अभिनेत्री आँचल शर्मा भन्छिन्, ‘माइलीहरू अहिले पनि संघर्षरत छन्’ ( भिडियो )

+
-
देशसञ्चार AI सारांश
  • आँचल शर्मा आफ्नो आगामी फिल्म ‘एक मुट्ठी बादल’लाई फरक स्वादको अनुभव रहेको र यसमा भिन्न भूमिकामा देखिन लागेको बताउँछिन्।
  • फिल्मले नेदरल्याण्डको ह्युबर्ट बाल्स फन्डबाट अनुदान प्राप्त गरेको छ, जसमा आँचलले मुख्य भूमिका निर्वाह गरेकी छन्।
  • महिला निर्देशकसँग काम गर्दा धेरै सहजता महसुस गरेको र परफॉर्म गर्ने स्वतन्त्रता पाएको भन्दै उनी उत्साहित छिन्।

आँचल शर्मा चल्तीका निर्देशकहरूसँग काम गर्ने कलाकार हुन्। ठूला ब्यानरमा बनेका फिल्ममा प्राय छुट्दिनन् उनी। डेब्यु फिल्म नै बिकासराज आचार्य निर्देशित ‘नाइ नभन्नु ल’ थियो।

उनले फिल्म यात्राको एक दशक उक्लिँदै गर्दा नेपाली फिल्मका चल्तीको हिरो र निर्देशकसँग काम गरिन्। ती फिल्म कुनै दर्शकले रुचाए, कुनै रुचाएनन्। जस्तै ‘डिग्री माइला’ ‘दुखी आत्मा’ जस्ता चलचित्रले खासै व्यापार गरेनन् तर ‘जेरी अन टप’ जस्ता फिल्मले बक्स अफिसमा राम्रो कलेक्शन गर्‍यो। यही आशाका साथ उनको नयाँ फिल्म ‘एक मुट्ठी बादल’ प्रदर्शनको तयारीमा छ। उनी भन्छिन्, ‘यो बिल्कुल फरक स्वादको फिल्म छ। यसमा मैले केही नयाँ गर्ने कोसिस पनि गरेको छ।’

कलाकारले कुनै पनि आउँदो फिल्मको प्रचारप्रसारका क्रममा केही नयाँ गरेको छु भन्नु स्वभाविक हो। तर सहारा शर्मा निर्देशित फिल्म ‘एक मुट्ठी बादल’मा आँचलले नयाँ नै गरेकी छन् भन्दा पत्याउनु पर्छ। यदि नयाँ नगरेको नहुँदो हो त एक मुट्ठी बादल (माई सेयर अफ स्काई)ले नेदरल्याण्डको ह्युबर्ट बाल्स फण्ड पोस्ट-प्रडक्शन अनुदानका लागि सेलेक्ट हुँदैनथ्यो। मुख्य भूमिका नै आँचाल रहेको यस फिल्मले अनुदान अन्तर्गत ६० हजार युरो आर्थिक सहयोग प्राप्त गरेको हो।

यसका साथै फिल्मको निर्देशक सहारा शर्मा ह्युबर्ट बाल्स फन्डको पोस्ट-प्रोडक्सन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक बनेकी थिइन्। गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स ९जर्मनी०, र क्रोमोजोम फिल्म (जर्मनी)को सह-निर्माण रहेको यो फिल्म नेपालकै पहिलो महिलाप्रधान अन्तर्राष्ट्रिय स्तरमा सह-निर्मित फिल्मसमेत हो। त्यसैले पनि आँचल यस फिल्मसँग धेरै आशाबादी छन्।

आँचल कवि पनि हुन्। कविता नहुँदो त उनी फिल्म क्षेत्रमा लाग्न सक्ने धैर्यता टुटिसक्ने थियो। फिल्म क्षेत्र गल्यामर क्षेत्र भएकाले अनेकन आरोहअबरोह झेल्नु पर्छ। उनले ती आइपर्ने घटनाक्रमलाई सामना गरेकी छन्। त्यो शक्ति कविता हो। कविता उनी केर्छिन्। बाचन पनि गर्छिन् तर बाचन गर्न भने उनी कविताका मञ्चहरुमा पुगेकी छैनन्। कुनै दिन कविता संग्रह निकाल्ने हुटहुटी भने उनीभित्र जीवितै छ।

