काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेको आश्वासनपछि मात्रै आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा उपसभामुखमा पदमा सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले उपसभामुखको उम्मेदवारीले संसद्मा पुराना र नयाँ भनिएका दलहरूको चरित्र उजागर गरेको बताए। राजनीतिमा बोलीको कुनै भर नहुने रहेछ भन्ने आफूले बुझेको उनले बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै उनले भने- ‘बोलीभन्दा संकेत बुझ्नुपर्ने रहेछ।’
उनले रास्वपाको धोकाले नयाँ र पुराना दलहरुको साइनबोर्ड मात्र फरक तर नीतिगत विचार एउटै भएको पुष्टि भएको टिप्पणी गरे। उनले उपसभामुख पदमा पार्टीको तर्फबाट दिइएको उम्मेदवारी केवल पदका लागि नभई आयातित व्यवस्था मान्नेहरू र विदेशीको गोटी बन्ने प्रवृत्तिविरुद्धको संघर्ष भएको पनि बताए।
उनले भने, ‘रास्वपा सभापतिबाटै आश्वासन प्राप्त भएपछि पार्टी संसदीय दलको सर्वसम्मत निर्णयबाट उपसभामुख पदमा उम्मेदवारी दिएका हौँ। आजको हाम्रो उम्मेदवारीले राजनीतिमा कित्ता क्लियर बनाएको छ। हिजोका पुराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरु फरक–फरक भए पनि उनीहरुबीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ। यो व्यवस्थाको विकल्पमा मौलिक व्यवस्था खोजिरहेको र यही आयातित व्यवस्थालाई टालटुल गर्नुपर्ने भन्ने स्पष्ट कित्ता छुट्टिएको हामीले महसुस गरेका छौँ। हाम्रो उम्मेदवारी केवल एक थान उपसभामुखको लागि मात्र थिएन। यो त आयातित व्यवस्था मान्नेहरु र विदेशीको गोटी भइरहनेहरुका प्रवृत्तिका विरुद्ध थियो।’
भर्खरै
लोकप्रिय
