- जनकपुरधाममा मधेस प्रदेश सरकारले ल्याएको संघीयता विरोधी बजेटको कारण विपक्षी दलले बैठक अवरोध गरेपछि १० मिनेटका लागि स्थगित भयो।
- जसपा नेपालका उपेन्द्र महतोले संघीयता खारेजीको मुद्धा उठेकाले मधेस सरकारले संघीयता विरोधी बजेट संशोधन गर्नुपर्ने बताए।
- महतोले बजेटमा फरक-फरक जिल्लाका योजनाहरू जोडिएका र मन्त्रालयहरूले गलत तरिकाले स्कुल निर्माण गरिरहेको आलोचना गरे।
जनकपुरधाम – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट संघीयता विरोधी रहेको भन्दै प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भएको हो। सभामुख रामअशिष यादवले प्रतिपक्षी दलको अवरोधपछि बैठक १० मिनेटका लागि स्थगित गरेका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य उपेन्द्र महतोले अहिले एउटा दलले आफ्नो महाधिवेशनमा संघीयता खारेज गर्ने विषय उठाएको समय मधेस सरकारले संघीयता विरोधी बजेट ल्याएको भन्दै संशोधन गर्न माग गरे। महतोले यो बजेट संशोधन नगरेसम्म बैठक अवरोध गर्ने बताए।
सभामुख यादवले यो बजेट शत्र रहेकाले छलफलमा भाग लिन आग्रह गरेकोमा महतोले बजेट संशोधन नभएसम्म अवरोध गर्ने भन्दै भने, ‘यसलाई संशोधन नगरेसम्म हामी विपक्षमै रहन्छौँ। यसलाई यसरी नै सत्तापक्षले पास गर्नुपर्छ।’
महतोले नीति तथा कार्यक्रममा एक करोडभन्दा कमको योजना नराख्ने भनेकोमा अहिलेको बजेटमा पाँच लाखको पनि योजना रहेको बताए। उनले भने, ‘पहिला नै भन्नुपथ्र्यो यो विपक्षीमा मात्र लागु हुन्छ। १ करोडको भनेर जनतालाई ठग्ने काम भएको छ। फरक फरक प्रकृतिको योजनालाई जोडिएको छ।’
महतोले यो बजेट कर्यान्वयनमा समस्या हुने बताए। ‘एउटै जिल्लाको फरक फरक वडाको योजना जोडेर एउटा बनाउँदा ठिक्कै छ, यहाँ फरक फरक जिल्लाको योजना जोडिएको छ। सबै मन्त्रालयले स्कुल नै बनाइरहेको छ। कुन मन्त्रालयको कुन काम छ, त्यो पनि गलत तरिकाले आएको छ।’
प्रदेशसभा सदस्य महतोले सबै बजेट कार्यालयको ठाउँमा मन्त्रालयमा रहेको भन्दै भने, ‘जब जिल्ला जिल्लामा प्रदेश मातहतको कार्यालयहरु छ भने मन्त्रालयमा किन सबै बजेट राखिएको छ ? यो बजेट विशुद्ध रुपले मन्त्रिमुखी छ, त्यसले बँचेपछि सत्तापक्षको सांसदमुखी, कार्यकर्ता मुखि छ।’
भर्खरै
लोकप्रिय
