अ
+
अ
अ
-
आफ्नो समुदायको कथा, आफ्ना पूर्वजहरूका कथाव्यथा, राज्यले गरेका दमन र किनारीकरणका कथा लेखिनुपर्छ र तिनीहरू मूलधारमा ल्याइनुपर्छ भन्दै पछिल्ला समय थुप्रै कृतिहरू लेखिएका छन्। आवाजहरू बुलन्द हुँदै छन्। अहिले त्यही सिर्जनशील अराजकता आन्दोलनका अभियन्ता कवि हाङयुग अज्ञातको कविताकृति ‘हाङयुग अज्ञातका कविताहरू’ बजारमा आएको छ।
यो कविता कृतिमा हाङयुग अज्ञातका सिग्नेचर कविताहरू समावेश गरिएका छन्। सिग्नेचर यस मानेमा कि हरेक कविताहरू पढ्दै जाँदा स्पष्ट महसुस हुन्छ कि यो कविता हाङयुग अज्ञातका नै हुन्। विभिन्न समयमा उनले लेखेका पहिचानका मुद्दा र अन्य विषयहरू समेटिएको यो कविता सङ्ग्रह पहिचानको आवाज मुखरित गर्ने कृतिको रूपमा हेर्न सकिन्छ।
कवितामा लोक संस्कृतिका बिम्ब, प्रतीक र अलङ्कारहरूको स्वतःस्फूर्त प्रयोग गरिएको छ। कुनै पनि बिम्बहरू कवितालाई जटिल बनाउन वा दुर्बोध्य बनाउने हिसाबले प्रस्तुत भएका छैनन्। पढ्दै जाँदा त्यसले पाठकलाई काव्यिक रसस्वादनसहित त्यसको केन्द्रीय भावधारामा डुबाइदिन्छ। पाठकहरू थाहै नपाई काव्यिक सरोवरमा तैरिए जस्तो लागे पनि अज्ञात आफ्नो विचारलाई कवितामा कुनै न कुनै कोणबाट प्रस्तुत गरिछाड्छन्।
सांसारिक जीवनका सुसेधन्धाबाट मुक्त भइसकेका हाङयुग अज्ञात कवितामा दर्शन लेख्छन्। दर्शनमा विद्रोही चेत। यही विद्रोही चेतनाको कवितामा उदात्त प्रकटीकरण गर्दै उनी शालिन रूपमा काव्यिक प्रश्न गर्छन्– आफूलाई, समाजलाई, शाषकलाई र समयलाई।
कति पिउनु हलाहल?
कति गिँड्नु दक्षप्रजापतिको टाउको?
कति हिँड्नु तमोरको किनारै किनार?
हरेक युगमा हामीले नै औँला चढाउनु पर्ने?
हरेक युगमा हामीले नै पाताल भासिनु पर्ने?
(पृ. ८८, आऊ सामूहिक आत्महत्या गरौँ )
अक्षरको बुट्टा भरेर न्युरोनमा
फाउस्ट राखेर टेबलमाथि अक्षरहरू
प्रत्येक वर्तमान थिचेर बुद्धिको वजनले
विभेदको काँचो कागतको काँचै वायु
म आवाजको फेदाङ्गबा हूँ आङमा देवता चडेको
म आह्वान गर्दछु फेरि पनि थप बुद्धिलाई
कि काँसको लुम्बाजस्तो काठमाडौँ केन्द्र
रुमल्ली बसेको अभिशप्त वर्तमानको अहम् विरुद्ध
फेरि पनि हामीले विद्रोहमा लाम लाग्नुपर्छ।
पृ. १२७, मूर्ख सम्राटका जुनाफमा)
सदियौँदेखि केन्द्रले सीमित जाति भाषा र संस्कृतिलाई सत्ताको आडमा प्रश्रय दिँदै अरूलाई किनारीकृत गरिरह्यो। केन्द्रसम्म पहुँच पुर्याउन नसकेर कति सांस्कृतिक फूलहरू ओइलिगए। राज्यले त्यसलाई सिञ्चित गर्दै जोगाएर ल्याउनुपर्ने आफ्नो उत्तरदायित्वलाई बिर्सिदियो। बरू राज्यशक्तिको दुरूपयोग गर्दै त्यसलाई निमिट्यान्न पार्ने प्रपञ्च पो गरिरह्यो। यही राज्यका नश्लीय विभेद र विभेदयुक्त चेतनाका विरूद्धमा कवि हाङयुग अज्ञात काव्यिक विद्रोह गर्दछन्।
कसैको अविच्छिन्न शासन सत्ता टिकाइराख्न बलीवेदीमा कहिलेसम्म आम मानिसलाई चढाइरहनुपर्ने हो? यो हरेक समयको जाज्वल्यमान प्रश्न हो। शक्तिमा पहुँच भएकाहरूका लागि यो सिङ्गो देश कतिसम्म अघोषित बिर्ता बनेर रहने हो? प्रश्न कहिले सकिन्छ? प्रश्न तब सकिन्छ जब राज्यशक्ति र स्रोत देशका आदिवासी, जनजाति र सीमान्तकृतहरूका पक्षमा बराबर उपयोग हुन पुग्छ। तर कहिले?
