- नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री मोदी र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता भई संमृद्ध भविष्यका लागि मिलेर अघि बढ्ने सहमति भयो।
- मोदीले नेपाललाई प्राथमिकताको साझेदार बताउँदै दुई देशबीचको विशेष सम्बन्धलाई अझ उचाइमा पुर्याउन सहकार्य गर्ने जनाए।
- लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने भ्रमणमा भारतीय मन्त्रीहरूसँग भेट गर्दैछन्।
काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
नयाँदिल्लीमा भएको भेटवार्ताका विषयमा सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मोदीले दुई देशबीचको संमृद्ध भविष्यका लागि मिलेर अघि बढ्ने बताएका छन्।
मोदीले लामिछानेसँग भेटन पाउँदा खुसी लागेको पनि बताएका छन्। ‘रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। एक साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँ (रवि)को चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पनि पूर्ण सहमति छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
साथै दुई देशबीचको विषेश एवं बहुआयमिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन सहकार्य गर्ने पनि मोदीको भनाइ छ। ‘हाम्रो छिमेकी पहिलो’ (नेइबरवुड फस्ट) नीति अन्तर्गत नेपाल एक प्राथमिकताको साझेदार हो र हाम्रा दुई देशबीचको विशेष एवं बहुआयामिक सम्बन्धलाई अझ उच्च उचाइमा पुर्याउन हामी नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ’, उनले भनेका छन्।
प्रधानमन्त्री मोदीसँग लामिछानेको भेटमा भारतका विदेशमन्त्री एस जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि सहभागी थिए।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा लामिछाने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार भारतको पाँच दिने भ्रमणमा गएका थिए।
मंगलबार लामिछानेलाई भाजपा कार्यालयमा पार्टी अध्यक्ष नितिन नवीनले स्वागत गरेका थिए। मंगलबार नै भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग लामिछानेको भेटवार्ता भएको थियो।
भारत भ्रमणमा लामिछानेसँग उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका विदेश विभाग प्रमुख तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य पनि सहभागी छन्।

भर्खरै
लोकप्रिय
