- लमजुङका गाउँहरूमा युवाहरूको बसाइँसराइले सामाजिक संस्कृति र परम्परागत सीपमा गहिरो प्रभाव पारेको छ।
- कृषि र पर्यटनलाई प्राथमिकता दिँदै गाउँमा आयआर्जन बढाउन स्थानीय सरकारले विभिन्न प्रयासहरू अघि बढाएका छन्।
- गाउँका खाली घर र बाँझो जमिनलाई पुनर्जीवित गर्न कृषि आधुनिकीकरण र रोजगारी अवसर सिर्जना गर्नु मुख्य आवश्यकता हो।
लमजुङ- लमजुङका धेरै ग्रामीण बस्तीहरू अहिले सुनसान बन्दै गएका छन् । पुराना घरहरूमा लागेका ताल्चा, आँगनमा उम्रिएका झार, भत्किँदै गरेका घर र बाँझो जमिन नै अहिले यहाँका गाउँहरूको पहिचान जस्तै बनेको छ ।
केही वर्षअघिसम्म निकै चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन जस्तै देखिन्छन् । गाउँमा सडक, बिजुली, खानेपानी र सञ्चार जस्ता आधारभूत सुविधाहरू पुगे पनि रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको खोजीमा मानिसहरू सहर तथा विदेश जान थालेपछि गाउँहरू खाली हुँदै गएका हुन् ।
यो बढ्दो बसाइँसराइको असर घर र जमिनमा मात्र सीमित छैन; यसले सामाजिक सम्बन्ध, स्थानीय संस्कृति, अर्थतन्त्र र परम्परागत सीपमा समेत गहिरो प्रभाव पारेको छ ।
उदाहरणका लागि, दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङको पुरानो नेवार बस्ती रत्तिँदै (पातलिँदै) गएको छ । केही दशकअघिसम्म बाक्लो बस्ती रहेको यो ठाउँमा अहिले धेरै घरहरू खाली र जीर्ण अवस्थामा छन् ।
स्थानीय ८५ वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार पहिले गाउँमा बिहानदेखि बेलुकासम्म मेलापात, चाडपर्व र सामाजिक काममा सबैको उत्साहजनक सहभागिता हुन्थ्यो, तर अहिले मानिसहरू घटेपछि पहिलेको जस्तो रमाइलो र सहयोगी वातावरण हराएको छ ।
यस्तै अवस्था राइनास नगरपालिका–८ हराबोटको सिक्रा गाउँ र सुन्दरबजार नगरपालिका–६ को पुरानो दिही गाउँको पनि छ । पहिले सुविधा नहुँदा पनि मानिसहरूले भरिभराउ हुने यी गाउँहरूमा अहिले विकास पुगे पनि बस्ने मानिस घटेका छन् ।
दिही गाउँका स्थानीय मदन रेग्मीका अनुसार कुनै समय ५० घरधुरी रहेको यो गाउँ अहिले निकै पातलिएको छ । मानिसको सङ्ख्या घट्दा खेतीपाती, स्थानीय संस्कृति र सामाजिक गतिविधिहरू ठप्प प्रायः हुन थालेका छन् ।
युवा पुस्ता बाहिरिँदा सबैभन्दा ठूलो धक्का कृषि क्षेत्रलाई लागेको छ । कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाका अनुसार जिल्लामा ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिनमध्ये ४५ हजार ७५७ हेक्टरमा मात्र खेती भइरहेको छ भने १६ हजार ६२ हेक्टर जमिन बाँझो छ ।
युवाहरू नहुँदा कृषि श्रमिकको चरम अभाव भएको छ, जसले गर्दा उत्पादन त घटेको छ नै, पुस्तौँदेखि चलिआएका खेतीपातीका सीप, रैथाने बाली र स्थानीय ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन कठिन भएको छ ।
जिल्ला समन्वय समिति लमजुङकी उपप्रमुख बुनाकुमारी रिमाल गाउँ खाली हुनुलाई सामाजिक, सांस्कृतिक र आर्थिक चुनौती मान्छिन् ।
युवा पुस्ता गाउँमा नलगाउँदा हाम्रो भाषा, संस्कार, संस्कृति र परम्परागत ज्ञान लोप हुने खतरा बढेको उनको बुझाइ छ । राष्ट्रिय जनगणना २०७८ ले पनि देशभर आन्तरिक बसाइँसराइको प्रवृत्ति बढ्दै गएको देखाएको छ, जसको प्रत्यक्ष प्रभाव लमजुङका ग्रामीण क्षेत्रमा प्रष्ट देखिन्छ ।
यसैबीच, स्थानीय सरकारले गाउँमा मानिसहरूलाई टिकाइराख्न विभिन्न प्रयासहरू सुरु गरेका छन् । दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर गुरुङका अनुसार गाउँमै आयआर्जनको आधार बलियो बनाउन कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।
गाउँपालिकाले घरबास (होमस्टे) सञ्चालन, कृषि प्रवद्र्धन र कफी तथा खुर्सानी जस्ता स्थानीय उत्पादनलाई बजारसँग जोडेर किसानको आम्दानी बढाउने काम गरिरहेको छ ।
साथै, यस क्षेत्रमा रहेका इलामपोखरी, दूधपोखरी, मेमेपोखरी र बारापोखरीलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ ।
गाउँ रित्तिँदै जानु केवल खाली घरहरूको कथा मात्र होइन, यो देशकै एउटा गम्भीर समस्या हो ।
खाली घरहरूमा फेरि धुवाँ उडाउने, बाँझो जमिनमा हरियाली फर्काउने र गाउँको मौलिकता जोगाउने हो भने कृषि आधुनिकीकरण, पर्यटन विकास र स्थानीयस्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्नु अबको मुख्य चुनौती र आवश्यकता बनेको छ । अन्यथा, हाम्रा गाउँहरू भविष्यमा एकादेशको कथा मात्र बन्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
भर्खरै
लोकप्रिय
