- नेपाली कांग्रेसले एमालेसँगको सत्ता गठबन्धन सातै प्रदेशमा तोड्ने आन्तरिक तयारी गरिरहेको छ।
- कर्णाली र सुदूरपश्चिममा विवाद उत्पन्न भएसँगै दुई प्रदेशमा मन्त्रिपरिषदमा महत्वपूर्ण फेरबदल गरियो।
- कांग्रेस पार्टीले एमालेको सत्तासाझेदारी हटाएर नेकपासँग नयाँ सत्ता गठबन्धन गर्ने प्रयास गरिरहेको छ।
काठमाडौँ– नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता गठबन्धन सातै प्रदेशमा तोड्ने तयारी गरेको छ।
कर्णाली र सुदूरपश्चिममा देखिएको मदभेदलाई लिएर कांग्रेसले एमालेसँगको सातै प्रदेशको सत्ता गठबन्धन तोड्ने तयारी गरेको हो। कांग्रेसका एक शिर्ष नेताकाअनुसार औपचारिकरुपमा निर्णय नभए पनि पदाधिकारी तहमा एमालेसँग सत्ता गठबन्धन तोड्ने छलफल भइसकेको छ।
बुधबार बिहान मात्र एमाले नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारका कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका थिए। कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिममा भने एमालेका मन्त्रीलाई बर्खास्त गरिएको थियो।
मुख्यमन्त्री कमलबहादुर शाहले चार मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी कांग्रेस नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
दुई प्रदेशमा देखिएको विवादले सातै प्रदेशमा कांग्रेस-एमालेको सत्ता गठबन्धन धर्मराएको छ। एमाले सत्ता गठबन्धनको मर्मअनुसार नचलेकाले सत्ता गठबन्धन तोड्ने अवस्थामा पुगेको कांग्रेस ती नेताले देशसञ्चारलाई बताए। ‘एमालले गठबन्धनको मर्मअनुसार अगाडि बढ्न खोजेन। दुई प्रदेशमा किचलो बाहिरै देखिसक्यो। अन्य प्रदेशमा पनि अब गठबन्धन तोड्ने तयारी छ’, उनले भने।
एमालेसँगको गठबन्धन तोडेर कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग गठबन्धन गर्ने तयारी गरेको पनि उनले बताए। सत्ता गठबन्धनका लागि कांग्रेस र नेकपाबीच कुरासमेत भइरहेको छ।
एमाले नेतृत्वमा रहेको लुम्बिनी प्रदेशमासमेत सत्ता गठबन्धनमा गडबड सुरु भइसकेको छ। बजेटका लागि विषयलाई लिएर यहाँ विवाद सृजना भएको थियो।
भर्खरै
लोकप्रिय
