- मुगु जिल्लाका तीन जना शिक्षकलाई कर्णाली प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयले उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरेको छ।
- कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले १० जिल्लाका शिक्षकहरूलाई प्रशंसापत्र र नगद पुरस्कार वितरण गरेका थिए।
- निर्देशनालयले शिक्षण पेशाको मर्यादा वृद्धिका लागि हरेक वर्ष उत्कृष्ट शिक्षकहरूलाई चयन र सम्मान गर्ने बतायो।
मुगु – मुगु जिल्लाका तीन जना शिक्षक कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय, सुर्खेतद्वारा उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएका छन्।
शिक्षा क्षेत्रमा पुर्याएको योगदान, शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीहरूको सिकाइ उपलब्धिमा खेलेको महत्वपूर्ण भूमिकाको मूल्याङ्कन गर्दै जिल्लाका उत्कृष्ट शिक्षक छनोट कार्यक्रमअन्तर्गत उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुने शिक्षक र शिक्षिका हरूमा श्री महाकाली नमूना माध्यमिक विद्यालयका प्रानाध्यापक खड्गबहादुर रोकाया, श्री मालिका आधारभूत विद्यालयकी सहायक प्रधानाध्यापक एवं नेपाल शिक्षक महासंघकी अध्यक्ष विष्णुमाया भाम तथा श्री महादेव माध्यमिक विद्यालय हयाङ्लु का प्रधानाध्यापक नवराज कोइराला छन्।
शुक्रबार बिरेन्द्र नगर सुर्खेत स्थित सामाजिक बिकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको थियो। सामाजिक विकासमन्त्री घनश्याम भण्डारी ले सम्मानित शिक्षकहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कार प्रदान गरेका हुन्।
शिक्षा विकास निर्देशनालयले हरेक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकहरूलाई छनोट गरी सम्मान गर्दै आएको जनाएको छ। शिक्षण पेसालाई थप मर्यादित बनाउने, शिक्षकहरूको मनोबल उच्च राख्ने तथा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको निर्देशनालयले जनाएको छ।
भर्खरै
लोकप्रिय
