- बुद्ध एयरले असार १ देखि लामो दूरीका उडानमा दुईतर्फी टिकटमा ‘रोयल क्लब’ सदस्यलाई विशेष छुट अफर गरेको छ।
- रोयल क्लब सदस्यले टिकट बुकिङमा माइलेज आईडी प्रयोग गर्दा अतिरिक्त ५ केजी लगेज तथा अन्य स्थानमा छुट पाउनेछन्।
- कम्पनीले फिफा वर्ल्डकप खेलहरू ‘डीजीओ’ एपमा निःशुल्क हेर्नका लागि रोयल क्लब सदस्यलाई सब्सक्रिप्सन प्रदान गर्नेछ।
काठमाडौँ- निजी क्षेत्रको प्रमुख वायुसेवा कम्पनी बुद्ध एयरले आफ्ना ‘रोयल क्लब’ सदस्यहरूका लागि विशेष सहुलियत सहितको ‘गज्जबको डिस्काउण्ट अफर’ सार्वजनिक गरेको छ।
आगामी असार १ गतेदेखि लागू हुने यस योजना अन्तर्गत लामो दूरीका विभिन्न आन्तरिक गन्तव्यहरूमा उडान गर्ने यात्रुहरूले आकर्षक छुट पाउनेछन्। कम्पनीका अनुसार यो योजना निश्चित अवधिका लागि मात्रै लागू गरिएको हो।
यस अफर अन्तर्गत धनगढी उडानमा रु. १,२००, नेपालगञ्ज र सुर्खेत उडानमा रु. १,००० तथा भद्रपुर उडानमा रु. ८०० सम्मको विशेष छुटको व्यवस्था गरिएको छ। उक्त छुट दुईतर्फी (राउन्ड ट्रिप) उडान गर्ने यात्रुहरूका लागि मात्र मान्य हुनेछ। कम्पनीले धनगढीमा दैनिक ३ उडान, सुर्खेतमा २ उडान, नेपालगञ्जमा ५ उडान र भद्रपुरमा ५ उडान सञ्चालन गर्दै आएको तालिका समेत सार्वजनिक गरेको छ।
छुट सुविधा प्राप्त गर्नका लागि रोयल क्लबका सदस्यहरूले टिकट बुकिङ गर्दा अनिवार्य रूपमा आफ्नो रोयल क्लब माइलेज आईडी नम्बर इन्ट्री गराउनु पर्नेछ।
यदि आईडी नम्बर इन्ट्री नगरिएको खण्डमा यो अफर लागू नहुने कम्पनीले प्रष्ट पारेको छ। यात्रुहरूले टिकट काट्दा आफ्ना ट्राभल पार्टनर वा एजेन्सीहरूलाई माइलेज आईडी नम्बर समावेश गरिदिन अनुरोध गर्न सक्नेछन्। बुद्ध एयरको रोयल क्लब सदस्यता कम्पनीको वेबसाइट वा मोबाइल एपमार्फत सजिलै लिन सकिन्छ।
रोयल क्लबका सदस्यहरूले टिकटमा छुट पाउनुका साथै थप ५ केजी अतिरिक्त लगेज लैजान पाउने सुविधा समेत प्राप्त गर्नेछन्। यसका साथै विभिन्न सुपरमार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट तथा गिफ्ट शपहरूबाट आफ्नो माइलेज प्वाइन्ट प्रयोग गरी विशेष डिस्काउण्ट लिन सक्ने सुविधा पनि सदस्यहरूलाई उपलब्ध छ।
हाल बुद्ध एयरले देशका विभिन्न भागमा दैनिक ६ दर्जन (७२) भन्दा बढी उडानहरू सञ्चालन गर्दै आएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ भने भारतको वाराणसीमा हप्ताको सोमबार, बुधबार र शुक्रबार तथा कोलकातातर्फ आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भइरहेको छ।
रोयल क्लब सदस्यलाई निःशुल्क विश्वकप सब्सक्रिप्सन पनि
यसैबीच बुद्ध एयरले आफ्ना यात्रुहरूलाई मोबाइलबाटै सजिलै विश्वकप फुटबलका खेलहरू हेर्नका लागि एचटिभी–दिगो ब्रोडकास्टिङ कन्सोर्टियम जेभीसँग सम्झौता गरेको छ। यस सम्झौता अन्तर्गत रोयल क्लबका सदस्यहरूले ‘डीजीओ’ एपमार्फत फिफा वर्ल्डकपका सम्पूर्ण खेलहरू निःशुल्क हेर्नका लागि फ्रि सब्सक्रिप्सन पाउनेछन्।
बुद्ध एयरले आगामी ४ हप्तासम्म हरेक साता सयौँको संख्यामा आफ्ना क्लब सदस्यहरूलाई यो निःशुल्क सब्सक्रिप्सन वितरण गर्ने विज्ञप्तिमा उल्लेख छ।
भर्खरै
लोकप्रिय
