- सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापनका लागि सामग्रीहरू उपलब्ध गरायो।
- कार्यक्रम हलचोकमा सम्पन्न भएको थियो, जहाँ उच्च अधिकारीहरू र कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो।
- सहयोगले विपद् टोलीको कार्यक्षमता बढाएर जनताको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ।
असार १२ गते सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्। सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरको उपस्थिति रहेको थियो।
उक्त हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरूका साथै सन नेपाल लाइफका प्रमुख बजार अधिकृत गणेश चौलागाई र बालाजु शाखा प्रमुख मदन खतिवडा समेतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सहयोग स्वरुप प्राप्त सामग्रीहरूले विपद् उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि गर्ने र कठिन परिस्थितिमा जनताको ज्यान जोगाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। साथै, उनले सशस्त्र प्रहरीलाई यस प्रकारको महत्वपूर्ण सहयोग प्रदान गरेकोमा कम्पनीलाई धन्यवाद समेत व्यक्त गरे।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा अग्रणी भूमिकामा रहँदै आएको सुरक्षा निकाय भएको चर्चा गरे। बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै उनले विपद्पछिको उद्धारमा मात्र नभई पूर्व तयारीमा पनि सशक्त भूमिका खेल्न र आपतकालीन जोखिम व्यवस्थापनमा योगदान पुर्याउने उद्देश्यका साथ यी सामग्रीहरू उपलब्ध गराइएको स्पष्ट पारे।
हाल सन नेपाल लाइफले आफ्ना १५० वटा शाखा तथा उप-शाखा कार्यालयहरू मार्फत देशव्यापी रूपमा जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ।
शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको यस कम्पनीले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता जनपक्षीय कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।
भर्खरै
लोकप्रिय
