काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भनि दिएको अभिव्यक्ति घोर आपत्तिजनक भएको बताएका छन्।
सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्ति निन्दनीय, घोर आपत्तिजनक रहेको भन्दै त्यसको आफ्नो पार्टीले सम्पूर्ण रुपमा विरोध गर्ने बताए।
उनले भने, ‘नेपालको सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राख्नुभएको विषय निन्दनीय छ, घोर आपत्तिजनक छ र नेपाली कांग्रेस पार्टीले यसको सम्पूर्ण रुपमा विरोध गर्दछ। हामीले यो कुरालाई प्रष्ट भनिसकेका छौँ।’
उनले प्रधानमन्त्रीको अभिव्यक्तिले भारतसँग नेपालको सीमासम्बन्धी अडानलाई कमजोर बनाएको, कूटनीतिक माध्यमबाट ती समस्या हल गर्न सकिने सम्भावनालाई क्षीण बनाएको बताए।
उनले भने, ‘सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडानहरु छन्। त्यसका पछाडि केही कथनहरू छन्, प्रमाणहरू छन्। प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ। छिमेकीसँग कूटनीतिक माध्यामबाट हल गर्न सकिने सम्भावनालाई क्षीण बनाएको छ। नेपाली कांग्रेस पार्टी यसको विरोध गर्दछ।’
उनले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्ति धेरै नबुझी बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक रहेको भन्दै आक्रोशसमेत व्यक्त गरे। उनले प्रधानमन्त्री शाहलाई नेपाल–भारतको खुला सीमानाबारे सामान्य राजनीतिक सुझबुझ पनि रहेनछ भन्ने पुष्टि भएको बताए।
उनले भने, ‘कति साथीहरूले के भनि राख्नुभएको छ भने प्रधानमन्त्रीले यो कुरा धेरै नबुझी बोल्नुभयो। धेरै नबुझी बोल्न भएको छ भने यो विषय चिन्ताजनक छ। धेरै बुझेर बोल्नुभएको छ भने यो खतरनाक छ। प्रधानमन्त्रीजीले नेपाल र भारतको सीमानाको बारेमा, नेपाल भारतको खुला सीमानाबारे सामान्य राजनीतिक सुझबुझ पनि राख्नु हुँदोरहेनछ भन्ने कुराको प्रमाण हिजो आफैले दिनुभएको छ।’
भर्खरै
लोकप्रिय
