीका उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत थापाको भनाइको प्रतिवाद गर्दै सेना, कर्मचारी, न्यायलय लगायतका संवैधानिक अंगहरूप्रति आफ्नो पार्टीको बैरभाव नभएको जनाए। थापाले रास्वपाको विजयी र चुनावी परिणामलाई अस्वभाविक रुपमा आएको दाबी गरेपछि भट्टराईले जनमतलाई सम्मान गर्नुपर्ने धारणा राखे।
भट्टराईले थापाको भनाइप्रति असहमति जनाउँदै लेखेका छन्, ‘जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो । यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो । नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायलय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन त्यसप्रति हाम्रो पार्टीको सम्मान र बिश्वास रहिरहने छ । संसद वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ ।’
सदनमा थापाले रास्वापको विजयीको पछाडि सेना, सरकार, बारबार फाउण्डेशनसहितको अदृश्य शक्तिको हात रहेको दाबी गरेका थिए।
सरकारसँग एमालेले प्रश्न गर्दा संसद्मै रिसले मुर्मुरिए गृहमन्त्री गुरुङ
‘यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा को कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, वीर केसी, सुशिला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन एनजीओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो, कडा रुपमा प्रस्तुत हुँदै थापाले संसदमा भने, ‘यो जादुमयी विजयका लागि बाह्य दृष्टिले को कसले निर्णायक भूमिका निर्वाह गरे? असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरू टिओबी, एल्गोरिदम, वेब सर्भर जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई फुकार खलनायक र हत्याराको रूपमा स्थापित गरे।’
उनले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरूलाई महानायक बनाएको आरोपसमेत लगाएका थिए।
थापाले कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढंगबाट जलाइयो? भन्द प्रश्न गरे।
भर्खरै
लोकप्रिय
