- सरकारले विद्युतीय सवारीसाधनमा CIIF लागू गरेपछि गाडीहरूको मूल्य समायोजन गरिएको र मूल्यमा वाढ भएको छ।
- जिली EX5 म्याक्सको मूल्य बढेर रु. ७३ लाख र जिली EX5 प्रोको मूल्य रु. ६२ लाख पुगेको छ।
- एलआरआर मोटर्सले विद्युतीय सवारीसाधनमा भरपर्दो सेवा र वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौं- नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमार्फत विद्युतीय सवारीसाधनमा नयाँ कर व्यवस्था लागू गरेपछि नेपाली बजारमा गाडीको मूल्यमा फेरबदल आउन थालेको छ।
यसै क्रममा एलआरआर मोटर्सले आफ्नो लोकप्रिय विद्युतीय एसयूभी श्रृंखला जिली EX5 म्याक्स र जिली EX5 प्रो को खुद्रा बिक्री मूल्य पुनः समायोजन गरेको जानकारी गराएको छ। कम्पनीका अनुसार नयाँ मूल्य सूची कायम भएसँगै अब जिली EX5 म्याक्सको मूल्य रु. ७३ लाख तथा जिली EX5 प्रो को मूल्य रु. ६२ लाख पुगेको छ।
सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत विद्युतीय सवारीसाधनको भन्सार मूल्याङ्कनका आधारमा स्वच्छ पूर्वाधार लगानी शुल्क (Clean Infrastructure Investment Fee – CIIF) लागू गरेपछि यो मूल्य समायोजन गर्नुपरेको कम्पनीले स्पष्ट पारेको छ।
नयाँ व्यवस्थाअनुसार रु. २० लाखसम्म भन्सार मूल्य भएका सवारीसाधनमा २.५ प्रतिशत, रु. २० लाखदेखि रु. ३० लाखसम्ममा २० प्रतिशत, र रु. ३० लाखदेखि रु. ४० लाखसम्ममा ३५ प्रतिशत शुल्क लाग्नेछ।
त्यसैगरी, रु. ४० लाखदेखि रु. ५० लाखसम्म भन्सार मूल्य भएका विद्युतीय सवारीसाधनमा ९० प्रतिशत र रु. ५० लाखभन्दा बढी भन्सार मूल्य भएका सवारीसाधनमा १३० प्रतिशत CIIF शुल्क निर्धारण गरिएको छ। यो शुल्कका अतिरिक्त भन्सार महसुल, मूल्य अभिवृद्धि कर (VAT) तथा सडक निर्माण दस्तुर समेत थपिने भएकाले प्रिमियम श्रेणीका विद्युतीय सवारीसाधनहरूको आयात लागतमा उल्लेखनीय वृद्धि भएको हो।
मूल्यमा वृद्धि भए तापनि जिली नेपालले नेपाली ग्राहकहरूलाई उत्कृष्ट मूल्य, अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा सुविधा तथा विश्वस्तरीय स्वामित्व अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
जिली EX5 हाल नेपाली बजारमा उपलब्ध सबैभन्दा उन्नत प्रविधियुक्त र सुविधासम्पन्न विद्युतीय एसयूभीमध्ये एकका रूपमा स्थापित रहेको कम्पनीको दाबी छ।
यस विषयमा कम्पनीका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठले नयाँ कर व्यवस्थाले ग्राहकहरूको खरिद निर्णयमा केही प्रभाव पार्न सक्ने विषयमा आफूहरू सचेत रहेको बताएका छन्।
उनले सरकारको नयाँ वित्तीय नीतिका कारण आयात लागतमा आएको अपरिहार्य वृद्धिलाई प्रतिबिम्बित गर्दै मूल्य समायोजन गरिएको स्पष्ट पारे।
साथै, एलआरआर मोटर्स उच्च गुणस्तरका विद्युतीय सवारीसाधन, भरपर्दो बिक्रीपछिको सेवा तथा उत्कृष्ट ग्राहक सहयोगमार्फत नेपाललाई दिगो र वातावरणमैत्री यातायाततर्फ अग्रसर गराउने आफ्नो प्रतिबद्धतामा दृढ रहेको समेत उनले उल्लेख गरे। जिली EX5 प्रो तथा जिली EX5 म्याक्स सम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले नजिकको जिली शोरुम वा जिली नेपालका प्रतिनिधिसँग सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।
भर्खरै
लोकप्रिय
