- यस सहकार्यले खेलाडीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्दै दुई संस्थाबीचको सम्बन्धलाई अझ विस्तार गर्ने उद्देश्य राखेको छ।
- सम्झौतामा नेपाल पुलिस क्लबका खेलाडी, प्रशिक्षक र कर्मचारीहरूलाई इन्स्योरेन्सका विविध योजना उपलब्ध गराइनेछ।
- आइजीआई प्रुडेन्सियलले आर्थिक सहयोग दिंदै क्लबको विकास र खेलकुद गतिविविधिमा योगदान पुर्याउने अपेक्षा गरेको छ।
काठमाडौँ- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लब बीच खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले एक आपसी सम्झौता सम्पन्न भएको छ।
यस सहकार्यले खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्नुका साथै दुई संस्थाबीचको संस्थागत सम्बन्धलाई अझ विस्तार गर्ने लक्ष्य राखेको छ।
उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (CEO) युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) शिद्धी विक्रम शाहले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार नेपाल पुलिस अन्तर्गतको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग आबद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका विभिन्न बीमा योजनाहरूमा समेटेर सेवा प्रदान गरिनेछ।

यसका साथै, इन्स्योरेन्स कम्पनीले नेपाल पुलिस फुटबल क्लबलाई आर्थिक सहयोग समेत उपलब्ध गराउने भएको छ। यो आर्थिक सहयोगले क्लबको खेलकुद गतिविधि, खेलाडीहरूको विकास तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले ऐतिहासिक र गौरवशाली नेपाल पुलिस क्लबसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको बताए। खेलाडीहरूको मनोबल उच्च राख्दै खेलकुद क्षेत्रको विकासमा योगदान दिन पाएकोमा खुसी व्यक्त गर्दै उनले दुवै संस्थाबीचको यो सहकार्य निरन्तर रहने प्रतिबद्धता समेत जनाए।
त्यस्तै, प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले खेलकुद विकास र खेलाडीहरूको उन्नतिमा गरिएको सहयोगप्रति आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सम्पूर्ण टिमप्रति आभार व्यक्त गरे। उनले यस नवीन सहकार्यले क्लबको दीर्घकालीन विकास यात्रामा महत्वपूर्ण टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्।
भर्खरै
लोकप्रिय
