काठमाडौँ – आफैँभित्रको विवाद र फुटले रक्षात्मक अवस्थामा पुगेका कम्युनिष्ट पार्टीहरूले खुलमखुला एकताको प्रस्ताव गरेका छन्। आइतबार जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसर पारेर एउटै मञ्चमा उपस्थित भएका नेताहरूले फेरि पार्टी एकता जरुरी भएको बताएका हुन्।
२०७४ सालमा एमाले र तत्कालीन माओवादी केन्द्र मिल्दा झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेका थिए। एमालेले १२१ सिट र माओवादीले ५३ सिट जितेर पार्टी एकता नै गरेर नेकपा बनाएका थिए। तर आफ्नै कार्यशैली र विवादले छिन्नभिन्न बन्न पुगेका एमाले र नेपाली कम्युनिष्ट पार्टीलाई गत फागुनमा सम्पन्न चुनावमा जनताले दण्डित गरे।
एमालेले जम्मा २५ र नेकपाले १७ सिटसहित कुनै बेलाको दुई तिहाइ बहुमत प्राप्त दल अहिले साना दलका रुपमा संसद्मा उपस्थित छन्।
जनताबाट दण्डित भएका एमाले र नेकपाका नेताहरूले आइतबार खुलेरै सार्वजनिक रुपमा फेरि पार्टी एकता हुनुपर्ने प्रस्ताव अघि सारे। फागुनको चुनावअघिसम्म पानी बाराबारको अवस्थामा रहेका नेताहरू मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर फेरि अँगालो हाल्ने तम्तयार देखिएका छन्।
पार्टी विभाजनपछि तिक्त सम्बन्धमा रहेका एमाले अध्यक्ष र नेकपाका संयोजक एउटै भावभंगीमा देखिए। एक वर्षअघि विद्या भण्डारीलाई पार्टीमा निषेध गरेका ओलीले अहिले उनैलाई प्रमुख अतिथि बनाएर ‘ठोस समीक्षा’को प्रस्ताव सुन्न बाध्य भए। रास्वपा नेतृत्वको सरकारले पुराना दल र नेताहरूमाथि विभिन्न अभियोग लगाएर पक्राउ गर्ने सिलसिला सुरु गरेपछि पनि रक्षाका लागि उनीहरू फेरि एक हुन लागेको विश्लेषण भइरहेका छन्।
एमालेसँगको एकता टुटेपछि एमालेलाई विभाजन गरेर बनेको एकीकृत समाजवादीसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टीको संयोजक बनेका दाहाल अब फेरि सिंगो एमालेसँगै एकता गरेर अघि बढ्ने पक्षमा देखिए। केही दिनअघि नै फेरि क्रमभंग गर्ने उद्घोष गरिसकेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार वाम एकताका निम्ति ‘ढिलो गर्न नहुने’सम्म भन्न भ्याए।

उनले भने, ‘ढिलो नगरी राष्ट्रिय स्वाधिनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासीवादका विरुद्ध, वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ। यसलाई ढिला गर्नु गल्ती हुन्छ। आजै गरौँ।’
एमालेसँग मिल्ने दाहालको प्रस्तावको पक्षमा नेकपाका अरु दुई वरिष्ठ नेताहरूले पनि समर्थन जनाए। एमालेसँगको एकताप्रति अनिइच्छुक देखिँदै आएका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पछिल्ला दिनमा आत्मसमीक्षा गरेर अघि बढ्ने पक्षमा देखिए।
‘हामीमा के–के विकृति आए? यसको आत्मसमीक्षा गरौँ,’ सहसंयोजक नेपालले अगाडि भने, ‘जति पनि कम्युनिस्ट घटक छन्, त्यसको आत्ममन्थन गर्न सक्नुपर्छ। त्यो गर्न सक्यौँ भने मात्रै हामीले कम्युनिस्टहरूलाई एक बनाउन सक्छौँ।’
उनले मदन भण्डारीको सन्दर्भ जोड्दै मिल्न सक्ने कुरा तत्कालै मिलाएइर जानुपर्ने पक्षमा उभिए। नेपालले भने, ‘मदन भण्डारीले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन। कुरो मात्रै गरेर हुनेवाला केही छैन। हामीले अहिले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने छ।’
नेकपाकै अर्का नेता झलनाथ खनाल एकताको पक्षमा अझ मुखरर सुनिए। ‘कम्युनिस्ट क्रान्तिकारीहरू एकता बद्ध हुनैपर्छ। तर बीचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो, कहिले अरू अरू के–के पलायो पलायो। त्यो कारणले गर्दा हामी एकताबद्ध हुन सकेनौँ,’ खनालले अगाडि भने, ‘परिस्थितिले हामीलाई एउटा बाध्यताको परिस्थितिमा खडा गर्न थालेको छ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली आत्मसमीक्षाका लागि तयार भए। हत्तपत्त आफूबाट गल्ती भएको स्वीकार नगर्ने ‘दम्भी’ स्वभावका ओली आइतबार अरु नेतासँगै आफूहरूको कमी कमजोरी रहेको र त्यसका लागि आत्मसमीक्षा गर्न तयार रहेको बताए।

‘हाम्रा कमीहरू रहे। कतिपय कमीहरू रहे कमजोरीहरू रहे। हामी आत्मसमीक्षा गरौँला,’ ओलीले भने।
ओलीले अहिले आफ्नो पार्टी नमरेको जनाउँदै फेरि उठेर अग्रगमनको बाटोमा लाग्ने सुनाए। ओलीले भने, ‘हामी मरेका छैनौँ, फेरि उठ्छौँ र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौँ। धुलो टक्टक्याउँदै उठ्छौँ। अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौँ।’
एमालेकी पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति भण्डारीले आत्मसमीक्षा गरेर एक हुन आह्वान गरिन्। एकीकृत पार्टीको मुख्य नेतृत्वका रुपमा हेरिएकी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष, जनमुखी र प्रभावकारी बनाउन ठोस आत्मसमीक्षाको आवश्यकता औंल्याइन्।
एक निर्वाचनको परिणामलाई मात्र आधार बनाएर कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने जनाउँदै उनले अत्तालिएका नेता कार्यकर्तालाई ढाडस दिने कोशिस गरिन्।
‘हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ। यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ,’ भण्डारीले अगाडि भनिन्, ‘कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन।’
एकतापछि जनमत पाएर ‘भुइँमा न भाँडा’ हुन पुगेका वामपन्थी दलहरू फेरि मिल्ने कुरा जति कर्णप्रिय छन्, व्यवहारमा उत्तिकै कठिन भएको स्वयम् कार्यकर्ताहरू नै बताउँछन्।
पार्टी र जनमतलाई दुर्घटनामा पारेका पुराना नेताहरूले सामूहिक रुपमा सन्यास घोषणा गरेर नयाँ पुस्तालाई पार्टी जिम्मा लगाउनुको साटो फेरि आफैँ अघि सर्ने तयारीले नेता कार्यकर्तालाई खासै उत्साह दिन सकेको छैन।
दिनभर नेताहरुको भाषण सुनेपछि एमालेका कार्यकर्ता उत्तम वाइबा फेसकुमा प्रतिक्रिया दिन्छन्, ‘तिमिहरुलाई स्वार्थ मिल्दा वामपन्थी एकता जिन्दावाद, स्वार्थ नमिल्दा मुर्दावाद हामी जनता कार्यकर्ताहरुलाई अब चाहि मुर्गा नबनाउदा राम्रो होला ।’
भर्खरै
लोकप्रिय