कुनै फिल्मको नाम कविताको शीर्षक जस्तो हुँदोरहेछ त्यस्तै नाम हो- एक मुट्ठी बादल। एक मुट्ठी बादल फिल्मलाई लिएर उत्साहित हुनुको कारण पनि कविता जस्तो शीर्षक भएको बताउँछिन्- ‘साच्चै यो नाम मलाई खुबै मन परेको हो। बादल छुन सकिन्न र पनि एक मुट्ठी बादल शीर्षक दिइन्छ। त्यसैले यो खुबै मन परेको नाम हो।’

जीवनमा एउटा कलाकारले राम्रो काम गर्ने हो। कुनै निर्देशक तथा निर्माता कलाकारकै कारण व्यापार घाटा नहोस भन्ने उनको बुझाई छ। अघिल्ला वर्ष अनमोल केसी अभिनित ‘जेरी अन टप’को हिस्सा भइन्। तर एक मुट्ठी बादलको ‘माइली’ पात्र पनि उनलाई खुबै प्रिय लाग्छ। भन्छिन्, ‘मैले माइली जस्ता पात्रको भूमिका गरेको छु। साथै मलाई माइली पात्र प्रिय लाग्छ। किनकि म माइली छोरी हुँ।’

गत वर्षको फिल्म ‘जेरी अन टप’को एक हिस्सा थिइन उनी। बक्स अफिसमा यो फिल्मले कमाल गर्‍यो। यसपालि चाहिँ उनले एक मुट्ठी बादलमा जोडिएकी छन्। जीवनमा विवाह उत्सव महत्वपूर्ण मोड हो। परिवारले जे चाहन्छ त्यही छोरीले नसोचेकी हुन सक्छे। यस्तो परिस्थितमा माइलीहरु कति मनोबैज्ञानिक दबाबमा पर्लान?

‘समाजमा माइलीहरू दयाका पात्र हुन्। उनीहरु जहिले दबाबमूलक जीवन बाँच्न विवश छन्। तर एक मुट्ठी बादलकी माइली धेरै कुराले फरक छे र ऊ परिवर्तित पात्र हो,’ आँचलले भनिन्।

आँचल घरको माइली छोरी हुन् र एक मुट्ठी बादल फिल्ममा पनि माइली पात्र छ। जसको कुनै नाम छैन। तर माइली आफैमा जबरजस्त नाम हो। भन्छिन्, ‘हामी माइलीहरु हौँ। जहाँ पुग पनि घरका माइली हौँ। मात्र कतिले आफ्नो सपना पूरा गर्छन् कतिले गर्दैनन्।’

समाजमा माइलीहरूको जीवन त्रासपूर्ण पनि छ र उल्लासमय पनि छ। तर माइलीहरू संघर्षशील छन् आँचलका नजरमा। आजको समाजमा पनि।

‘कुनै फिल्म हेर्नका लागि मात्रै बनेको हुन्छ कुनै फिल्म आफै अनूभूत गर्न सकिने हुन्छ। हो- एक मुट्ठी बादल’ फिल्म पनि महसुस गर्न सकिने फिल्म हो, त्यसैले मैले केही नयाँ गर्ने कोसिस गरेको भनेको हुँ,’ उनले भनिन्।

आफूले फरक फरक चरित्र बाँचेर आए पनि दर्शकले त्यसलाई नोट नगरेको भन्दै आँचल बिल्कुल नयाँ कथ्यशैलीमा आफूले एक मुट्ठी बादलमा काम गर्न पाएको अनुभूति सुनाउँछन्, ‘मैले हरेक चलचित्रमा केही नयाँ खालको चरित्र गर्दै आएको छु। त्यसलाई भर्सटाइल नै भनौँ। तर दर्शक तथा मेकरले खासै ‘नोट’ गरेको लागेन।’

