- मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम विरुद्धको संशोधन प्रस्ताव बहुमतले पारित भएपछि सरकार नैतिक संकटमा परेको छ।
- मुख्य प्रतिपक्षी दल जसपा नेपालले संशोधन प्रस्ताव पारित भएसँगै सरकारको नैतिक संकटमा रहेको टिप्पणी गरेको छ।
- प्रदेशसभा बैठक प्रतिपक्षीको आपत्तिपछि १० मिनेटका लागि रोकिएको र भोली बिहान ११ बजेसम्म स्थगित गरिएको छ।
जनकपुरधाम – मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रमको विरुद्धमा परेको संशोधन प्रस्ताव बहुमतले पारित भएपछि सरकार नैतिक संकटमा परेको छ। सत्तारुढ दल नेकपा एमालेका प्रदेशसभा सदस्य राजकुमार लेखीले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएपछि उक्त प्रस्ताव सभामुख रामअशिष यादवले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो।
संशोधन कर्ता एमालेका प्रदेशसभा सदस्य लेखीले आफ्नो प्रस्ताव फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गरिएकोमा पारित भएकाले मधेस सरकार अब नैतिक संकटमा परेको प्रतिपक्षी दलहरुले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य एवं पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले संशोधन प्रस्ताव पारित भएसँगै आपत्ति जनाएका थिए। उनले सरकारको नीति तथा कार्यक्रम अब हुबहु पास हुने अवस्था नरहेकाले सरकार अब नैतिक संकटमा रहेको भन्दै भने, ‘अब सभामुखबाट मुख्यमन्त्रीले के गर्नुपर्ने भनेर रुलिंग हुनुपर्छ।’
सोनलले आपत्ति जनाएपछि १० मिनेटका लागि स्थगित भएको प्रदेशसभा बैठक भोली बिहान ११ बजेसम्मका लािग स्थगित भएको हो
जेठ १५ गते मधेस सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दा प्रतिपक्षी दलको अवरोधको कारण छलफल हुन सकेको थिएन।
आज छलफल भएपछि दर्ता भएको संशोधन प्रस्तावमाथि छलफल पश्चात मुख्यमन्त्री यादवले जवाफ दिएकोमा लेखीले आफ्नो संशोधन प्रस्ताव माथि जवाफ नआएको भन्दै संशोधन प्रस्ताव फिर्ता लिएका थिएनन्।
लेखीले मुख्यमन्त्रीले विभिन्न माननीयले दर्ता गराएको संशोधन प्रस्तावलाई सम्बोधन गर्ने प्रयास गरेको भन्दै आफूल प्रादेशिक अस्पताल, कोसी टप्पु वन्यजन्तु आरक्ष, त्रियुगा नदी लगायत प्रदेशभर रहेको नदी नाला सम्बन्धमा संशोधन प्रस्तावमा उठाएकोमा मुख्यमन्त्रीले सम्बोधन गर्ने प्रयास जस्तो भनेकाले आफू दोधारमा रहेको भन्दै उक्त संशोधन प्रस्ताव फिर्ता लिएका थिएनन्।
भर्खरै
लोकप्रिय
