- रञ्जनाले चार दशक लामो मिथिला कला अनुभव आफ्नो क्यानभास ‘शिव र पार्वती’ मा एक्रोलिक कलरको प्रयोगमा उतारेकी छिन्।
- ‘झण्डा कला महोत्सव’ राष्ट्रप्रतिको माया र एकता भाव उद्घाटन गर्दै तीन सयभन्दा बढी कलाकारहरू सहभागितामा चुलिएको छ।
- कलाकार रत्न शाक्यले राष्ट्रिय झण्डाको महत्त्वलाई नयाँ पुस्तामाझ पुर्याउन ‘झण्डा कला महोत्सव’को आयोजना गरेको बताए।
शिव र पार्वतीको हातले झण्डा समाएको छ। चन्द्रसूर्य अंकित त्यो झण्डामा तुर्लुङ्ग डमुरु झुण्डिएको छ। झण्डाको डन्डामाथि त्रिशुल देखिन्छ। त्रिशुलले सूर्यलाई छोएको छ। दायाँ किनार राम-सीता छन्। तल-तल हिमाल छ। र पृष्ठभूमिमा मिथिला कला देखिन्छ। यस्त-यस्तै भाषा र भाव देखिने क्यानाभासको छेउ उभिएर आगन्तुकलाई आफ्नो कला बारे बुझाइरहेकी थिइन् रञ्जना लाल। चार दशकलामो मिथिला कला अनुभव भएकी रञ्जना भन्छिन,’मेरो मिथिला आर्ट राष्ट्रको झण्डाबिना अधुरो छ। तर मिथिला राम सीताबिना पनि अपुरो हुन्छ। त्यसैले मेरो कलामा शिवदेखि रामसम्म अटाएका छन्।’
कयौँ आर्ट प्रदर्शनी गरेकी रञ्जना निकै उत्साहित थिइन्। आगन्तुक जिज्ञासुलाई आफ्नो कलाबारे बुझाउन पाउँदा औधी खुसी हुने बताउँछिन्। ‘कलाभन्दा पर सोचिनँ। अनि आफूले बनाएको आर्टको बारेमा बताउन पाउँदा हरेक आर्टिस्ट खुसी हुन्छन्। म पनि हुन्छु,’उनले भनिन्।
राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी कला प्रदर्शनीमा राखिएको ‘शिव र पार्वती’ नामको क्यानाभासको मूल्य ७५ हजार छ। एक्रोलिक कलरले बनाएको यो क्यानाभासले राष्ट्र राष्ट्रियता र झण्डाप्रतिको दृष्टिकोण उच्च बनाउने बताउँछिन् रञ्जना।

प्रदर्शनीमा चार थान मिथिला कला रञ्जनाको छ। थुप्रै कला प्रदर्शनी गरिसकेकी रञ्जनाका अनुसार सबै उमेरसमूहका कलाकारको चित्रहरु प्रदर्शनमा राखिएको छ। असार ५ गतेदेखि सुरु भएको ‘झण्डा’ कला महोत्सव’ले नेपाली राष्ट्रियता, संस्कृति र मौलिक पहिचानलाई कलाको माध्यमबाट उजागर गर्ने उद्देश्यहो। नेपाल र बेलायतका स्थापित कलाकारसहित करिब तीन सय जना विद्यालय तहका बाल कलाकारहरूको सहभागितासमेत यस प्रदर्शनीमा छ।
झण्डाले राष्ट्रिय एकता देखाउने बताइन् । राष्ट्रिय झन्डाले नेपालीलाई मेचीदेखि महाकाली र हिमालदेखि मधेससम्म एकतामा बाँधेको छ, उनले भनिन्, ‘भाषा होइन, धर्म होइन, तर झण्डाले मात्रै हामीलाई एकताको रुप दिन्छ त्यसैले झन्डाको सम्मान गरौँ, यसको महत्त्व मनन गरौँ र हरेक नेपालीले आफ्नो घरमा गर्वका साथ राष्ट्रिय झन्डा फहराउन पाउने वातावरण बनाऔँ।’
त्रिकोणात्मक आकारको नेपाली झण्डाको ऐतिहासिक, सांस्कृतिक र भावनात्मक पक्षलाई क्यानभासमा उतारेर आयोजना गरिएको यो प्रदर्शनी ‘आर्ट बुम’ को २९औँ शृङ्खला हो।
