काठमाडौँ- नेपाली कवितालाई केन्द्रमा राखेर निर्माण गरिएको बहुप्रतीक्षित टेलिभिजन रियालिटी शो ‘जुनियर द पोएट आइडल’को प्रसारण सुरु भएको छ।
यो कार्यक्रम हरेक मंगलबार राति ८ बजे प्राइम टेलिभिजन एचडीमार्फत प्रसारण हुनेछ।
यसअघि ‘द पोएट आइडल’ (सिनियर)का दुईवटा सिजन सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
यसपटक सुरु भएको ‘जुनियर द पोएट आइडल’ मा भने १८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिका तथा किशोर-किशोरीहरूले मात्र भाग लिन पाउने निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए।
कुल १८ वटा एपिसोड रहने यस सिजनले नयाँ पुस्ताका प्रतिभालाई विशेष मञ्च प्रदान गर्ने विश्वास लिइएको छ।
यस शोको निर्णायकका रूपमा कवि विप्लव प्रतीक, अभिनेत्री गौरी मल्ल र गीतकार हर्क साउद रहेका छन् भने कार्यक्रमको सञ्चालन (होस्ट) अभिनेता दिव्यदेवले गरेका छन्।
आयोजकका अनुसार ‘जुनियर द पोएट आइडल’ केवल कविता लेखनमा मात्र सीमित नभई, प्रतियोगीहरूको प्रस्तुतिकरण, भाव सम्प्रेषण र समग्र कलात्मक अभिव्यक्तिको मूल्यांकन गरिने एक बृहत् कला प्रतियोगिता हो।
भर्खरै
लोकप्रिय
