- इनड्राइभ नेपाल र डिशहोमको डीजीओ बीचको साझेदारीले विश्वकप २०२६ फुटबलको सामग्री उपभोग गर्न विशेष अफर ल्याएको छ।
- क्याम्पेन अन्तर्गत इनड्राइभ प्रयोगकर्ताहरूले राइड पूरा गर्दा डीजीओ सिजन पासमा छुट र भाउचर जित्न सक्छन्।
- डीजीओ फुटबल सिजन पास भाउचर कुल २,५०० वटा वितरण गरिँदैछ, हरेक सप्ताह करिब ५०० भाउचर उपलब्ध हुनेछ।
काठमाडौँ- इनड्राइभ नेपाल र डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) बीच साझेदारी भएको छ।
नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता डीजीओसँग मिलेर इनड्राइभले ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको हो।
विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न चाहने नेपाली समर्थकहरूलाई लक्षित गर्दै यो योजना ल्याइएको हो।
यो क्याम्पेन १६ जुनदेखि १८ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ। यस अन्तर्गत योग्य इनड्राइभ प्रयोगकर्ताहरूले डीजीओ फुटबल सिजन पासमा विशेष छुट प्राप्त गर्नुका साथै निःशुल्क स्ट्रिमिङ भाउचर जित्ने अवसर पनि पाउनेछन्, जसमार्फत उनीहरूले आफ्नो मोबाइलबाट प्रत्यक्ष विश्वकप खेलहरू हेर्न सक्नेछन्।
विश्वकप २०२६ का धेरै खेलहरू उत्तर अमेरिकी समयअनुसार सञ्चालन हुने भएकाले नेपालमा मध्यरात तथा बिहानको समयमा प्रसारण हुनेछ। यस कारण समर्थकहरूका लागि डिजिटल तथा मोबाइल स्ट्रिमिङ प्लेटफर्महरू लोकप्रिय विकल्प बन्ने अनुमान गरिएको छ।
क्याम्पेन अन्तर्गत कुनै पनि प्रयोगकर्ताले एक साताभित्र इनड्राइभमार्फत कम्तीमा एक राइड पूरा गरेमा डीजीओ फुटबल सिजन पास खरिदमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। त्यसैगरी, एक साताभित्र तीनवटा इनड्राइभ राइड पूरा गर्ने प्रयोगकर्ताहरू स्वतः र्याफल ड्रमा सहभागी भई निःशुल्क डीजीओ फुटबल सिजन पास जित्न सक्नेछन्।
क्याम्पेन अवधिभर पाँच सातासम्म प्रत्येक साता करिब ५०० वटाका दरले कुल २,५०० वटा डीजीओ फुटबल सिजन पास भाउचर वितरण गरिनेछ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेलले डीजीओसँगको साझेदारीमार्फत प्रयोगकर्तालाई पुरस्कार प्रदान गर्नुका साथै मनपर्ने खेल र अविस्मरणीय क्षणसँग जोडिराख्ने अभियान ल्याएको बताएकी छन्।
त्यस्तै, डीजीओका चिफ अपरेटिङ अफिसर रोशन निरौलाले नेपालमा विश्वकप फुटबल प्रसारणको आधिकारिक डिजिटल प्लेटफर्मका रूपमा आफूहरू गुणस्तरीय फुटबल मनोरञ्जन अझ धेरै दर्शकमाझ पुर्याउन प्रतिबद्ध रहेको र इनड्राइभसँगको सहकार्यले समर्थकहरूलाई पुरस्कृत गर्ने माध्यम बनेको उल्लेख गरेका छन्।
भर्खरै
लोकप्रिय