यो प्रश्नको हरदम उत्तर खोजिरहनुपर्ने छ किनारीकृतहरूले। र, उनीहरूले बुझ्नुपर्नेछ मागेर वर्तमानमा कसैले केही दिँदैन। अधिकारका लागि आवाज बुलन्द पार्नुपर्छ। विद्रोह गर्नुपर्छ। अथवा भनौँ खोसेर लिनुपर्छ। उनका कवितामा यही चेतना बारम्बार अभिव्यक्त भएको देखिन्छ।
ओ, मेरो अभागी बुबा
तिमीले स्कुलमा नानीहरूलाई के पढायौ?
नेपालको इतिहास भनेर वंशावली पढायौ?
कि पढायौ माक्र्स, लेनिन, स्टालिन र माओलाई?
हो, तर मलाई थाहा छ बुवा
शाषकहरूले जुन पुस्तक पढाउनु भनेर दिएका थिए
शतप्रतिशत तिमीले त्यही पुस्तक पढायौ।
(पृ. २०५, रातो कविताको लास)
समुन्द्रमन्थनमा
देवता र राक्षस दुवैको उत्तिकै परिश्रम थियो
तर किन देवतालाई मात्रै अमृत बाँढियो?
किन विभेदको विरुवा रोपियो?
(पृ. २१६, कवि रावणको आत्मस्वर)
हामीले सुनिआएको र पढिआएकै हो, आरम्भमा त शाषकहरूले आफ्ना सन्तानहरूलाई मात्रै पढ्ने अवसर प्रदान गरे। त्यसपछि शासकका आसेपासे र उनीहरूका कारिन्दाका सन्तानहरूले मात्रै पढ्ने अवसर पाए। पढाइँदा र पढ्दा जहिल्यै शासकहरूका स्तुतिगान पढ्नुपर्ने बनाइयो। किताबहरू त्यसैगरी लेखिए। पाठ्यक्रमको डिजाइन त्यसैगरी गरियो। उनीहरूकै पक्षमा लेखिएको इतिहासलाई वास्तविक बनाइयो। एक किसिमको मनोमानी चलिरह्यो। चलिरह्यो।
हामीले पढिआएकै हो, महाकाव्यको नायक धिरोदात्त हुनुपर्छ। लोकप्रसिद्ध राजा हुनुपर्छ। काव्यमा उनीहरूकै कथा चित्रण गरिनुपर्छ। यस्तो भाष्य कसले बनायो? वर्षौँवर्ष यही विचारलाई विश्वविद्यालयमा किन पढाइयो? यसैका आधारमा मूल्याङ्कन किन गरियो र गराइयो?
के गरिबका अथा सुन्न लायक छैनन्? के आदिवासी जनजातिका कथा लेखिन लायकका छैनन्? के सिमित सभ्रान्तका कथाहरूले नेपाली साहित्यको भण्डार भरिरहनुपर्ने हो?
यो किसिमको गलत डिस्कोर्सको निर्माण कसले गर्यो? हामीले त्यतातिर ध्यानै दिएनौँ। फगत् त्यसलाई पछ्याइरह्यौँ। यसको विनिर्माण हुनु जरुरी छ। इतिहासको पुर्नलेखन हुनु जरुरी छ। पुराना डिस्कोर्सहरूको म्याद गुर्जिसक्यो। तिनीहरू फेरिनुपर्छ र र समयसापेक्ष डिस्कोर्स बनिनुपर्छ भन्ने विचार हाङयुग अज्ञातका कवितामा केन्द्रीय कथ्य बनेर आएका देखिन्छन्।
जुँगे ड्राइभरको ठूलो ट्रकजस्तो
वर्षौँदेखि ओरालोमा
अडिएर बाँचेको
थेबे चोकको मृत्यु तब भयो
जब सत्ताधारीले टाँसिदियो
‘श्रीकृष्ण चोक’को साइनबोर्ड।
(पृ. २४६, थेबे चोकको मृत्यु)
राज्यले शक्तिको आडमा कसैको पहिचानलाई कसरी विनष्ट गर्छ भन्ने तरोताजा दृष्टान्तहरू वर्तमानमा यत्रतत्र सर्वत्र भेटिन्छन्। पहिचान केवल एक शब्द मात्र होइन। न केवल एक परिभाषा। यो त जीवनका सूक्ष्मदेखि विशाल विषयहरूमा समिश्रण भएर प्रस्तुत हुनसक्छ। पहिचान कुनै व्यक्ति, समुदाय, समाजको परिचय हो। यो अभौतिक रूपमा रहेको सबैभन्दा ठूलो सम्पत्ति हो, जसले व्यक्ति र समुदायलाई निरन्तर आफू हुनुको गौरवबोध प्रदान गर्दछ। त्यसैले यो एक किसिमको जीवन जिउने कला हो। यसलाई मासेर अमूक पहिचानलाई राज्यले कसरी जर्बजस्ती स्थापित गरिरहेछ भन्ने जीवन्त विषयहरू हाङयुग अज्ञातका कवितामा प्रस्तुत भएको देखिन्छ।
चेतनाको फराकिलो आयामलाई कविताको सुन्दर क्यानभासमा सजाउने कवि हाङयुग अज्ञातका कविता चित्रात्मक अभिव्यक्ति जस्तो प्रतीत हुन्छ। वैचारिक र काव्यिक रूपमा सशक्त उनका कविता कुनै दार्शनिकको मनमोहक प्रवचन जस्तो पनि लाग्छ। सबाल्टर्नहरूका पक्षमा बलियो सम्बल बनेर आएका उनका कविताहरू पहिचान र प्रगतिशीलताका उच्च सोपान हुन् भन्नेमा कुनै दुई मत छैन।
भर्खरै
लोकप्रिय
