- सिटिजन्स बैंकले ८ औं विशेष साधारण सभामा रु. २ अर्बको perpetual non-cumulative प्रिफरेन्स सेयर जारी गर्ने निर्णय गर्यो।
- सभाले समूह ‘क’ बाट १ र समूह ‘ख’ बाट ३ जना गरी ४ जना सञ्चालक चयन गर्यो।
- बैंकका नवनिर्वाचित सञ्चालकहरू विविध क्षेत्र र संस्थाहरूमा अनुभव भएका विज्ञ व्यक्ति हुन्।
काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।
उक्त विशेष साधारण सभाले बैंकको प्राथमिक पुँजीकोष अनुपात बढाउन, व्यवसाय विस्तार गर्न र जोखिम वहन गर्न सक्ने क्षमता अभिवृद्धि गर्नका लागि रु. २ अर्ब बराबरको अविमोच्य असञ्चित उपभोक्ताग्राही (perpetual non-cumulative) प्रिफरेन्स सेयर जारी गर्ने निर्णय पारित गरेको छ ।
सभाले बैंकको नियमावली अनुसार समूह ‘क’ संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै १ जना र समूह ‘ख’ सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै ३ जना गरी जम्मा ४ जना सञ्चालकहरू निर्वाचित गरेको छ ।
संस्थापक सेयरधनीका तर्फबाट अनिलकुमार ज्ञवाली र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित तथा हिमादेवी खड्का के.सी. सञ्चालक समितिमा निर्वाचित भएका छन् ।
नवनिर्वाचित सञ्चालकहरू आ–आफ्नो क्षेत्रमा सफल एवं विज्ञ छन् । निर्वाचित सञ्चालक प्रकाशचन्द्र मैनाली देशकै ख्यातिप्राप्त एक संयुक्त लगानीको वाणिज्य बैंकमा करिब ९ वर्षभन्दा बढी कार्यअनुभवका साथै सेवामूलक, कुखुरा एवं पंक्षीजन्य उद्योगमा लामो समयदेखि आवद्ध छन् ।
अर्का सञ्चालक अनिलकुमार ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गरेको लामो अनुभव छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।
त्यसैगरी, सञ्चालक समितिका सदस्य डा. राजेन्द्र पण्डितले २० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसकेका छन् । अर्थशास्त्रमा MSc/MA गरेका पण्डितले विगत दुई दशकमा विश्लेषणात्मक र नीति विश्लेषणका क्षेत्रहरूमा विशेषज्ञता हासिल गर्नुका साथै सन् २०१७ मा ‘प्रबल जनसेवाश्री’ सहित विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।
सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित हिमादेवी खड्का केसीसँग UNDP, ILO, GIZ, Oxfam GB जस्ता विभिन्न अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा वरिष्ठ नेतृत्व एवं कार्यक्रम व्यवस्थापकको रूपमा २० वर्षभन्दा बढीको कार्यअनुभव छ ।
उनीसँग आर्थिक पुनरुत्थान, रोजगारी प्रवर्द्धन, MSME विकास र सामाजिक लचिलोपनमा करिब USD १०० मिलियनको विविध कार्यक्रम पोर्टफोलियोको नेतृत्व गरिसकेको अनुभव रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइहरूबाट २० लाख ३२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।
भर्खरै
लोकप्रिय
