आशा भोसले: रेकर्डिङ स्टुडियोले निकालिदिएको त्यो क्षण…

आशा भोसले: रेकर्डिङ स्टुडियोले निकालिदिएको त्यो क्षण…
+
-

सुरकी मल्लिका अर्थात गायन क्षेत्रमा अभिछिन्न आशाका रुपमा सधैँ आफूलाई प्रमाणित गरेकी आशा भोसलेको आज ९२ वर्षको उमेरमा निधन भयो। उनलाई शनिबार राति छातीको संक्रमणका कारण मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

आशा भोसले विगत ७० वर्षदेखि हिन्दी सिनेमाको एउटा महत्वपूर्ण हिस्साका रुपमा थिइन्। उनले विभिन्न भाषामा करिब १२ हजार गीत रेकर्ड गराइन्। यद्यपि, एउटा समय यस्तो पनि थियो, जब आशालाई ‘आवाज खराब छ’ भन्दै रेकर्डिङ स्टुडियोबाट निकालिएको थियो।

त्यसो त आशाको जीवन दु:ख र संघर्षले खारिएर उठेको थियो। आज विश्वका धेरै ठाउँ र होटलहरूकी मालिक रहेकी आशा भोसलेको बाल्यकाल गरिबी, अभाव र संघर्षमा बितेको थियो। अभाव यस्तोसम्म थियो कि शुल्क तिर्न नसक्दा उनलाई स्कुलबाट निकालिएको थियो।

आशासँग जोडिएका यी किस्सा, जसले उनको जीवनबाट असफलताका पाटाहरूसँगको संघर्षले सफलता दिलाउन सक्छ भन्ने प्रेरणा लिन सकिन्छ।

दिदीसँग लुकीछिपी स्कुल जान्थिन् भोसले

८ सेप्टेम्बर १९३३ मा आशा भोसलेको जन्म भारतको महाराष्ट्रको सांगलीमा भएको थियो। उनका पिता पण्डित दीनानाथ मंगेशकर रङ्गमञ्च कलाकार थिए। घरमा गरिबीको अवस्था यस्तो थियो कि जब जेठी दिदी लता मंगेशकरलाई स्कुल भर्ना गरियो, उनले आशालाई लुकीछिपी स्कुल लैजान थालिन्। गुरुबाबाट लुकाएर उनले आशालाई आफूसँगै राख्ने गर्थिन्।

आशा भोसले तीन दिदीबहिनी र एक भाइका साथ।

स्कुल जान थालेको मात्र दुई दिन भएको थियो, गुरुबाले यो कुरा थाहा पाइहाले। त्यसपछि त गुरुले दुवैलाई कक्षा कोठाबाट बाहिर निकालिदिए र भने, ‘एउटा शुल्कमा एउटा मात्र बच्चा स्कुल आउन सक्छ।’ त्यसपछि दिदीबहिनी रुँदै घरघर फर्किएका थिए।

अर्को दिन लताले निर्णय गरिन् कि उनले बहिनीलाई पढाउने छिन्। उनले पितासँग कुरा गरेर स्कुलबाट आफ्नो नाम कटाइन् र आफ्नो ठाउँमा बहिनी आशालाई भर्ना गराइन्। आशा मात्र ९ वर्षकी थिइन्, जब उनका पिताको निधन भयो। यस्तोमा लताले नै सङ्घर्ष गरेर हिन्दी सिनेमामा पाइला चालिन् र बहिनीको पालनपोषण गरिन्।

१० वर्षको उमेरदेखि गायन यात्रा

मंगेशकर परिवार पहिले पुणे र पछि मुम्बई आएर बस्यो। यहाँ मात्र १० वर्षको उमेरमा आशाले गाउन सुरु गरिन्। उनको पहिलो ब्रेक मराठी फिल्म ‘माझा बल’ (१९४३) को गीत ‘चला चला नाव बला’बाट पाइन्।

आशा मात्र १५ वर्षकी थिइन्, जब उनले हिन्दी फिल्म ‘चुनरिया’ को ‘सावन आया’ गीत गाउने मौका पाइन्। त्यस समयमा नूर जहाँ, शमशाद बेगमजस्ता गायिकाहरूको उद्योगमा पकड थियो। लता पनि विस्तारै आफ्नो पहिचान बनाउँदै थिइन् तर आशा यो सूचीमा कतै थिइनन्। उनले तब मात्र मौका पाउँथिन्, जब फिल्म निर्माताहरूले कि त ठूला गायिकाहरूको पारिश्रमिक तिर्न सक्दैनथे वा अन्य गायिकाहरूले अस्वीकार गर्थे।

