- नेपाली चलचित्र उद्योगले सुरुदेखि अहिलेसम्म ठूलो परिवर्तन देखेको छ, विशेषगरी डिजिटल प्रचारमा।
- टिकटकले परम्परागत प्रचारशैली बदल्दै दर्शकलाई चलचित्र प्रचारको हिस्सेदार बनाएको छ।
- सफलताको लागि ठूलो बजेटभन्दा कन्टेन्टको प्रभाव र दर्शक सहभागिता महत्वपूर्ण बनेको छ।
सिनेमा केवल मनोरञ्जनको माध्यम मात्र होइन। यसले समाजको चित्रण गर्छ, संस्कृतिको जगेर्ना गर्छ र विभिन्न पुस्ताका मानिसहरूलाई एक सुत्रमा जोड्ने काम गर्छ। नेपालमा पनि चलचित्र उद्योगले सुरुवाती दिनदेखि अहिलेसम्म ठूलो परिवर्तन देखेको छ।
एक समय थियो, जब फिल्महरू दर्शकमाझ पुर्याउन पोस्टर, पत्रपत्रिका, रेडियो र वर्ड–अफ–माउथको प्रचार नै मुख्य माध्यम हुन्थ्यो। समयसँगै नेपाली चलचित्रको दायरा र पहिचान पनि विस्तार हुँदै गएको छ।
आज नेपाली फिल्महरूले अन्तर्राष्ट्रिय मञ्चमा समेत आफ्नो उपस्थिति बलियो बनाइरहेका छन्। हालै चर्चा कमाएको ‘इलिफेन्ट्स इन द फग’ जस्ता चलचित्रहरूले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा नेपालको मौलिक कथालाई विश्वसामु चिनाइरहेका छन्।
आजभोली फिल्म निर्माणसँगै यसको प्रचारशैली पनि बदलिएको छ। परम्परागत प्रचारका माध्यमहरू बिस्तारै डिजिटल प्लेटफर्मतर्फ सरेका छन्, र अहिले त्यो परिवर्तनको केन्द्रमा टिकटक देखिएको छ। टिकटकले नेपाली फिल्मप्रति दर्शकहरूको आकर्षण बढाउने र उनीहरूसँग जोडिने तरिका नै फेरिदिएको छ।
प्रचारको नयाँ शैली: जहाँ दर्शक आफैं प्रचारमा सामेल हुन्छन्
विज्ञापनमा आधारित परम्परागत प्रचारभन्दा टिकटक भिन्न छ। यहाँ दर्शकहरू केवल दर्शक मात्र हुँदैनन्, उनीहरू स्वयम् प्रचारको हिस्सा बन्छन्। ट्रेलर हेर्ने वा गीत सुन्ने मात्र होइन, टिकटकमा दर्शकहरूले मन परेका डान्स स्टेपहरूदोहोर्याउँछन्, फिल्मका आकर्षक डायलग वा अडियो आफ्ना भिडियोमा प्रयोग गर्छन् र सँगसँगै आफ्नो भावनात्मक प्रतिक्रिया पनि बाँड्ने गर्दछन्। यसरी टिकटकमा फिल्मको प्रचार अझ अन्तरक्रियात्मक, भावनात्मक र दर्शक-केन्द्रित बनिरहेको छ।
यसको प्रभाव हालसालै रिलिज भएका नेपाली फिल्महरूमा पनि स्पष्ट देख्न सकिन्छ। ‘ऊनको स्वीटर’ फिल्मको गीत‘फूल’ सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय बनेको थियो। लाखौँ प्रयोगकर्ताले उक्त गीतलाई आफ्ना भिडियोहरूको ब्याकग्राउण्ड म्युजिक बनाएका थिए। यात्राका भिडियो, आफ्ना प्रियजनसँग बिताएका क्षण र दैनिक जीवनका खुसीका पलहरूमा यो गीत व्यापक रूपमा प्रयोग भएको थियो।
टिकटकमा मात्रै यसको अडियो प्रयोग भएका पोस्टहरूको संख्या २० लाखभन्दा बढी पुगेको थियो। त्यसमाथि, फिल्मका केही दृश्यहरू पनि टिकटकमा सार्वजनिक हुँदा दर्शकहरूमा थप उत्सुकता बढेको थियो।
त्यस्तै, स्वस्तिमा खड्का अभिनित ‘लालीबजार’ले पनि टिकटक मार्फत दर्शकको ध्यान खिच्न सफल भएको थियो। फिल्मको लोकलयमा आधारित गीत ‘मायालाई के दिउँ म बैना’ सिधै टिकटकको अडियो लाइब्रेरीमा राखिएपछि प्रयोगकर्ताहरूले त्यसमा डान्स, भिडियो र विभिन्न कन्टेन्टहरू बनाउन थाले। यसले गीतको भ्युज र लोकप्रियता उल्लेखनीय रूपमा बढाएको थियो। यो अडियो प्रयोग भएका पोस्टहरू १० लाखभन्दा बढी पुगेका थिए।

वर्ड-अफ-माउथदेखि बक्स अफिससम्म
यता ‘पूर्ण बहादुरको सारङ्गी’ले टिकटक मार्फत भावनात्मक प्रचारको प्रभाव कति बलियो हुन सक्छ भन्ने देखाएको थियो। फिल्म रिलिज भइसकेपछि पनि दर्शकहरूको प्रतिक्रिया, समीक्षा र भावुक दृश्यहरू टिकटकमा निरन्तर भाइरल भइरहे।
विशेषगरी फिल्मको मर्मस्पर्शी सारङ्गी धुन इमोसनल भिडियोहरूको ब्याकग्राउण्डमा व्यापक रूपमा प्रयोग भएको थियो। #purnabahadurkosarangi जस्ता ह्यासट्यागले थप चर्चा बढाएका थिए। फिल्मले सुरुको विकेन्डमा अपेक्षाकृत कमजोर व्यापार गरे पनि टिकटकबाट फैलिएको वर्ड-अफ-माउथको प्रचारले पछि अप्रत्याशित रूपमा दर्शकको आकर्षण बढाउँदै बक्स अफिसमा नयाँ गति ल्याएको थियो।
नेपालमा फिल्म प्रचारको बदलिँदो स्वरूप
टिकटकको सबैभन्दा ठूलो शक्ती भनेको बजेटभन्दा पनि ज्यादा कन्टेन्टको प्रभावलाई प्राथमिकता दिनु हो। यसमा कुनै एउटा भावनात्मक दृश्य अथवा मन छुने अडियो केही घण्टामै हजारौँ मानिससम्म पुग्न सक्छ। यसको लागि ठूलो लगानीको आवश्यकता पर्दैन, प्रयोगकर्ताको सहभागिता नै यसको मुख्य आधार हो। नेपाली फिल्मको प्रचार अब केवल निर्माण कम्पनीहरूको नियन्त्रणमा मात्र रहेन।
कुनै पनि फिल्मले दर्शकको मन छोयो भने उनीहरू आफैं त्यसका प्रचारक बन्न सक्छन्। यसरी सिनेमा अब हलभित्र सीमित मनोरञ्जन मात्र नभई सार्वजनिक डिजिटल अनुभवमा रूपान्तरण हुँदै गएको छ। नेपालको डिजिटल संसारमा टिकटकको प्रभाव यस्तै बलियो रहिरहने हो भने अब नेपाली फिल्मको सफलता धेरै हदसम्म त्यसले डिजिटल माध्यम मार्फत दर्शकको मन कति जित्न सक्यो भन्ने कुराले निर्धारण गर्ने निश्चित छ।
भर्खरै
लोकप्रिय
