- मेटा र गुगलको आधिकारिक साझेदार टेलि डिजिटलले संवादात्मक व्यापारको सम्भावनाहरू उजागर गर्न ‘द कन्भरेन्स’ कार्यक्रम आयोजना गर्यो।
- नेपाली व्यवसायहरूलाई स्थानीय भुक्तानी र विशेषज्ञतासहित डिजिटल प्लेटफर्ममा प्रत्यक्ष पहुँचको अवसर उपलब्ध गराउनेमा कार्यक्रम केन्द्रित थियो।
- ह्वाट्सएप बिजनेस एपीआईले नेपालमा ग्राहकसँग व्यक्तिगत संवाद गर्ने अवसर दिई ग्राहक-केन्द्रित इकोसिस्टम निर्माणमा सहयोग पुर्याउने बताइयो।
काठमाडौँ — रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेज प्रा.लि.ले मेटासँगको सहकार्यमा बिहीबार ‘द कन्भरेन्स’ नामक एक विशेष र ऐतिहासिक उद्योगस्तरीय कार्यक्रम आयोजना गरेको छ।
मेटा र गुगलको आधिकारिक साझेदारको रूपमा रहेको टेलि डिजिटलले नेपाली व्यवसायहरूका लागि संवादात्मक व्यापारको सम्भावनाहरू उजागर गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा नेपालका विभिन्न कर्पोरेट क्षेत्रका व्यावसायिक नेतृत्वकर्ताहरू, ब्रान्ड मार्केटरहरू तथा डिजिटल निर्णयकर्ताहरूको व्यापक सहभागिता रहेको थियो।
नेपालको डिजिटल क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको यस कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अल्बर्ट टियोङ मुख्य वक्ताका रूपमा उपस्थित थिए।
उनको उपस्थितिले नेपाललाई संवादात्मक व्यापारका लागि एक उदाउँदो र रणनीतिक रूपमा महत्त्वपूर्ण बजारको रूपमा मेटाले लिएको प्राथमिकतालाई झल्काएको छ। कार्यक्रममा नेपालका प्रतिष्ठित कम्पनीका उच्च अधिकारीहरूको उपस्थिति थियो, जहाँ ह्वाट्सएप बिजनेस एपीआई मार्फत ग्राहक सेवा, लिड जेनेरेसन, बिक्री रूपान्तरण, ग्राहक टिकाइराख्ने रणनीति र व्यक्तिगत स्तरको संवादलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
छलफलका क्रममा विश्वव्यापी व्यावसायिक म्यासेजिङ प्रवृत्ताबारे जानकारी दिँदै मेटाका म्यासेजिङ प्लेटफर्महरूमा प्रत्येक हप्ता एक अर्बभन्दा बढी मानिसहरू व्यवसायसँग जोडिने गरेको तथ्य प्रस्तुत गरिएको थियो।
नेपालमा ह्वाट्सएप व्यापक रूपमा प्रयोग भइरहेकाले नेपाली व्यवसायहरूले एशएमएस र इमेल जस्ता परम्परागत माध्यमभन्दा बाहिर गएर प्रत्यक्ष, विश्वसनीय र मापनयोग्य ग्राहक संवादको अवसर उपयोग गर्न सक्ने विषयमा विशेष जोड दिइएको थियो।
वक्ताहरूका अनुसार व्यावसायिक म्यासेजिङका लागि नेपाल अहिले उत्साहजनक मोडमा पुगेको र बजारमा तीव्र गति देखिएको छ। ह्वाट्सएप बिजनेस प्लेटफर्म ठमेलको सानो पारिवारिक पसलदेखि राष्ट्रिय बैंकसम्म सबै प्रकारका व्यवसायका लागि तयार पारिएकाले नेपाली ब्रान्डहरूले आजैदेखि यसको उपयोग सुरु गर्न सक्ने अवस्था बनिसकेको कार्यक्रममा बताइएको थियो।
कार्यक्रममा रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले पाँच दशकभन्दा बढी समयदेखि रमेश कर्प नेपाली व्यवसायहरूको वृद्धि र प्रगतिमा साझेदार बनेको उल्लेख गर्दै टेलि डिजिटललाई सहयोग गर्नु त्यही प्रतिबद्धताको निरन्तरता भएको बताए।
नेपाली व्यवसायहरूले स्थानीय सहयोग, स्थानीय भुक्तानी सुविधा तथा पूर्ण प्लेटफर्म पहुँचसहित विश्वका शक्तिशाली डिजिटल प्लेटफर्महरूमा प्रत्यक्ष पहुँच पाउन सकून् भन्ने उद्देश्य रहेको उनले स्पष्ट पारे।
त्यस्तै, टेलि डिजिटल सर्भिस प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत नवांकुर सूदले मानिसहरूलाई जबरजस्ती बिक्री गराउनुभन्दा उनीहरू संवादमार्फत खरिद गर्न चाहने भएकाले ग्राहक-केन्द्रित डिजिटल इकोसिस्टम निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।
ह्वाट्सएप बिजनेस एपीआईले नेपाली व्यवसायलाई ग्राहकहरू जहाँ छन्, त्यहीँ पुगेर व्यक्तिगत अनुभूति हुने संवाद गर्न सक्षम बनाउने र ‘द कन्भरेन्स’ नेपाली बजारलाई आधारबाट निर्माण गर्ने आफूहरूको प्रतिबद्धता रहेको उनले बताए।
टेलि डिजिटल सर्भिसेज प्रा.लि. गुगल, मेटा र ह्वाट्सएपको आधिकारिक साझेदारका रूपमा कार्यरत संस्था हो, जसले नेपाली व्यवसायहरूलाई गुगल एड्स, मेटा एड्स, गुगल वर्कस्पेस तथा ह्वाट्सएप बिजनेस एपीआई सेवाहरू स्थानीय भुक्तानी सुविधा, स्थानीय विशेषज्ञता, तत्काल विज्ञापन क्रेडिट र नेपालमै उपलब्ध समर्पित सेवासहित प्रदान गर्दै आएको छ।
रमेश कर्पको पाँच दशकभन्दा लामो विश्वास र अनुभवको आधारमा टेलि डिजिटलले नेपाली व्यवसायहरूलाई विचौलिया, विदेशी भुक्तानी जटिलता र सञ्चालन सम्बन्धी अवरोधबिना विश्वस्तरीय डिजिटल प्रविधिमा पहुँच दिलाउने कार्य गरिरहेको छ।
भर्खरै
लोकप्रिय