१६ वर्षको उमेरमा भागेर विवाह, दिदीसँगको सम्बन्ध बिग्रियो

आशा भोसले मात्र १६ वर्षकी थिइन्, दिदी लताका सेक्रेटरी गणपत राव भोसलेसँग प्रेम भयो। गणपत राव उमेरमा १५ वर्ष जेठा थिए। आशालाई थाहा थियो कि परिवारले यो सम्बन्ध स्वीकार गर्ने छैन, त्यसैले उनले १६ वर्षकै उमेरमा घरबाट भागेर गणपत रावसँग विवाह गरिन्। यो निर्णयले उनका लागि खुसीभन्दा बढी पीडा लिएर आयो। विवाहपछि उनले श्रीमान् र ससुरालीबाट राम्रो व्यवहार पाइनन्। समय बित्दै गयो र सम्बन्धमा तित्तता पनि बढ्दै गयो।

शङ्का र तनावले भरिएको यो सम्बन्धले केही वर्षमै दम तोड्यो। गणपत रावले उनलाई घरबाट निकालिदिए। त्यसबेला आशाका साथमा दुई सन्तान थिए र उनी तेस्रो सन्तानको आमा बन्न लागेकी थिइन्। बाध्य भएर उनी माइती फर्किनुपर्यो। सन् १९६० मा दुवै अलग भए।

गीत रेकर्ड गर्न पुग्दा आवाजलाई लिएर व्यङ्ग्य गर्दै स्टुडियोबाट निकालियो

आशा भोसलेलाई एक पटक ‘खराब आवाज’ भन्दै किशोर कुमारसँगै रेकर्डिङ स्टुडियोबाट बाहिर निकालिएको थियो। कुरा सन् १९४७ को हो। आशा, किशोर कुमारसँग प्रसिद्ध स्टुडियोमा राज कपूर र नरगिस अभिनित फिल्म ‘जान पहिचान’का लागि गीत रेकर्ड गर्न गएकी थिइन्। यस फिल्मका संगीत निर्देशक खेमचन्द प्रकाश थिए।

त्यतिबेला स्टुडियोमा कुनै खास सुविधा हुँदैनथ्यो। माइक पनि एउटा मात्र हुन्थ्यो र गायकहरूले त्यसैको अगाडि उभिएर गाउनुपर्थ्यो। आशा र किशोर कुमारले गाउन सुरु गर्नेबित्तिकै त्यहाँका रेकर्डिस्ट रोबिन चटर्जीले विस्तारै संगीत निर्देशक खेमचन्दसँग बङ्गालीमा भने, ‘यी दुवैको आवाज माइकमा राम्रो सुनिएको छैन, अर्को गायक ल्याउनुहोस्।’

गणपत राव र आफ्ना सन्तानका साथमा भोसले

नजिकै उभिएका किशोर दाले यो कुरा बुझे। उनले आशालाई भने कि यहाँ केही गडबड छ। उनीहरूको गायन रोकियो र केहीबेरमै उनीहरूलाई त्यहाँबाट जान भनियो। रातिको २ बजिसकेको थियो। दुवै यो अपमानबाट टुटिसकेका थिए र त्यहाँबाट निस्किएर महालक्ष्मी स्टेशननजिकै बसेर आफूहरूबाट कहाँ गल्ती भयो भनेर छलफल गर्न थाले। त्यो बेला दुवै जना निकै निराश र अपमानित भएर निस्किएका थिए।

वर्षौंपछि जब किशोर कुमारले आफ्नो र आशाको अपमानको बदला लिए

सन् १९५७ सम्म आशा भोसलेले हिन्दी सिनेमामा आफ्नो पहिचान बनाइसकेकी थिइन्। उनको गीत ‘उडे जब जब जुल्फें तेरी’ निकै चर्चित भएको थियो। किशोर कुमारले पनि आफ्नो पहिचान बनाइसकेका थिए। सफलता पाएपछि एक दिन उनले फेरि त्यही स्टुडियोमा रेकर्ड गर्ने मौका पाए। त्यहाँ रोबिन चटर्जी पनि थिए, जसले वर्षौं पहिले उनलाई र आशालाई स्टुडियोबाट निकालेका थिए।

आशा भोसलेले त संकोचका कारण केही भन्न सकिनन् तर किशोर कुमारले आफ्नो मन र विगतको चोट थाम्न सकेनन्। मौकाको फाइदा उठाए र रेकर्डिस्टलाई भने, ‘किन, तपाईंले त भन्नुभएको थियो कि हामी गाउन सक्दैनौँ। अब हेर्नुहोस् हामी कहाँ छौँ।’

आरडी बर्मनकी आमाले भनेकी थिइन्  ‘आशासँग विवाह गर्ने भए मेरो लास माथिबाट जानू’

