बसाइँसराइको चपेटामा लमजुङका गाउँ: विकास पुग्यो, मानिस पुगेनन्

बसाइँसराइको चपेटामा लमजुङका गाउँ: विकास पुग्यो, मानिस पुगेनन्
+
-
देशसञ्चार AI सारांश
  • लमजुङका गाउँहरूमा युवाहरूको बसाइँसराइले सामाजिक संस्कृति र परम्परागत सीपमा गहिरो प्रभाव पारेको छ।
  • कृषि र पर्यटनलाई प्राथमिकता दिँदै गाउँमा आयआर्जन बढाउन स्थानीय सरकारले विभिन्न प्रयासहरू अघि बढाएका छन्।
  • गाउँका खाली घर र बाँझो जमिनलाई पुनर्जीवित गर्न कृषि आधुनिकीकरण र रोजगारी अवसर सिर्जना गर्नु मुख्य आवश्यकता हो।

लमजुङ- लमजुङका धेरै ग्रामीण बस्तीहरू अहिले सुनसान बन्दै गएका छन् । पुराना घरहरूमा लागेका ताल्चा, आँगनमा उम्रिएका झार, भत्किँदै गरेका घर र बाँझो जमिन नै अहिले यहाँका गाउँहरूको पहिचान जस्तै बनेको छ ।

केही वर्षअघिसम्म निकै चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन जस्तै देखिन्छन् । गाउँमा सडक, बिजुली, खानेपानी र सञ्चार जस्ता आधारभूत सुविधाहरू पुगे पनि रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको खोजीमा मानिसहरू सहर तथा विदेश जान थालेपछि गाउँहरू खाली हुँदै गएका हुन् ।

यो बढ्दो बसाइँसराइको असर घर र जमिनमा मात्र सीमित छैन; यसले सामाजिक सम्बन्ध, स्थानीय संस्कृति, अर्थतन्त्र र परम्परागत सीपमा समेत गहिरो प्रभाव पारेको छ ।

उदाहरणका लागि, दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङको पुरानो नेवार बस्ती रत्तिँदै (पातलिँदै) गएको छ । केही दशकअघिसम्म बाक्लो बस्ती रहेको यो ठाउँमा अहिले धेरै घरहरू खाली र जीर्ण अवस्थामा छन् ।

स्थानीय ८५ वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार पहिले गाउँमा बिहानदेखि बेलुकासम्म मेलापात, चाडपर्व र सामाजिक काममा सबैको उत्साहजनक सहभागिता हुन्थ्यो, तर अहिले मानिसहरू घटेपछि पहिलेको जस्तो रमाइलो र सहयोगी वातावरण हराएको छ ।

यस्तै अवस्था राइनास नगरपालिका–८ हराबोटको सिक्रा गाउँ र सुन्दरबजार नगरपालिका–६ को पुरानो दिही गाउँको पनि छ । पहिले सुविधा नहुँदा पनि मानिसहरूले भरिभराउ हुने यी गाउँहरूमा अहिले विकास पुगे पनि बस्ने मानिस घटेका छन् ।

दिही गाउँका स्थानीय मदन रेग्मीका अनुसार कुनै समय ५० घरधुरी रहेको यो गाउँ अहिले निकै पातलिएको छ । मानिसको सङ्ख्या घट्दा खेतीपाती, स्थानीय संस्कृति र सामाजिक गतिविधिहरू ठप्प प्रायः हुन थालेका छन् ।

युवा पुस्ता बाहिरिँदा सबैभन्दा ठूलो धक्का कृषि क्षेत्रलाई लागेको छ । कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाका अनुसार जिल्लामा ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिनमध्ये ४५ हजार ७५७ हेक्टरमा मात्र खेती भइरहेको छ भने १६ हजार ६२ हेक्टर जमिन बाँझो छ ।

युवाहरू नहुँदा कृषि श्रमिकको चरम अभाव भएको छ, जसले गर्दा उत्पादन त घटेको छ नै, पुस्तौँदेखि चलिआएका खेतीपातीका सीप, रैथाने बाली र स्थानीय ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन कठिन भएको छ ।

जिल्ला समन्वय समिति लमजुङकी उपप्रमुख बुनाकुमारी रिमाल गाउँ खाली हुनुलाई सामाजिक, सांस्कृतिक र आर्थिक चुनौती मान्छिन् ।

युवा पुस्ता गाउँमा नलगाउँदा हाम्रो भाषा, संस्कार, संस्कृति र परम्परागत ज्ञान लोप हुने खतरा बढेको उनको बुझाइ छ । राष्ट्रिय जनगणना २०७८ ले पनि देशभर आन्तरिक बसाइँसराइको प्रवृत्ति बढ्दै गएको देखाएको छ, जसको प्रत्यक्ष प्रभाव लमजुङका ग्रामीण क्षेत्रमा प्रष्ट देखिन्छ ।

यसैबीच, स्थानीय सरकारले गाउँमा मानिसहरूलाई टिकाइराख्न विभिन्न प्रयासहरू सुरु गरेका छन् । दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर गुरुङका अनुसार गाउँमै आयआर्जनको आधार बलियो बनाउन कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले घरबास (होमस्टे) सञ्चालन, कृषि प्रवद्र्धन र कफी तथा खुर्सानी जस्ता स्थानीय उत्पादनलाई बजारसँग जोडेर किसानको आम्दानी बढाउने काम गरिरहेको छ ।

साथै, यस क्षेत्रमा रहेका इलामपोखरी, दूधपोखरी, मेमेपोखरी र बारापोखरीलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ ।

गाउँ रित्तिँदै जानु केवल खाली घरहरूको कथा मात्र होइन, यो देशकै एउटा गम्भीर समस्या हो ।

खाली घरहरूमा फेरि धुवाँ उडाउने, बाँझो जमिनमा हरियाली फर्काउने र गाउँको मौलिकता जोगाउने हो भने कृषि आधुनिकीकरण, पर्यटन विकास र स्थानीयस्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्नु अबको मुख्य चुनौती र आवश्यकता बनेको छ । अन्यथा, हाम्रा गाउँहरू भविष्यमा एकादेशको कथा मात्र बन्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…