झण्डामाथि बनेको चित्रहरुको मात्रै प्रदर्शनी गर्ने सोच राख्ने आर्ट बुमका संस्थापक एवं कलाकार रत्न शाक्य हुन् । उनैको दिमागमा आएको ‘थिम’ नै ‘झण्डा’ कला महोत्सव’ सफल हुन सकेको हो । कलाकार शाक्यले नेपाली कला जगतलाई नयाँ ऐतिहासिक ‘मास्टर स्ट्रोक’दिन यो प्रयास गरिएको बताउदै आएका छन्।’झण्डानै यस्तो शक्ति हो जसले राष्ट्र राष्ट्रबासीलाई एउटा छातामा अटाउन सक्छ । नेपाली झण्डाजस्तो आकर्षण र गह्रुङ्गो परिभाषा बोकेको अन्य देशमा छैन । त्यसैले यो झण्डाका बारेमा नयाँ पुस्तालाई बुझ्न र बुझाउन आवश्यक देखेर ‘झण्डा’ कला महोत्सव’ नै राखेको हो,’ शाक्यले भने ।
उनका अनुसार नेपालको झण्डा बारे हुने विवाद र भ्रम नयाँ पुस्तामा नपरोस् । त्यस्ता भ्रम कला महोत्सवले चिर्ने उनको बुझाइ छ । ‘संसारकै भिन्न र गौरवशाली नेपाली झण्डालाई कलात्मक रूपमा समाजमा प्रस्तुत गर्नु नै यस महोत्सवको मुख्य उद्देश्य हो,’ उनी भने,’३३ जना वरिष्ठ तथा युवा कलाकार, एक ब्रिटिस चित्रकार र सयौँ विद्यार्थीको सहभागितामा आयोजित यो प्रदर्शनी हाम्रो राष्ट्रिय झन्डाप्रतिको माया, सम्मान र सिर्जनात्मक अभिव्यक्तिको साझा प्रयास हो।’
सम्भवतः राष्ट्रको झन्डालाई केन्द्रमा राखेर एउटै क्यानभासमा सिर्जना गरिएको यो संसारकै पहिलो प्रदर्शनी हुन सक्ने कलाकार शाक्यकोदाबी छ । ‘झन्डा रहे पो त हामी, झन्डा नरहे हाम्रो अस्तित्व नै रहँदैन। कलाकारले कलामार्फत राष्ट्रिय झन्डाप्रतिको माया र आफ्नो भूमिकालाई अभिव्यक्त गर्न सक्छन् भन्ने सन्देश दिन यो प्रदर्शनी आयोजना गरिएको हो’, उनले भने, ‘एउटै क्यानभासमा सिर्जना गरिएको यो संसारकै पहिलो प्रदर्शनी हुन सक्छ।’

शाक्यले ‘झन्डा कला महोत्सव’ लाई ‘झन्डा महोत्सवको दिन’ बनाइदिन सरकारसँग आग्रह गरेका छन्।
‘झण्डा कला महोत्सव’ राष्ट्रभक्ति जगाउन सक्ने र नयाँ पुस्ताले झण्डाको महत्त्व र महिमा बारे स्पष्ट हुन पाउने अवसरका रुपमा बुझेको बताए फोटोग्राफर मीनरत्न बज्रचार्यले। एक आगन्तुकका रुपमा प्रदर्शनीमा पुगेका मीनले भने, ‘झण्डा कला महोत्सवमा नयाँ देखि पुराना कलाकारहरू पनि छन् । नयाँले पुरानालाई गाइट गर्ने हो। त्यो साह्रै सकारात्मक छ।’
प्लस टुमा आर्ट पढीरहेका विद्यार्थीको पनि कला प्रदर्शनीमा राखिएको छ । त्यसैगरी महोत्सवमा कला तथा सांस्कृतिक क्षेत्रका प्राध्यापक राधेश्याम मूलमी, वरिष्ठ कला समीक्षक मुकेश मल्ल, कलाकार गेहेन्द्रमान अमात्य लगायतको कला प्रदर्शनीमा छन् ।
साथै, प्रदर्शनीमा अन्तर्राष्ट्रिय क्युरेटिङ र मार्गदर्शनमा लन्डनका वाल्ट डिज्नीका क्रिएटिभ डाइरेक्टर एवं आर्ट बुमका सल्लाहकार मार्क स्टेभिन राफ्टर तथा क्यानाडाबाट आएका प्रख्यात अन्तर्राष्ट्रिय चलचित्र निर्माता नादिन इक्बालको समेत चित्र पाइन्छ।
नेपालका ३४३ जना स्थापित तथा वरिष्ठ कलाकारहरूसहित विद्यालय तहका करिब ३०० जना नवप्रतिभाशाली जुनियर कलाकारहरूका सिर्जनाहरू समावेश गरिएका छन्। प्रदर्शनीमा कुल ४८९ वटा चित्रकलाहरू राखिएका छन्, जसले झण्डाको ऐतिहासिक, सांस्कृतिक र भावनात्मक पक्षलाई विभिन्न माध्यमबाट उजागर गरेका छन्।
भर्खरै
लोकप्रिय
