काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीले सार्वभौम संसद्को रोष्ट्रमबाट नेपालले भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिनु अनुचित भएको बताएका हुन्।
उनी भन्छन्, ‘प्रधानमन्त्री वालेन्द्र शाहले सार्वभौम संसद्को रोष्ट्रमबाट सीमाजस्तो संवेदनशील विषयलाई आज जसरी प्रस्तुत गर्नुभयो, त्यो आपत्तिजनक छ। भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयाँ नभए पनि नेपालले छिमेकी भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित भएको राप्रपाको बुझाइ छ।’
उनले यस विषयमा सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक गर्न माग गरेका छन्। उनले भनेका छन्,’यस विषयमा यथार्थ प्रष्ट पार्न राप्रपा प्रधानमन्त्री एवं नेपाल सरकारसँग माग गर्दछ। साथै, यस सम्बन्धमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक हुनुपर्दछ।’
भर्खरै
लोकप्रिय