गणपत रावासँग सम्बन्धविच्छेद गरेपछि आशा भोसलेको जीवनमा आरडी बर्मन जीवनसाथी बनेर आए। दुवैको भेट १९६६ मा भयो, जब उनीहरू ‘तीसरी मंजिल’मा सँगै काम गरिरहेका थिए। दुवैले ‘ओ हसीना जुल्फों वाली…’, र ‘ओ मेरे सोना रे सोना रे…’ मा स्वर दिए। आरडी बर्मन, पिता एसडी बर्मनको विरासतभन्दा केही फरक गर्न चाहन्थे। ज्याज र क्याबरेको ट्रेन्ड ल्याउँदा उनलाई आशा भोसलेको आवाजको सहारा मिल्यो। दुवैले ‘पिया तू अब तो आजा…’, ‘दम मारो दम…’ जस्ता गीतहरू सिर्जना गरे, जसले गर्दा आशा भोसलेलाई ‘क्याबरे क्वीन’ भन्न थालियो।

किशोर कुमारका साथमा रेकर्डिङ गर्दै आशा भोसले।

व्यावसायिक सम्बन्ध चाँडै नै निकटतामा परिणत भयो। पञ्चम दा (आरडी बर्मन), आशाभन्दा ६ वर्ष कान्छा थिए। उनको १९७१ मा पहिलो श्रीमती रीतासँग सम्बन्धविच्छेद भइसकेको थियो। उनीहरूको विवाह विवादमा थियो। घरायसी झगडा बढेपछि उनी घर छोडेर होटलमा बस्न थालेका थिए। ९ वर्षपछि जब उनले आशासँग विवाह गर्ने निर्णय गरे, तब  बर्मन परिवार विरुद्धमा उभियो। आमाले सिधै अस्वीकार मात्र गरिनन्, कडा चेतावनीसमेत दिइन्।

आरडी बर्मनकी आमा दुवैको सम्बन्धबाट यति रुष्ट थिइन् कि उनले भनिन्, ‘जबसम्म उनी जीवित छिन्, तबसम्म दुवैको विवाह हुन सक्दैन र यदि यो विवाह गर्ने नै हो भने आशालाई आफ्नो आमाको लास माथिबाट घरमा भित्र्याउनू।’

यो सुनेर आरडी बर्मन केही नभनी त्यहाँबाट निस्किए। उनी विवाह गर्न चाहन्थे, तर आमाको असन्तुष्टिका कारण यो सम्भव थिएन। केही वर्षपछि आरडी बर्मनकी आमा निकै बिरामी हुन थालिन् र उनले कसैलाई पनि चिन्न छाडिन्। यसपछि आरडी बर्मन र आशाले १९८० मा विवाह गरे।

विवाहको १४ वर्षपछि १९९४ मा आरडी बर्मनको निधन भयो। आशा फेरि एक पटक एक्ली भइन्। आरडीको निधन हुनुअघि उनको आर्थिक अवस्था राम्रो थिएन, जसका कारण आशा र उनी अलग बस्ने गर्थे।

छोरीले गोली हानी आत्महत्या गरिन्, छोराको क्यान्सरबाट मृत्यु भयो

आशा भोसले र गणपत रावका तीन सन्तान थिए। उनका जेठा छोरा हेमन्त भोसलेले सुरुमा पाइलटको रूपमा काम गरे, तर पछि संगीतको क्षेत्रमा लागे। उनले केही स्मरणीय गीतहरू पनि दिए, यद्यपि उनको गायन करियर लामो समय टिकेन। २०१५ मा क्यान्सरका कारण उनको निधन भयो।

आरडी बर्मनका साथ रिहर्सल गर्दै आशा भोसले।

आशाकी छोरी वर्षा भोसले एक चर्चित स्तम्भकार (कोलमनिष्ट) थिइन्। उनले श्रीमानसँग सम्बन्धविच्छेद गरेपछि ५५ वर्षको उमेरमा गोली हानी आत्महत्या गरेकी थिइन्। उनका कान्छा छोरा आनन्द भोसलेले व्यापार र फिल्म निर्देशनको अध्ययन गरे र उनले नै आफ्नी आमाको करियर सम्हाल्ने गर्थे।

जीवनमा अभाव, गरिबी र परिवार वियोगको दु:खान्त भोगेकी आशाले भारत मात्र होइन नेपाली सांगीतिक उद्योगमा समेत अतुलनीय योगदान पुर्‍याएकी छन्। आशाले आफ्नो पूरा जीवन बाँच्दै सांगीतिक यात्रामा छोडेको यो छाप जुग-जुग बाँच्ने छ।

– दैनिक भास्करको सहयोगमा केही सम्पादित

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…