- हुम्लाको सर्केगाड गाउँपालिका–१ मा निर्माण गरिएका ४१ नयाँ घरहरू लाभग्राहीहरू नबसेपछि प्रयोगविहीन बनेका छन्।
- लाभग्राहीहरूको आफ्नै कल्खे गाउँमा पहिले नै घरहरू भएका कारण नयाँ आवासमा बस्न नचाहेको देखिएको छ।
- स्थानीयले वास्तविक आवश्यकताको पहिचान नगरी योजना सञ्चालन गर्दा सरकारी लगानी खेर गएको आरोप लगाएका छन्।
हुम्ला- हुम्लाको सर्केगाड गाउँपालिका–१, तुम्कको तल्तडीमा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएका ४१ वटा नयाँ घरहरू हाल प्रयोगविहीन अवस्थामा रहेका छन् ।
सुरक्षित आवासको आवश्यकता भएका वास्तविक परिवारका लागि भन्दै निर्माण गरिएका यी घरहरूमा लाभग्राहीहरू नबसेपछि यो बस्ती अहिले सुनसान बनेको छ । स्थानीय जग मल्लका अनुसार, आवश्यकताभन्दा पनि पहुँच र भनसुनका आधारमा लाभग्राही छनोट गरिएका कारण लक्षित वर्गका स्थानीयहरू ती घरमा नबसेका हुन् ।
अदानचुली गाउँपालिका–१, कल्खेका स्थानीय बासिन्दाका लागि निर्माण गरिएका यी घरहरूमध्ये हालसम्म सात जना मात्रै त्यहाँ बसोबास गरिरहेका छन् ।
प्रतिघर साढे तीन लाख रुपैयाँको लगानीमा निर्माण गरिएका यी तीन कोठे भवनहरूमा जस्तापाताको छानो र शौचालय समेतको व्यवस्था गरिएको छ ।
यति ठूलो लगानी भए तापनि लाभग्राहीहरू नबस्दा घरहरू जीर्ण बन्ने अवस्थामा पुगेका छन् । लाभग्राहीहरूको आफ्नै कल्खे गाउँमा पहिले नै घरहरू भएको र नयाँ आवासमा पशुवस्तु राख्ने पर्याप्त स्थान नभएका कारण उनीहरू त्यहाँ सर्न नचाहेको देखिएको छ ।
कानुनी व्यवस्था अनुसार जग्गा भएका तर घर निर्माण गर्न नसक्ने विपन्न परिवारलाई लाभग्राहीका रूपमा छनोट गर्नुपर्ने प्रावधान छ । तर, हुम्लामा भने पर्याप्त अध्ययन नै नगरी बजेट सिध्याउने उद्देश्यले मात्र योजना सञ्चालन गरिएको आरोप लागेको छ ।
सर्केगाड गाउँपालिका–१ का वडा सदस्य उज्जन मल्लका अनुसार, वास्तविक आवश्यकताको पहिचान नगरी पहुँचवालालाई समेटिएकाले सरकारी लगानी खेर गइरहेको छ । उनले आगामी दिनमा आवासको वास्तविक अभाव भएका लक्षित वर्गलाई मात्र छनोट गर्न सरोकारवाला पक्षलाई सुझाव समेत दिएका छन् ।
भर्खरै
लोकप्रिय