तर यसपाली दर्शकले ‘नोट’ गर्न सक्ने पात्रको भूमिकामा देखिन लागेको बताइन्। विवाहको वरिपरि घुमेर बनेको फिल्ममा अभिनेत्री आँचल शर्मा नै केन्द्रमा छिन्।

चावहिलको गणेशथान नजिकैको एक घरमा उनको जन्म भयो र हुर्किन् त्यसै आसपास। बाल्यकालमा अन्तरमुखी स्वाभावकी आँचललाई कानुन पढ्न मन थियो। कालो कोट लगाएर वकालत गर्न मन थियो। तर उनका पिताजीले आँचल फिल्म क्षेत्रमा हुने पात्रको रूपमा परिचित गराइदिए।

‘मलाई कलाकारितामा लाग्न मन थिएन। एसएलसी दिएपछि कानुनी क्षेत्रमा केही गर्ने बिचारचाहिँ थियो तर बुवाले मलाई अभिनय गर्न सुझाव दिनु भयो। जब बुवाले नै यो क्षेत्रमा लाग्न प्रोत्सहान दिएपछि मैले धेरै सोचिनँ,’ उनले भनिन्।

धेरै महिला कलाकार तथा अभिनेत्रलाई फिल्म क्षेत्रमा लाग्न घरपरिवारकाले दिँदैनन् तर आँचललाई पारिवारिक साथ र सहयोग नै मिल्यो। अनि उनले अभिनयका लागि पहिलो खुट्किलो बन्यो मोडलिङ।

सुन्दर नायिकाको रूपमा परिचित आँचलले ब्युटी प्रेजेन्टमा भाग लिँदै सन् २०१५ बाट फिल्म खेलिन्। यो एक दशक फिल्म यात्रामा चलचित्रका थुप्रै पात्र भएर बाँचिन्। भन्छिन्,’मैले थुप्रै चरित्रमा बाँचे। मैले निर्वाह गरेको भूमिका चरित्र एक पछि अर्को खालको छ।’

आँचल अहिले आफूले निर्वाह गरेन पात्र कति विविधतायुक्त छ। कति प्रभावकारी छ। समाजप्रति कति उत्तरदायी छ भनेर खोज्न सक्ने भएकी बताउँछिन्। ‘पहिला फिल्म भएपुग्थ्यो अहिले पात्रहरूमा विविधता खोज्न थालेकी छुँ। केही नयाँपन खोज्न थालेकी छु,’ उनले भनिन्।

आँचल अहिले स्क्रिप्टलाई गम्भीर अध्ययन नगरी फिल्म नखेल्ने गरेको बताउँछिन। आफूले नबुझेका स्क्रिप्टलाई लिएर साथीहरूसँग सोधपुछ गरेको बताउँछिन्। त्यस्तै चरित्र थियो ‘दु:खी आत्मा’को।

आँचल फिल्मलाई लिएर केही वर्ष यता गम्भीर छिन्। नयाँ फिल्म आउँदा डराउँछिन्। तर एक मुट्ठी बादल फिल्मसँग उनी कम डराएकी छन्। एउटा गम्भीर बिषयलाई समेटेको फिल्ममा काम गरेका कारण पनि उनको डर हराएको बताउँछिन्। भन्छन्, ‘यो फिल्म दर्शकले रुचाउने छन्।’

नेपाली फिल्म क्षेत्रमा पुरुष नै निर्देशक बढी छन्। पहिलोपटक उनले महिला निर्देशक रहेको फिल्म गरिन्। महिला निर्देशकसँग काम गर्दा नायिकालाई चाहिँ धेरै कुराको छुट पाएको अनुभूत हुने बताउँछिन्।

‘मेल डाइरेक्टर हुँदा कमेण्ट गर्न डराउनु पर्थ्यो। यस्तो गर्छु भन्न सोच्नु पर्थ्यो। तर महिला निर्देशकसँग काम गर्दा आफ्ना कुरा राख्न पाइँदोरहेछ। साहराजीसँग त अझ धेरै सहज भयो,’ उनले भनिन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…