दाङ– लुम्बिनी प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरूले बहिष्कार गरेका छन्।
बहिष्कारपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ। आइतबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक इन्द्रजित थारुले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाए।
उनले बजेट विभेदपूर्ण रहेको, विपक्षी दलका सुझावलाई बेवास्ता गरिएको र जनताको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाउँदै बैठक बहिष्कार गर्ने जानकारी गराए।
थारुको धारणापछि प्रमुख प्रतिपक्ष तथा अन्य प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए। त्यसलगत्तै सभामुख तुलाराम घर्तीमगरले सदनमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे।
आजको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको थियो।
भर्खरै
लोकप्रिय
