काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा आएर माफी माग्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएकोले माफी माग्नुपर्ने बताएका हुन्।
उनले भारतलाई रिझाउने हिसाबले बोलेको हो कि भन्ने शंका उत्पन्न भएको बताए। प्रधानमन्त्री शाहको ‘नेपालले भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, सुरक्षामाथि नै खतरा हुने देखिएको उनको भनाइ छ।
उनले प्रधानमन्त्रीले नेपालले भारतको कहाँ, कति भूमि मिचेको हो भन्ने जानकारी दिनुपर्ने बताए।
उनले भने, ‘उहाँले बोल्नुभएको सरासर गलत छ, कार्यकारी प्रमुखले त्यो तरिकाले बोल्न हुन्न। उहाँले जे बोल्नु भएको छ, त्यसले हाम्रो देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, सुरक्षामाथि नै खतरा हुने देखिन्छ। त्यो बोलिसकेपछि विभिन्न ठाउँहरूमा भारतीय सेनाहरू हातहतियार लिएर प्रवेश गरे, विभिन्न खालको योजनाहरू रोकिए भन्ने कुराहरू आइरहेको छ। उहाँले आफ्नो गलत भनाइलाई सच्याउँदै सदनमा माफी माग्नुपर्छ।’
उनले प्रधानमन्त्री शाहले संसद्मा आएर माफी नमागेसम्म संसद्मा अरु विषयमा छलफल नहुने बताए। उनले राष्ट्रियताभन्दा ठूलो बजेटको छलफल नभएको उल्लेख गरे।
भर्खरै
लोकप्रिय
