- लामो समयदेखि पानी नपर्दा धान, कोदो, भट्ट, काउनी खेतमै सुक्न थालेपछि कृषकहरू चिन्तित छन्।
- खडेरीका कारण अन्नबालीहरू क्षतिग्रस्त हुँदा यस वर्ष खाद्य संकटको डर बढ्दै गएको छ।
- असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घट्ने र आर्थिक मन्दीको पीडा थपिन सक्ने आकलन छ।
मुगु – लामो समयदेखि वर्षा नहुँदा यहाँका खेतबारीमा लगाइएका बाली सुक्न थालेपछि स्थानीय कृषकहरू चिन्तित बनेका छन्।
पानीको अभावले धान, कोदो, भट्ट, काउनी लगायतका अन्नबालीहरू खेतमै सुक्न थालेपछि उत्पादन घट्ने चिन्ता बढेको हो।
छायाँनाथ रारा–१ की कृषक झुप्री नेपालीका अनुसार पानी नपर्दा बाली राम्रोसँग बढ्न सकेको छैन र खेतमै सुक्न थालेको छ।
उनले भनिन्, “लामो समय पानी नपरेपछि धान, कोदो, भट्ट, काउनी सबै बाली पहेंलिँदै सुक्न थालेका छन्।”
त्यसैगरी छायाँनाथ रारा नगरपालिका–१ कै अर्की कृषक नन्ददेवी मल्लले पनि खडेरीका कारण अन्नबालीमा ठूलो क्षति पुगेको बताइन्। उनका अनुसार मुख्य बालीहरू सुक्न थालेपछि यस वर्ष खाद्य संकटको डर बढेको छ।
हरेक बर्ष आकासे पानीको भरमा खेतीपाती गर्दै आएका मुगु लगायत कर्णालीका कृषकहरूलाई यस बर्ष भने समयमानै पानी नपरेपछि खेतगडाहरू हरियाली हुनुको साँटो सुख्खा देखिएका छन्।
खडेरीले कतिपय ठाउँमा रोपेका धान समेत ओईलिएका छन् । एकातिर जिल्लामा आर्थिक मन्दीले सताईरहेको बेला खडेरीले समेत झन पीडा थपेको छ।
असार पहिलो हप्ता सम्म पानी नपरेकाले यस बर्ष उत्पादनमा ह्रास आउने र खाद्य संकट हुने आकलन गरिएको छ।
भर्खरै
लोकप्रिय
