- न्यायाधीश शुभाषबाबु पुरीको ईजलाशले थुनुवा कक्षबाट भागेका ९ जनालाई एक वर्षको कैदको सजाय सुनाएको छ।
- थुनुवा कक्ष फोडेर भागेका आरोपीलाई हिरासतबाट भागेको अभियोगमा फरक फरक सजाय दिइएको छ।
- ९ थुनुवा शौचालयको भेन्टिलेशन फोडेर भागेका थिए र दुई दिनमै सबै पक्राउ परेका थिए।
जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट फरार भएका ९ जनाले धनुषा जिल्ला अदालतबाट एक वर्षको सजाय पाएका छन्। शुक्रबार न्यायाधीश शुभाषबाबु पुरीको ईजलाशले थुनुवा कक्षबाट भागेका कैदीहरुलाई भागेकोमा दायर भएको मुद्दामा अभियोग दावी पुग्ने फैसला सुनाएको हो।
२९ औं पेशीमा अन्तिम फैसला सुनाउँदै न्यायाधीश पुरीको ईजलाशले एक नावालक सहित ९ जनालाई दोषी ठहर गर्दै एक वर्षको कैदको फैसला सुनाएको हो।
धनुषा जिल्ला अदालतका श्रेस्तेदार दिपक पोखरेलका अनुसार ९ जनालाई फरक फरक फैसला सुनाइएको हो। ‘हिरास्त कक्ष फोडेर भागेकोमा एक वर्ष र अन्य मुद्दाको हकमा त्यसै अनुसारको कैदको फैसला आएको हो’, उनले भने।
२०८१ साल असोज ६ गते रातिको समयमा शौचालयको भेन्टिलेशन फोडेर ९ जना थुनुवा फरार भएका थिए। फरार भएपछि असोज ८ गतेभित्र सबै थुनुवा पक्राउ परेका थिए।
थुनुवा कक्षबाट फरार भएका जिल्लाको विदेह नगरपालिका ७ का रंजित मण्डल, जनकपुरधाम उपमहानगरपालिका २० का अमितकुमार झा, जनकपुरधाम ८ का दिपेश मुखिया भन्ने दिप नारायण मुखिया, औरही गाउँपालिका २ बस्ने बिशाल मुखिया, नगराइन नगरपालिका २ बस्ने मनिष मण्डल, विदेह नगरपालिका ७ बस्ने रोशनकुमार मण्डल, जनकपुरधाम ४ बस्ने बिक्की कार्की, सिरहाको सिरहा नगरपालिका १३ बस्ने अभास्कर कुमार यादव र एक जना नावालकलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो।
भर्खरै
लोकप्रिय
